मौसम विभागले जारी गरेको 'ला निन्या अलर्ट' भनेको के हो?

NSW WET WEATHER

Cars navigate through minor flood waters as rain continues to fall across much of New South Wales causing localised flash flooding in Sydney, Friday, November, 26, 2021. Source: AAP / DEAN LEWINS/AAPIMAGE

मौसम विभागले अर्को ला निन्या अवस्थाको सम्भावना देखेपछि आफ्नो चेतावनीको स्तर बढाएको छ।


मौसम विभागले जारी गर्ने 'ला निन्या सतर्कता' भनेको कुनै मौसमी गतिविधिको सम्भावना ७० प्रतिशत रहेको भन्ने बुझिन्छ र सम्भावना बढे पछि यसलाई अद्यावधिक गरिन्छ।

मौसम विभागले यो स्प्रिङ सिजन चिसो र ओसिलो हुने पूर्वानुमान गरेको छ।

त्यो किनभने अर्को ला निन्या अवस्था देखिने सम्भावना रहेको छ।

विभागले ला निन्या देखिने अवस्थालाई मापन गरेर आफ्नो पूर्वानुमानको स्तर निर्धारण गर्दछ।

र यसले 'ला निन्या वाच' वा निगरानी गर्ने स्तरलाई बढाएर 'ला निन्या अलर्ट' वा चेतावनीको स्तरमा पुर्‍याएको छ।

विभागका वरिष्ठ मौसमविद् जोनाथन हाउ, ला निन्या भनेको के हो भन्ने बारे यस्तो बताउँछन्।

"ला निन्या भनेको उष्ण प्रदेशिय प्यासिफिक ओसनको तुलनामा समुन्द्री सतहको तापक्रम परिवर्तन हुनु हो। पूर्वी प्यासिफिक क्षेत्रको पानी सामान्य भन्दा बढी चिसो हुने र पश्चिमी प्यासिफिक देखि अस्ट्रेलियाको उत्तरतर्फको पानी सामान्य भन्दा बढी तातो हुँदा हावाको बहाव सँगै यसले हावामा वाष्पीकरण बढाउँछ। यसका कारण देशको पूर्वी र मध्य क्षेत्रमा ठुलो परिमाणमा वर्षा गराउँछ।"

उनी भन्छन्, "यसका कारण उत्तर तर्फको वर्षा याममा बढी पानी पर्छ।"

ला निन्या मौसमी अवस्था सामान्यतया भारी वर्षासँग सम्बन्धित हुन्छ।

ला निन्या चेतावनीलाई पूर्वी अस्ट्रेलियाले चिन्ताको रूपमा लिने छ किनभने त्यस क्षेत्र बाढीका कारण प्रभावित भइसकेको छ।

विभागका जोनाथन हाउ भन्छन् थप बाढीको सम्भावना रहेको छ।

"पूर्वी अस्ट्रेलियाका धेरैलाई थाहा छ माटो अझै पनि भिजेकै अवस्थामा छ, नदीहरूको सतह पनि उच्च नै रहेको छ र थप वर्षा हुने सम्भावना देखिदा यसले पूर्वी अस्ट्रेलियाका धेरै भागमा बाढीको सम्भावना बढाएको छ।"

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

तर ला निन्या अवस्थाले देशको पूर्वी भागमा मात्र प्रभाव पार्दैन।

मोन्यास युनिभर्सिटीका प्रोफेसर साएन म्याकग्रेगर भन्छन् यसको असर पुरा अस्ट्रेलिया भरि अनुभव गरिने छ।

ला निन्या र यससँगै जोडिने तर यसको विपरित अवस्था एल निन्यो दुई यस्ता अवस्था हुन् जसलाई अहिलेसम्म पनि पूर्णतया बुझ्न सकिएको छैन। र जति कुरा थाहा भएको छ त्यो एक शताब्दीभन्दा केही बढी देखि गरिएको अवलोकनमा आधारित रहेको छ।

प्रोफेसर म्याकग्रेगरले लामो समयसम्म रहिरहने वा दोहोरिइरहने मौसमी अवस्थाको बारेमा कुनै टिप्पणी गर्न निकै गाह्रो भएको बताएका छन्। उनका अनुसार यस्ता मौसमी अवस्था असामान्य हुन् अथवा ला निना दोहोरिइरहने अवस्थामा परिवर्तन आउनेबारे केही भन्न सकिने अवस्था रहेको छैन।

"वास्तवमा यी अवस्था किन बन्द हुँदैनन् भन्ने कुरा थाहा पाउन हामीले अझै पनि वैज्ञानिक अध्ययन गरिरहेका छौँ।"

भारी वर्षाहरूको बिचमा हुने निकै सुख्खा दिनहरूमा पनि यो अवस्था बन्द नहुन सक्छ भन्ने कुराले यसलाई एकदमै जटिल बनाएको छ।

युनिभर्सिटी अफ न्यु साउथ वेल्सका एगस सान्टोसोले सामान्य भन्दा बढी पानी पर्ने देखिएकाले डढेलोको जोखिम भने कम भएको बताएका छन्।

"तर यसको अर्थ यो होइन कि धेरै गर्मी र सुख्खा दिनहरू नहुन सक्छन्। त्यसैले हामी अहिले पनि डढेलोको जोखिमका लागि तयारी अवस्थामा हुनु पर्छ।"

मौसम विभागले मानिसहरूलाई मौसमी अवस्थाहरू निरन्तर परिवर्तन हुने हुँदा यसका बारेमा सुसूचित रहन आग्रह गरेको छ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now