सन् १९९२ अस्ट्रेलियामा भएको विश्वकप प्रतियोगिता र यसपालि इंग्ल्याण्ड तथा वेल्समा आयोजना भइरहेको प्रतियोगितामा पाकिस्तानको प्रदर्शन लगभग उस्तै-उस्तै छ।
कसरी भन्नुहोला?
त्यस बेलाको पाकिस्तानी टोली र यसपटकको पाकिस्तानी टोलीको हालसम्म भएका हरेक खेलका नतिजा लगभग उस्तै उस्तै छ।
अहिले पाकिस्तानका प्रधानमन्त्री रहेका इमरान खान कप्तान रहेको २७ वर्ष अघिको टोलीले विश्वकप विजेता बन्ने क्रममा पहिलो खेल वेस्ट इन्डिज विरुद्ध मज्जाले हारेको थियो।
उसको २२१ रनको लक्ष ब्रायन लारा र कर्ट्ली एम्ब्रोस सम्मिलित टोलीले बिना कुनै विकेट गुमाई सहजै प्राप्त गरेको थियो। तर लारा भने ८८ रन बनाइ घाइते भएर मैदानबाट बाहिरिएका थिए।
अब संयोग हेर्नुहोस्, यसपालि पनि आफ्नो पहिलो खेल पाकिस्तानले वेस्ट इन्डिज विरुद्ध हारबाटै सुरु गरेको थियो।
सरफराज अहमदको टोलीले पनि पहिलो ब्याटिङ गर्दै जम्मा १०५ रन बनाएको थियो जसलाई सहजै वेस्ट इन्डिजले १३.४ ओभर मै पर गर्न सफल भयो।
अनि, उहिलेको टोली र अहिलेको टोली दुवैले आफ्नो दोस्रो खेलमा जित्न सफल भए भने तेस्रो खेल वर्षाबाट पुरै प्रभावित भएको थियो।
यसै गरी यी बाजेको पालाका र नातिका पालाका पाकिस्तानी टोलीले चौथो र पाँचौँ खेलमा हार अनि छैटौँ र सातौँ खेलमा जीत हासिल गरे।
अहमद नेतृत्वको यसपालिको पाकिस्तानी टोलीले अर्को खेल अफगानिस्तान विरुद्ध खेल्नेछ र यदि यसमा जित्यो भने उसले खानको नेतृत्वको टोलीको बराबरी गर्नेछ।
त्यसो भए कुनै अन्तर छैन त?
छ, पक्कै पनि छ। उस बेला ९ टिम समावेश भएको प्रतियोगिता भएको भएर हरेक टोलीले सेमी फाइनल पुग्नु अगाडी ८ मात्र खेल्नु परेको थियो भनेको यसपालि १० वटा टिमहरूले भाग लिएका कारण ९ खेल खेल्नु पर्नेछ।
अब ९औँ खेलमा उस बेला र यस बेला गर्न मिल्दैन त्यस कारण पाकिस्तानले ठ्याक्कै त्योबेलाको जस्तै गरी उपाधि नै हात पार्ला भन्न अलिक अप्ठेरै छ!
मलाई सन्चै छ: ब्रायन लारा
केही दिन अघि छाती दुखेर मुम्बईको एक अस्पताल भर्ना गरिएका वेस्ट इन्डिजका चर्चित पूर्व ब्याट्सम्यान ब्रायन लाराले आफूलाई आरामै रहेको सङ्केत दिएका छन्।
वेस्ट इन्डिज क्रिकेट बोर्डले लाराको आफू ठिकै रहेको अडियो सार्वजनिक गरेको छ।
५० वर्षीय लारा हाल भारतीय मिडियाका लागि विश्वकप क्रिकेट “कभर” गर्न मुम्बईमा रहेका हुन्।
लाराका अनुसार व्यायाम गर्दा अलिक जोड परेर छातीमा केही अफ्ठेरो भएको थियो।
लाराले १३१ टेस्ट म्याच खेल्दै ११,९५३ रन हानेका थिए जसलाई उनका भारतीय समकक्षी अर्का चर्चित ब्याट्सम्यान सचिन तेन्दुलकरले सन् २००८ मा उछिनेका थिए।
साथै, लाराले २९९ एक दिवसीय खेलमा थप १०,४०५ रन पनि बनाएका थिए।
३ पोच अण्डाले मेटेको जितको भोक
अस्ति मङ्गलवार अस्ट्रेलियाले इंग्ल्याण्डलाई ६४ रनले हराएको त समाचार पुरानै भइसक्यो।
तर उक्त म्याचको ८.४ ओभरमा ४३ रन दिएर इंग्ल्याण्डको ४ महत्त्वपूर्ण विकेट झार्न सफल मिचेल स्टार्कलाई गजबको खेल देखाउन उक्साउने चाहिँ एक रिस उठ्दो ब्रिटिस व्यापारी रहेको चाहिँ तपाईँलाई कत्तिको थाहा छ?
