गर्मी मौसममा पानी नजिक जानु वा पौडी खेल्नु सामान्य गतिविधि भए पनि सरोकारवालाहरू नेपाली समुदायमा पानी सुरक्षालाई लिएर पर्याप्त जानकारी नभएको हुन सक्ने चिन्ता व्यक्त गर्दछन्।
त्यस्ता चिन्ता व्यक्त गर्ने मध्येका एक हुन् मौसमविद् विमल केसी।
उनका अनुसार मौसमी चेतावनी हेरेर पानीसँग सम्बन्धित गतिविधिहरू गर्ने बानी बसे मात्र पनि पानीसँग सम्बन्धित दुखद घटनाहरू धेरै कम हुन सक्छ।

मौसमविद् केसी भन्छन् पानी सम्बन्धी कुनै पनि गतिविधि गर्नु पूर्व मौसमी अवस्था बारे जानकारी राख्न जरुरी हुन्छ।
"जस्तो अब कोहीले फिशिंगको लागी डुङ्गा लिएर समुन्द्र किनारबाट अलि टाढा जानु भयो त्यो बेलामा मौसमी अवस्था कस्तो छ परिवर्तन भइराखेको छ कि छैन, हावाको बहाव कतिको परिवर्तनशील छ, चेतावनी जारी गरिएको छ कि छैन यी सबै कुराहरू बिचार गरेर जाँदा खेरि पानी सँग सम्बन्धित दुर्घटना र कहिले काहीँ आफ्नो ज्यानै जोखिम हुने कुराहरू पनि कम गर्न सकिन्छ।"
मौसम विज्ञान विभागले विभिन्न समयमा समुन्द्री पानी, हावाको बहावबारे पूर्वानुमान सहित चेतावनी जारी गरेको हुन्छ।
मौसमी चेतावनी र त्यसको अर्थ:
मौसमविद् केसी भन्छन् समुन्द्री तटको पानी अवस्थाको पूर्वानुमानबाट हावा कता बाट बगिराखेको छ साथै त्यसको वेग र हावाको बेगले गर्दा समुन्द्री छालहरू कताबाट आइराखेको छन् भन्ने थाहा पाउन सकिन्छ।

"त्यो हावाको वेग अनुसार सी वेभ, सोइल वेभ कताबाट आइराखेको छ, त्यसको क्षमता कति छ... यी सबै कुराहरूलाई चाहिँ हिसाब गरेर निश्चित मापदण्ड पार गरेपछि विभागले तटीय हावाबारे चेतावनी, जोखिमयुक्त सर्फ बारे चेतावनी जारी गर्दछ।"
यी सबै चेतावनीहरू मौसम विज्ञान विभागको वेबसाइट www.bom.gov.au त्यस्तै विभागको मौसम सम्बन्धी एप र मरिन रेडियो वेदर सर्भिसमा पाउन सकिन्छ।
केसी भन्छन् हावाको बहावलाई लिएर चार प्रकारको चेतावनी जारी गरिएको हुन्छ, स्ट्रोंग विन्ड वार्निङ्ग, गेल विन्ड वार्निङ्ग, स्ट्रोंग फोर्स विन्ड वार्निङ्ग र हुरिकेन फोर्स विन्ड वार्निङ्ग ।
स्ट्रोंग विन्ड वार्निङ्ग वा कडा हावा भनेर चेतावनी जारी गरिएको छ भने यसको अर्थ २५ देखि ३३ नट्स सम्म भएको हावा चलेको छ र यसले २.५ देखि ३.५ मिटर सम्मको छाल उत्पन्न गराउँछ भन्ने बुझ्नु पर्छ।

"अर्को चाहिँ गेल विन्ड वार्निङ्ग अलिकति यो ( स्ट्रोंग विन्ड वार्निङ्ग) भन्दा खतरा, यो चेतावनीमा चाहिँ हावाको गति ३४ देखि ४७ नट्स हुन्छ जसले चाहिँ सामान्यतया ३.५ देखि ४.५ मिटर छाल उत्पन्न गराउँछ।"
४८ देखि ६३ नट्स हावाको बहाव हुने स्ट्रोंग फोर्स विन्ड वार्निङ्ग जारी गरिएको समयमा ४.५ देखि ६.५ सम्मको समुन्द्री छाल आउने गर्दछ।

