डाइबेटिज, अर्थात् मधुमेह। सन् २०१९ को तथ्याङ्क अनुसार विश्वभर २० वर्ष देखि ७९ वर्षको उमेर समूहमा ४६ करोड भन्दा बढी मानिसहरू मधुमेहको सिकार रहेका छन्।
विश्व स्वास्थ्य सङ्गठन (WHO) को अनुसार संसार भर मृत्युका मुख्य कारण मध्य मधुमेह पनि एक हो।
विश्वव्यापी मधुमेहका मामिलाहरू मध्य लगभग दुई-तिहाइ मानिसहरू, संसारको सबै भन्दा बढी जनसङ्ख्या रहेको क्षेत्र, दक्षिण एसियामा रहेको, अनुसन्धानले देखाएको छ।
यही क्षेत्रमा पर्ने नेपालमा पनि मधुमेह हुने मानिसहरूको सङ्ख्या बढ्दै गएको समयमा, हाम्रो वरिपरि कसैलाई सुगर रोग भएको सुन्नु, अब कुनै नौलो कुरा रहेन।
मधुमेह मुख्य तीन प्रकारका हुन्छन्, र ती मध्य धेरै मानिसहरूमा टाइप टु (Type 2) डाइबेटिज भएको पाइन्छ, जसमा रगतमा हुने सुगरको मात्रा बढ्ने समस्या हुन्छ।
टाइप टु डाइबेटिज बारे अस्ट्रेलियामा रहेको नेपाली भाषी समुदायमा जनचेतना फैलाउने उद्देश्यका साथ डाइबेटिज न्यु साउथ वेल्सले अन्तरक्रियात्मक कार्यशालाहरू आयोजना गर्दै आएको छ।
डाइबेटिज न्यु साउथ वेल्स एक गैर नाफा संस्था हो, जसले अस्ट्रेलियामा रहेका अङ्ग्रेजी तथा बहु भाषी र बहु सांस्कृतिक समुदायहरूमा मधुमेह सम्बन्धी जनचेतना फैलाउँदै आएको छ।
त्यस्तै पछिल्लो समय आठ मार्चमा सिड्नीको कोगराहमा सम्पन्न भएको एक कार्यक्रममा, स्वास्थ्य कर्मचारीहरूले सुगर रोगका लक्षण, कारण र त्यसबाट बच्ने र नियन्त्रणमा राख्ने तरिकाहरूको बारेमा, अङ्ग्रेजी तथा नेपाली भाषामा जानकारी प्रदान गरेका थिए।
तथ्याङ्क अनुसार दक्षिण एसियाली क्षेत्रका मानिसहरूमा अन्य जन सङ्ख्याको तुलनामा ५ देखि १० वर्ष छिटो मधुमेह वा सुगर रोग देखा पर्ने गरेको, उक्त संस्थाकी अधिकारी केटी एलिसन बताउँछिन्।
किन दक्षिण एसियाली मूलका मानिसहरूमा मधुमेहको खतरा बढी हुन्छ त?
यस बारे अझै अनुसन्धान जारी रहे तापनि, यो मुख्यतः केही जैविक कारणहरूले गर्दा हुन सक्ने एलिसनले बताइन्।
यस क्षेत्रका मानिसहरूको शरीरमा इन्सुलिनको प्रतिरोधात्मक शक्ति अर्थात् इन्सुलिन रेजिस्टेन्स (Insulin resistance) बढी हुने गरेको पाइन्छ, जस कारण टाइप टु डाइबेटिज हुन पुग्छ।

सरल भाषामा भन्नु पर्दा, इन्सुलिन एउटा यस्तो हर्मोन हो, जसले रगतमा रहेको ग्लुकोजलाई शरीरका विभिन्न कोशिकाहरू सम्म पुर्याउने काम गर्छ, जसबाट ऊर्जा पैदा हुन्छ।
तर इन्सुलिन प्रतिको प्रतिरोधात्मक शक्ति बढी भएमा चाहिँ, शरीरका कोशिकाहरूले रगतमा रहेको ग्लुकोजलाई पर्याप्त मात्रामा प्रयोग गर्न सक्दैनन्।
सन्तुलन कायम राख्न हाम्रो पेट नजिकै हुने प्यान्क्रियाज (Pancreas) ले बढी मात्रामा इन्सुलिन उत्पादन गर्छ, जस कारण रगतमा सुगरको मात्रा बढ्न पुग्छ र प्यान्क्रियाजले धेरै समयसम्म यसरी बढी इन्सुलिन उत्पादन गर्नु पर्दा, यसमा पनि समस्या देखिन थाल्छ, र इन्सुलिन उत्पादन पूर्ण रूपले रोकिन पनि सक्छ।

यसरी शरीरमा इन्सुलिनको मात्रामा घटी बढी हुँदा रगतमा रहेको ग्लुकोजको उपयोग हुँदैन, रगतमा ग्लुकोजको मात्रा बढ्दै जान्छ, र शरीरमा ऊर्जाको कमी हुँदै जान्छ।
यसै कारण टाइप टु डाइबेटिज भएका मानिसहरूमा निरन्तर भोक लागिरहने र थकानको समस्या देखिन्छ।
यो ठ्याक्कै के कारणले हुन्छ भनी अझै भन्न नसकिने एलिसन बताउँछिन्।
यो शरीरका कोशिकाहरूमा आउने समस्याले गर्दा पनि हुन्छ भने, धेरैजसो समयमा मधुमेह पारिवारिक रूपमा एउटा पुस्ताबाट अर्को पुस्तामा सर्ने रोग पनि हो।
परिवारमा कसैलाई मधुमेह छ भने ती व्यक्तिका सन्तान मध्य कसैलाई उक्त रोग हुने सम्भावना बढी हुने एलिसन बताउँछिन्।