स्टार्कले मध्यक्रमका ब्याट्सम्यानहरू जो रुट, कप्तान इयोन मोर्गन, बेन स्टोक्स सहित तल्लो क्रमका अदिल रशिदको विकेट लिएर अस्ट्रेलियाको जीतमा राम्रो भूमिका निभाएका थिए।
स्टार्ककी श्रीमती तथा अस्ट्रेलियन महिला क्रिकेट टोलीकी विकेटकीपर अलिसा हिलीले मङ्गलवार बिहान ब्रेकफास्टको बेला भएको उक्त घटनालाई पुष्टि गर्ने एक घोचपेच युक्त ट्विट गरेकी छिन्।
“ब्रेकफास्टको बखत मिच्लाई राम्रो खेल प्रदर्शन गर्न उक्साउने ती अङ्ग्रेज पुरुषलाई ‘हाई फाइभ’, धन्यवाद है,” उनले आफ्नो ट्विटरमा लेखेकी छिन्।
हिलीको अस्ट्रेलियन क्रिकेटसँग एक अर्को पनि सम्बन्ध रहेको छ, उनका काका इयन हिली पनि आफ्नो जमानामा अस्ट्रेलियन टिमको विकेट किपर थिए र टेस्ट क्रिकेटमा सबैभन्दा बढी ब्याट्सम्यान आउट गर्ने विकेट किपरको रेकर्ड बनाएका थिए।
डरलाग्दो फर्ममा स्टार्क
मिचेल स्टार्क यसपालिको क्रिकेट विश्वकपमा पुन: डरलाग्दो फर्ममा फर्किएका छन्।
उनले अहिलेसम्म १९ विकेट लिएर यसपालिको विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पहिलो नम्बरमा पुगेका छन्।
अघिल्लो वर्ल्ड कपमा किवी कप्तान ब्रेण्डन मक्कालमको विकेट लिँदाको याद दिलाउने गरी उनले यस पटक अङ्ग्रेज ब्याट्सम्यान बेन स्टोक्सको विकेट लिए, लगभग खेल्न असम्भव प्राय जस्तो एक “योर्कर” बल फालेर।
गेलको योजना
यो तात्तातो समाचार चाहिँ वेस्ट इन्डिजको आज बेलुका भारतसँग हुने म्याचको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनबाट जहाँ अर्का चर्चित ब्याट्सम्यान क्रिस गेलले आफू टी-२० खेल्न छाडेर पुन: टेस्ट म्याचमा फर्किने योजनामा रहेको भनेर सबैलाई आश्चर्यमा पारिदिएका छन्।
म्यानचेस्टरमा आयोजित उक्त पत्रकार सम्मेलनमा ३९ वर्षीय गेलले आफूमा क्रिकेटको भोक अझै बाँकी रहेको बताउँदै उक्त योजना सार्वजनिक गरेका हुन्।
तर, उता उनका कप्तान जेसन होल्डरका अनुसार आफूलाई यसबारे पूर्व जानकारी नरहेको तर उक्त योजना गजब रहेको बताएका छन्।
गेलले पाँच वर्ष अघि उक्त फर्म्यार्टबाट सन्न्यास लिएका थिए।
लर्ड्समा बार्टीको पार्टी
महिला क्रिकेट वा महिला टेनिस “फलो” गर्नेहरूलाई एश्ली बार्टीको नाम नौलो नरहला।
क्रिकेट की टेनिस भन्नुहोला, दुवै।
अनि, नाम त सुन्या सुन्या लाग्यो है भन्नुहुन्छ भने उनले भर्खरै मात्र फ्रेन्च ओपन टेनिस र बर्मिङ्घम क्लासिकको उपाधि जित्दै महिला टेनिसको बरियताक्रममा सबैभन्दा माथि उक्लिन सफल भएकी छिन्।
एबोरिजिनल पृष्ठभूमि भएकी बार्टीले सन् २०१४मा ब्रिसबेन हिटका लागि महिला बिग ब्याश लिगमा भाग लिएकी थिइन्।
उनै बार्टीलाई अस्ट्रेलियन टोलीका कप्तान आरन फिंचले लर्ड्समा इंग्ल्याण्ड विरुद्धको खेल हेर्न निम्त्याएका थिए।
बार्टीले पनि फिंचको निम्तो स्वीकार गर्न इस्टबर्न इन्टरनेशनल टेनिस प्रतियोगिताबाट आफ्नो हात झिकेकी थिइन।
पाकिस्तानको भाग्य चम्केला त?