त्यस्तै ६४ नट्स भन्दा बढी बहावका साथ ६.५ मिटरको छाल उत्पन्न गराउने हावाको प्रकृति देखियो भने यो हुरिकेन फोर्स विन्ड वार्निङ्ग अन्तर्गत पर्दछ।
यस अर्थमा पनि हावाको बहाव हेरेर समुन्द्री तटको पानीमा खेल्न वा पानी नजिकै हिँड्न पनि कत्तिको सुरक्षित हुन्छ भनेर अनुमान गर्न सकिन्छ।
चेतावनी जारी हुँदा के नगर्ने ?
बिदा र चाडबाडको समयमा रमाइलो गर्न भन्दै पानी नजिक जाने किसिमका योजना बनाउनु स्वाभाविक भएको बताउँदै मौसमविद् विमल केसी यस्तो बेलामा झन् धेरै चनाखो भएर मौसमी चेतावनी हेर्नु पर्नेमा जोड दिन्छन्।
"कुन ठाउँमा जाँदै छु भनेर सचेत भई सके पछि चाहिँ त्यो ठाउँको लागी चेतावनी जारी गरिएको छ कि छैन विभिन्न निकायबाट, कोष्टल वाटर फोरकास्टहरू हेर्ने, समुन्द्री छाल कत्रो छ, सोइल कत्रो छ, विन्ड कति स्केलको छ, मरिन विन्ड वार्निङ्गहरू छ कि छैन, जोखिमयुक्त सर्फ गर्ने अवस्था छ कि।"

उनले यस्ता चेतावनीहरू हेरेपछि पानी सँग सम्बन्धित क्रियाकलापहरू जस्तै सर्फ़िङ्ग, समुन्द्री तटमा हिँड्ने, रक फ़िशिङ्ग, डुङ्गामा बसेर माछा मार्ने लगायतका क्रियाकलापहरू गर्दा सचेत हुनु पर्ने बताएका छन्।
समुन्द्रको धेरै नजिकबाट हिँड्दा सानातिना छालहरूलाई केही समय हेरेर केही जोखिम छैन भन्ने सोच्दा पनि कहिले काहीँ लामो अन्तरालमा आउने छालहरूले बगाउने सम्भावना रहन्छ र यी मध्ये ढुङ्गामा बसेर माछा मार्ने काम धेरै जोखिम युक्त हुने पनि केसीको भनाइ छ।
"अब तपाइले यसो हेर्नुहुन्छ सानोतिनो छाल आइराखेको छ केही समस्या छैन भनेर २-४ सेकेन्ड हेर्नुहुन्छ तर कहिले काहीँ चाहिँ कुनै कुनै लामो अन्तरालमा फर्कने जस्तो ३० सेकेन्ड २० सेकेन्ड फ्रिक्वेन्सी भएको छालहरू आएर रक फ़िशिङ्ग गरिराखेको मान्छेहरूलाई लिएर गएको धेरै उदाहरणहरू छन्।"

पानी दुर्घटना र न्यूनीकरण पहल:
अलबरी स्थित मर्री नदीमा बेपत्ता भएका २१ वर्षीय बिगुल पण्डित हुन् वा २२ वर्षीय निश्चल घिमिरेको ग्लिनेल्ग बिचमा डुबेर मृत्यु भएको समाचार होस् गत वर्ष मात्र कम्तीमा पनि चार जना नेपाली विद्यार्थीहरूले ज्यान गुमाएका थिए।
वाल्लेसिया बाट करिब १० किलोमिटर पश्चिममा रहेको तालमा ज्यान गुमाउने नेपाली र दक्षिणी सिड्नी स्थित रोयल नेशनल पार्कमा रहेको “फिगर एट पुल्स” मा ज्यान गुमाउने अर्का नेपालीको खबर सुन्दा सम्म समुदाय भित्र पानीमा जाँदा अपनाउनु पर्ने सुरक्षा बारे बृहद सचेतना जगाउन जरुरी रहेको महसुस गरिएको थियो।
विभिन्न सामुदायिक समूहहरूले पानी सुरक्षा बारे विभिन्न कार्यशालाहरूको पनि आयोजना गरे।
यस्ता घटना फेरी नदोहोरिउन् भन्ने उद्देश्यले सचेतना कार्यक्रमहरू आयोजना गरिने गरिएकोमा यस वर्ष गर्मी यामको सुरुवातमा नै एक कार्यक्रमको आयोजना गरियो।
डिसेम्बर २२ मा नेपाल दूतावास र भिजन फर मोटिभेसन (भिएफएम) को सहकार्यमा एक समुन्द्रमा सुरक्षा सम्बन्धमा एक तालिम सञ्चालन गरिएको थियो।

यस्ता सङ्घ संस्थाहरूले आयोजना गर्ने जानकारी मूलक कार्यक्रमहरू समुदायमा जन चेतना फैलाउन सहयोगी त हुन्छ तर साँच्ची कै अप्ठ्यारो परिस्थितिबाट जोगिन भने स्वयम् जागरण आवश्यक हुन्छ।
त्यसका लागी आफैले विज्ञहरूबाट जारी गरिने चेतावनीहरूलाई ध्यान दिएर हेर्ने र सोही अनुसार आफ्ना क्रियाकलापहरू सञ्चालन गरे दुर्घटना कम हुने बिचार मौसमविद् विमल केसीले व्यक्त गरेका छन्।









