अस्ट्रेलियामा नेपाली भाषी समुदायको जनसङ्ख्या पछिल्ला केही वर्षमा बढिरहेको समयमा, विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमहरू समय समयमा आयोजना भइरहेका हुन्छन्।
भिक्टोरियाको बेन्डिगोस्थित ब्रिष्टी गणेश मन्दिरमा पहिलो सामूहिक व्रतबन्ध कार्यक्रम सम्पन्न भएको छ।
राज्यको उक्त पहिलो नेपाली हिन्दु मन्दिरमा, शनिवार ११ फेब्रुअरीमा विधिपूर्वक तरिकामा व्रतबन्ध भएको हो।

मन्दिरको स्थापना भएदेखि नै यस किसिममा सामूहिक कार्यक्रमहरू गर्ने योजना रहेको आयोजक पियुष कायस्थले एसबीएस नेपालीलाई बताए।
"सबैजसो नेपाली परिवारहरूमा सेकेन्ड जेनेरनको छोराछोरीहरूको व्रतबन्ध गर्ने, गुफा राख्ने, बेल बिवाह गर्ने, कुराहरू हुन्थ्यो। धेरैजसो साथीहरू नेपाल गएर व्रतबन्ध गराएर ल्याउने देखिरहेका हुन्थ्यौँ," कायस्थले भने।
"हामीले चाहिँ मन्दिरमा यसरी सामूहिक गर्यौँ भने देखि प्रोग्राम पनि भइरहन्छ, समुदाय पनि सक्रिय हुन्छन् भनेर कार्यक्रम सुरु गरेका हौँ।"

ब्रिष्टि गणेश मन्दिरको स्थापना सन् २०२१ सालमा भएको थियो। नेपालबाट अस्ट्रेलिया सरेका दम्पती उमेशलाल श्रेष्ठ र जेस्मिन श्रेष्ठले आफ्नी दिवङ्गत छोरीको सम्झनामा सो गणेश थान निर्माण गरेका हुन्।
सन् २०१८ मा श्रेष्ठ दम्पतीले आफ्नी कान्छी छोरी वृष्टि श्रेष्ठलाई ब्रेन क्यान्सरका कारण अल्पायुमै गुमाउन पुगेका थिए।
उनी लगायत ब्रेन क्यान्सरका कारण ज्याम गुमाएका अन्य बालबालिका प्रति समर्पित यो मन्दिर एकता र साम्प्रदायिक सद्भावको थलो बन्न पुगेको छ।
आयोजक कायस्थ भन्छन् कि पहिलो पटक सामूहिक व्रतबन्ध गरेको हुनाले दुई वटा कुराको डर थियो - एउटा, कोही न आउलान् भन्ने डर, र अर्को, धेरै जना आए भने व्यवस्थापन गर्न गाह्रो होला भन्ने डर।
अन्ततः आठ देखि २४ वर्षका बटुक र तिनका परिवारको उपस्थितिमा कार्यक्रम सोचेको जस्तै रूपमा सम्पन्न भएको पण्डित शङ्कर प्रसाद गौतमले बताए।
आयोजकका लागि जस्तै, उनको लागि पनि यो पहिलो सामूहिक व्रतबन्ध थियो।
"म त्यो कार्यक्रम सम्पन्न गर्न पाउँदा निकै भाग्यमानी सम्झन्छु," पण्डित शर्माले बताए।
"कार्यक्रम एकदम भव्य रूपमा, कुनै पनि सामाग्री नछुटाइकन, र पुरै परम्परागत तरिकाले कार्यक्रम सम्पन्न गर्यौँ।"

मेलबर्न निवासी सुष्मा मानन्धर आफ्नो १५ वर्षीय छोरा रायन बिदुर सिंहको व्रतबन्धको लागि परिवार सहित, दुई घण्टा लामो ड्राइभमा ब्रिष्टि गणेश मन्दिर पुगेकी थिइन्।
उनी भन्छिन् कि विदेशमा यसरी अरू परिवारहरूसँग सामूहिक रूपमा गर्न पाउँदा बालबालिकाले पनि आफू नेपाली समुदायको भाग भएको महसुस गर्न पाउँछन्।
"रायन यहिँ जन्म्यो। नेपालमा भएको भए उसले पनि धेरैवटा ब्रतबन्ध देख्न पाउँथ्यो, तर यहाँ त्यस्ता कार्यक्रम धेरै हुँदैन," मानन्धरले बताइन्।

"यसरी सामूहिकमा गर्दाखेरी बच्चाहरूलाई पनि एक्लो महसुस नहुने, सबैले गरेको देख्दा रमाइलो लाग्ने, अनि यो हाम्रो संस्कृति हो भनेर उनीहरू पनि बुझ्छन्।"
सबै नेपाली नै नेपाली अनि एक हिसाबमा नेपालमै गरेको जस्तो महसुस भयो। त्यहाँ आठ वटा परिवारलाई भेट्यौँ - कहिले नभेटेको भएतापनि पहिलैदेखि चिनेको जस्तो लाग्यो।सुष्मा मानन्धर
मानन्धरका छोरा रायन भन्छन् कि, यस कार्यक्रमले उनलाई नेपाली संस्कृतिलाई नजिकबाट बुझ्ने मौका दियो।
"यो मेरो लागि महत्त्वपूर्ण थियो किनभने अब म पनि ठूलो हुँदै छु - सानो बच्चा होइन, भने मलाई थाहा भयो," सिंहले भने।