त्यस्तै गरी, बढ्दो पश्चिमी खानाको प्रभाव, धेरै शारीरिक काम नगर्ने जीवनशैली, र शरीरमा कोलेस्ट्रोलको मात्रा बढी हुनाले पनि डाइबेटिज विकास हुन सक्ने उनले बताइन्।
यसका लक्षणहरूलाई मुख्य तीन किसिममा विभाजन गर्न सकिन्छ - थकान, बारम्बार पिसाब आइरहने समस्या हुने, र सामान्य भन्दा बढी पानी तिर्खा लाग्ने।
त्यस्तै अरू लक्षणहरूमा छालामा कुनै घाउ भएमा त्यो निको हुनमा धेरै समय लाग्ने र टाउको दुख्ने समस्या पनि हुन्।
तर, केही व्यक्तिहरूमा भने मधुमेह भए तापनि यी लक्षणहरू स्पष्ट रूपमा नदेखिन सक्छन्।
त्यसैले नियमित रूपमा रगत जाँच गराउन अत्यावश्यक रहेको एलिसनले बताइन्।
मधुमेहको विषयमा भोजनले पनि ठुलो भूमिका खेल्छ।
बढी मात्रामा कार्बोहाइड्रेट भएका खानेकुरा खाँदा त्यसले पनि रगतमा सुगरको मात्रा बढाउन सक्छ।
धेरै मात्रामा कार्बोहाइड्रेट भएका खाद्य पदार्थ मध्य चामल पनि एक हो, जुन नेपाली समुदायको भोजन शैलीमा धेरै जसो दैनिक प्रयोग हुन्छ।

मधुमेहको जोखिम भएका या मधुमेह भएका मानिसहरूले आफ्नो आहारमा चामलको प्रयोग गर्नै नहुने भने होइन।
कार्बोहाइड्रेटले मस्तिष्कलाई ऊर्जा प्रदान गर्ने हुनाले यसलाई नियन्त्रित रूपमा खानु भने जरुरी रहेको एलिसनले बताइन्।
एक पटकको आहारमा एक मुट्ठी या आफ्नो प्लेटको एक चौथाइ भाग मात्र चामल हुनु पर्ने उनी बताउँछिन्।
त्यस्तै, आलु र रोटी जस्ता कार्बोहाइड्रेट हुने खानेकुराहरू छन् भने, कार्बोहाइड्रेटको दोब्बर मात्रा नखानका लागि एक पटकमा एउटा कुरा मात्र खाने, या सबैलाई थोरै थोरै खान सकिने उनले बताइन्।
यस सँगै प्रोटिन र अन्य भिटामिन हुने हरिया तरकारी पनि छुटाउनु हुँदैन।

मधुमेहको खतरा उमेर सँगै बढ्दै गएको पाइन्छ।
तर दक्षिण एसियाली क्षेत्रका मानिसहरूमा यसको खतरा ५ देखि १० वर्ष अघि देखि नै हुन सक्ने हुनाले, वयस्क २० देखि ३० वर्षको वयस्क उमेर देखि नै डाक्टर देखाउन र स्वास्थ्य खानपान र जीवनशैली अपनाउन निकै जरुरी रहेको उनी बताउँछिन्।
टाइप टु डाइबेटिज एक घातक रोग भए तापनि र अहिलेसम्म यसलाई पूर्ण रूपमा निको पार्ने विधि नभए पनि, समयमै उपचार र स्वास्थ्य जीवनशैलीले ६० प्रतिशत सम्म यसको खतरालाई रोक्न सकिन्छ।
मधुमेहका बिरामीहरूमा पनि नियमित रगत जाँच, व्यायाम, स्वास्थ्य भोजन र औषधीको सहयोगले यसलाई नियन्त्रणमा राख्न सकिन्छ।
डाइबेटिज न्यु साउथ वेल्स अस्ट्रेलियाका नेपाली भाषी समुदायलाई लक्षित गरी नेपाली भाषामा मधुमेह सम्बन्धी कार्यक्रम लगायत थुप्रै श्रोत साधनहरू तयार पार्दै आएका छन्।

थप जानकारीका लागि उक्त संस्थाको वेबसाइट diabetesnsw.com.au मा जान सक्नु हुन्छ र मधुमेहका बारेमा फोन मार्फत अङ्ग्रेजी भाषामा निःशुल्क जानकारी प्राप्त गर्नका लागि National Diabetes Services Scheme NDSS को हेल्पलाइन 1800 637 700 मा सम्पर्क गर्न सक्नु हुन्छ।
त्यस्तै, नेपाली भाषामा जानकारीका लागि भने Translating and Interpreting Service लागि भने १३१ ४५० मा सम्पर्क गर्न सकिन्छ।
अस्ट्रेलियाको पछिल्लो समाचार तथा अन्य सामाग्री नेपाली भाषामा सुन्नको लागि यो लिङ्क हेर्नुहोस्: https://podfollow.com/sbs-nepali






