आदिवासी टेनिस चाम्पियन एस्ली बार्टीले महिला विश्व वरियतामा पहिलो स्थान हात पार्दै गए ४३ वर्षमै उक्त कीर्तिमान बनाउने पहिलो अस्ट्रेलियाली महिला बनेकी छन्।
बर्मिङ्घम क्लासिकको फाइनलमा आफ्ना प्रतिद्वन्दी जुलिया जोर्जेसलाई पराजित गर्दै उनले जापानी खेलाडी नाओमी ओसाका बाट पहिलो स्थान खोस्न सफल भएकी हुन्।

दुई हप्ता अगाडी मात्र २३ वर्षीय बार्टीले फ्रेन्च ओपन प्रतियोगिताका साथ् आफ्नो पहिलो ग्रयाण्ड स्ल्याम टेनिस प्रतियोगिता जितेकी थिइन्।
सन् २०१४ मा टेनिस बाट सन्यास लिंदै क्रिकेट खेल्न सुरु गरेकी बार्टीले ब्रिसबेन हिटका लागि बिग ब्याश लिगमा पनि खेलेकी थिइन्।
तर टेनिस प्रतिको आफ्नो रुचीलाई निरन्तरता दिंदै क्वीन्सल्याण्ड निवासी सन् २०१६ मा फेरी उक्त खेलमै फर्किएकी हुन्।
विशेष गरि आफ्नो लागि गए तीन वर्ष धेरै नै उपलब्धि मुलक रहेको उनि बताउँछिन्।
एस्ली बार्टी भन्दा अगाढी विश्व वरियतामा पहिलो स्थानमा पुग्ने अस्ट्रेलियाली महिला पनि आदिवासी पृष्ठभूमिकै खेलाडी थिइन्।
सन् १९७६ मा गूलागोन्ग कलीले दुई हप्ता सम्म उक्त कीर्तिमान कायम राख्न सफल भएकी थिइन्।
तर कलीलाई आफ्नो गूरुको रूपमा लिने बार्टीले चाहिं आफ्नो पछिल्लो सफलताले पनि आफुलाई कलीको समान नपुर्याउने बताएकी छन्।
आगामी जुलाई १ देखि सुरु हुने विम्बल्डन टेनिस प्रतियोगितामा एस्ली बार्टी महिला विश्व नम्बर एक खेलाडीको रूपमा सहभागी हुने छिन् ।