केही अभिभावक भने यस व्रतबन्धकै लागि भनेर मात्र नेपालबाट आएका थिए।
आफ्नो आठ वर्षीय नातिको व्रतबन्ध नछुटाउने भनी त्रियासी वर्षीय विश्वमान श्रेष्ठ र उनकी श्रीमती मोतिशोभा श्रेष्ठ नेपालबाट गत डिसेम्बर महिनाको अन्त्य तिर अस्ट्रेलिया आएका थिए।
देशबाट टाढा पनि विधिपूर्वक रूपमा कार्यक्रम सम्पन्न भएकोमा आफूहरू निकै खुसी भएको मोतिशोभा श्रेष्ठले बताइन्।
नेपालबाट यति टाढा आएर पनि नेपाली स्टाइलमा ब्रतबन्धको काम सम्पन्न भएको, त्यो पनि गणेश मन्दिरमा स्तुपाको पछाडी - कति खुसी लाग्यो भन्ने कुरा भनेर साद्य छैन।मोतिशोभा श्रेष्ठ
सामूहिक रूपमा ब्रतबन्ध गर्दा व्यवस्थापन गर्न सबैको मद्दत हुने, र खर्च पनि धेरै बच्ने उनी बताउँछिन्।

कार्यक्रममा आएकी अङ्किता उप्रेतीको लागि भने अस्ट्रेलियामा आफ्नो छोराको ब्रतबन्ध गर्नु एक अचानक बनेको योजना थियो।
उनी क्यानडाबाट अस्ट्रेलियामा केही समयको लागि वर्किङ्ग भिसामा आएकी हुन्।
मेलबर्नमा बस्ने आफ्ना भाइ अरुणले यस सामूहिक ब्रतबन्धको बारेमा थाहा पाएको मौका छोपेर, आफ्नो दस वर्षीय छोराको वर्तमान गरेको उनले हामीसँगको कुराकानीमा बताएकी छिन्।
"यो योजनामा कदापि थिएन। अरूणले यसको बारेमा थाहा पायो - अनि मामा भएको ठाउँमा गर्ने हो नि त ब्रतबन्ध - आयोजकहरूले सबैथोकको व्यवस्था मिलाउनु भएको थियो, अनि मैले नाइ भन्ने त कुरै भएन," उनले बताइन्।

उप्रेतीका छोरा साभियो आचार्यले भने, "मम् ले भन्नु भएको - ब्रतबन्ध भनेको "सर्टिफिकेट टु गेट म्यारिड हो"।
"मलाई मेरो अङ्कल आन्टीले सुनको ब्रेस्लेट पनि दिनु भयो, अनि मैले दुई सय डलर पनि पाएँ," आचार्यले बताए।
यसरी पहिलो पटक सामूहिक व्रतबन्ध आयोजना गर्दा केही चुनौतीहरू पनि आएको आयोजक कायस्थ बताउँछन्।
"बेन्डिगो सबैको लागि अलि टाढा ठाउँ भयो। त्यो दिनको तापक्रम पनि तीन बजे ३६ डिग्री हुन्थ्यो, त्यसैले कार्यक्रम दुई बजे सकाउनु पर्ने थियो," उनले बताए।
"अनि, हामीलाई ब्रतबन्धको विधि थाहा छैन, कति बच्चाहरूले नेपाली नबुझ्ने, अनि उनीहरूलाई अनुवाद गरिदिनु पर्ने - त्यस किसिमका साना चुनौतीहरू थिए।"

नेपालबाट आफ्नो नातिको व्रतबन्धको लागि बेन्डिगो पुगेका विश्वमान श्रेष्ठ भन्छन् कि विदेशमा यस किसिमको सांस्कृतिक कार्यक्रम गर्नाले नेपाली संस्कृति र समुदायलाई एकीकृत बनाउन मद्दत गर्दछ।
"यस्तो कार्यक्रम गर्नु नेपालीहरूको लागि एउटा सुरुवात मात्र हो," उनले बताए।
यस्तै अरू कार्यक्रमहरू अरू पनि गरेर नेपालीहरूलाई संयुक्त रूपमा आपसमा भेटघाट गर्ने, आफ्नो संस्कृतिलाई बचावा दिने, नयाँ पुस्तालाई यस्तो किसिमको जानकारी दिने किसिमको काम गर्नुले नेपालीहरूलाई गौरवाङ्गित गराउँछ र बच्चाहरूलाई नयाँ संस्कार दिन्छ।विश्वमान श्रेष्ठ
यस सामूहिक व्रतबन्ध सँगै भावी दिनमा ब्रिष्टि गणेश मन्दिरमा अन्य कार्यक्रमहरू पनि गर्ने आयोजक पियुष कायस्थले जानकारी दिएका छन्।




