गत मङ्गलवार अस्ट्रेलियामा रहेका नेपालीहरू सिड्नीको सर्कुलर-कीमा भेला भई नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरे। कार्यक्रममा पर्यटन मन्त्री योगेश भट्टराई प्रमुख अतिथिका रूपमा रहेका थिए। उद्घाटन समारोह पश्चात् सिड्नी स्थित न्यु साउथ वेल्स राज्यको संसद्को भवनमा आयोजना गरिएको अर्को एक कार्यक्रममा उपस्थित नेपालका पर्यटन मन्त्री योगेश भट्टराईले एसबीएस नेपालीसँग गरेको कुराकानी।
मन्त्री भट्टराईसँग गरिएको कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा थिच्नुहोस्
विवाद र खण्डन
न्यु साउथ वेल्स राज्यका लागि नेपालको अवैतनिक महावाणिज्यदूत र गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियासँगको सहकार्यमा राजदूतावासद्वारा आयोजित नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रमलाई लिएर केही विवादहरू पनि सामाजिक सञ्जालहरूमा आएका छन्।
पूर्व अनुमति नलिई कार्यक्रम गरिएको भन्दै र्यालीलाई रोकिएको साथै कार्यक्रममा उपस्थित भएका पर्यटन मन्त्री योगेश भट्टराईको पनि मानहानि गर्ने कार्य भएको भन्दै निकै आलोचना गरिएको थियो।अस्ट्रेलियामा डढेलो सङ्कट जारी रहँदा नेपालको प्रचार गर्ने कार्यक्रम योजना बारे पनि धेरै प्रश्नहरू उठाइयो।
यही सम्बन्धमा क्यानबेरा स्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै समाचारहरूमा आए जस्तो सामाजिक सञ्जालमा भनिए जस्तो कार्यक्रममा बाधा नपारिएको स्पष्ट पारिएको छ।
ओपेरा हाउस प्रवेश गर्ने समयमा त्यहाँका सुरक्षा गार्डले व्यवस्थापनसँग बुझ्नका लागी केही समय लिएको र त्यस पश्चात् सहज रूपमा ओपेरा हाउसमा प्रवेश गरिएको भन्दै यही कुरालाई तोडमरोड गरी भ्रामक/नकारात्मक समाचारहरू प्रकाशित भएकोप्रति खेद व्यक्त गरेको छ।
उद्घाटन समारोह पश्चात् सिड्नी स्थित न्यु साउथ वेल्स राज्यको संसद्को भवनमा आयोजना गरिएको अर्को एक कार्यक्रममा बोल्दै अस्ट्रेलियाली परराष्ट्र तथा व्यापार विभागका सहायक प्रमुख पल वोचिस्कीले नेपाल र अस्ट्रेलियाबिच पर्यटकहरूको सङ्ख्यामा पनि बढोत्तरी भएको बताएका थिए।
“गत वर्ष अस्ट्रेलिया आउने नेपाली पर्यटकहरूको सङ्ख्या ३५,६०० थियो भने यताबाट नेपाल जानेहरूको सङ्ख्या ३७,४०० रहेको थियो।"