सेमी फाइनल पुग्न बाँकी खेलहरूमा कसले के गर्नुपर्ला?
अस्ट्रेलियाले अस्ति मङ्गलवार भएको खेलमा इंग्ल्याण्डलाई हराउँदै सेमी फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।
न्युजील्याण्डले गए राती मात्र प्रतियोगिताको आफ्नो पहिलो हार भोगेको छ, र उसको पनि सेमी फाइनलसम्म पुग्ने यात्रा लगभग निश्चित नै छ।
अस्ट्रेलिया र इंग्ल्याण्डसँगको आफ्ना आगामी दुवै खेलमा हार व्यवहारे पनि उ अगाडी बढ्ने बलियो स्थितिमा रहेको छ।
भारतको पनि अर्को चरणमा प्रवेश गर्ने “चान्स” राम्रै छ।
बाँकी ४ खेलबाट ३ अङ्क मात्र बटुले पनि उसका लागि काफी हुनेछ।
दुई खेल बाँकी भएको इंग्ल्याण्डका लागि भने यो विश्वकप पुन: निराश गरिदिने नहोस् भन्नका लागि ती खेलहरूमा जित्नुको कुनै विकल्प छैन।
उसले बाँकी दुवै खेल हार्यो भने पाकिस्तान वा बङ्गलादेशको लागि सेमिफाइनल पुग्ने बाटो खुल्नेछ।
यसपालि सबैलाई आश्चर्यमा पार्ने खेलहरू प्रदर्शन गरेको बांग्लादेशले पनि भारत र पाकिस्तान दुबैसँग जिते अलिक सजिलोसँग अर्को चरणमा जान पाउने छ तर इंग्ल्याण्डको बाँकीका खेलहरूको नतिजामा पनि उसको भविष्य गासिएको छ।
पाकिस्तानलाई अर्को चरणमा पुग्न बङ्गलादेश जस्तै इंग्ल्याण्डका खेलहरूको नतिजामा भर गर्नुपर्ने स्थिति छ।
आफ्ना बाँकी दुवै खेलमा जित हासिल गरेर पनि उसलाई माथि पुग्न हम्मे-हम्मे नै पर्ने देखिन्छ तर असम्भवै चाहिँ छैन।
अर्को सार्क राष्ट्र श्रीलङ्काले सेमी फाइनल पुग्यो भने चाहिँ गज्जब नै हुनेछ।
कम्तीमा बाँकी रहेका ३ मध्ये २ खेलहरूमा उसले जित्नै पर्नेछ र पाकिस्तान, बङ्गलादेश र इंग्ल्याण्डले आफ्ना कुनै पनि एक खेल हारोस् भनेर प्रार्थना गर्नुपर्ने छ वा तीन वटै खेलमा जीत हासिल गरेर आयोजक राष्ट्र हार्ने कामना गर्नुपर्नेछ।
वेस्ट इन्डिजको पनि उस्तै दशा छ, आफूले बाँकी रहेका सम्पूर्ण खेलहरूमा जितेर पनि अरू आफैँ जस्ता टोलीहरूले हारोस् भनेर कामना गर्नु सिवाय ऊसँग अरू उपाय छैन।
साउथ अफ्रिका र अफगानिस्तान दुवै अगाडी बढ्न सक्ने ठाउँमा छैनन्।