पुण्य फाउन्डेसनका डा. लक्ष्मी ढकालसँगको हाम्रो कुराकानी माथि रहेको मिडिया प्लेयर बाट सुन्नुहोस्
सिड्नी निवासी परिचित नेपाली योग साधक आचार्य राजन शर्मा अर्थात भिमसेन सापकोटा गत शनिबार दक्षिण अष्ट्रेलियाको सल्सबरीमा योग सिकाउँदै र आध्यात्मिक प्रवचन दिदै गरेका भेटिए ।
तीन दिने योग तथा प्रवचन शिविरमा मानिसहरुको निकै बाक्लो उपस्थिति थियो । अष्ट्रेलियाको व्यास्त दैनिकीमा स्वास्थ र स्फूर्त जीवनमा योग र ध्यानको महत्वबारे युवा तथा बृद्धहरुलाई ज्ञान दिन शिविर सफल रहेको आयोजक पुण्य फाउन्डेसनको विश्लेशण छ ।
असिस्टेन्ट मिनिस्टर टु प्रिमियर जीङ ली, पुर्व बहुसांस्कृतिक मन्त्रि तथा लेबोर सांसद जो बेट्टिसन, सल्सबरी काउन्सिलकी मेयर जिलियन अल्ड्रिज, प्लेफर्ड काउन्सिलका मेयर ग्लेन डोकोटी र अन्य केही विशिष्ट व्यक्तिहरु पनि शिविरमा सामेल भएका थिए।
लामो समय शरणार्थी जीवन विताएका र अभावको पीडा बुझेका भुटानीहरुले पुनर्वासपछि यस्तै अभावमा बाँचेकाहरुको सहयोगका लागि स्थापना गरेको परोपकारी संस्था पुण्य फाउन्डेसनले अध्यात्मा र संस्कृति प्रवर्धन बाहेक अन्य धेरै सामाजिक काममा हात रहेको उक्त संस्थाको भनाई छ।

‘हामी सामाजिक न्यायको प्रवर्द्धनको निम्ति मानव अधिकार हननका विरुद्ध आवाज उठाउँछौं,’ संस्थापक एवं कार्यकारी निर्देशक डा. लक्ष्मी ढकालले एसबीएस नेपालीलाई बताए । उनका अनुसार फाउन्डेसनको मुख्य उद्देश्य भनेको शिक्षा र सशक्तिकरणमार्फत न्यायको खोजी गर्नु हो ।
सामाजिक कामका लागि खोलिएका हजारौं संस्था छन् तर पुण्य फाउन्डेसन नै किन भन्ने प्रश्नमा ढकाल भन्छन्, हामी अति कम खर्चमा विपन्न र असहायहरुको उज्यालो भविष्यको लागि काम गर्दैछौं ।
पहिलो चरणमा फाउन्डेसनले आफ्ना कार्यक्रमका लागि नेपाल र अफ्रिकाको ईथियोपियालाई छानेको छ । नेपालमा फाउन्डेसनले १२८ बालबालिकालाई शिक्षाको निम्ति सहयोग गर्दै आएको छ ।
त्यसमध्ये ६६ जना विद्यार्थीले पढ्नको लागि विदेशबाट आर्थिक सहयोग पाउँछन भने रहललाई नेपालमै रहेको टिमले स्थानीय श्रोत मार्फत सहयोग जुटाउँछ । यसरी सहयोग पाउनेमा खास गरी तीन वर्ष अघि गएको भुकम्पमा अभिभावक गुमाउने बालबालिका रहेका छन् । यस्ता अनाथ बालबालिकाले स्कुलको फि र अन्य खर्चका लागि भनेर प्रत्येकले वार्षिक १५० डलर बराबरको आर्थिक सहयोग पाउँछन् ।
‘हामीले २५ वर्ष अरुले दिएको दानबाट जीवन गुजारेऔं । हामी अब सक्षम बनेका छौ । हिजो हाम्रो जस्तो अवस्था थियो, त्यही अवस्थामा आज पनि धेरै मानिस बाचिरहेका छन् । उनीहरुको सहयोगका लागि आफूले सक्दो गर्नु हाम्रो कर्तव्य हो,’ योग शिविरमा आएका एकजनाले भने ।
त्यस्तै फाउन्डेसनले अफ्रिकी मुलुक ईथियोपियामा बलत्कृत महिलाहरुका लागि स्वरोजगार कार्यक्रम सञ्चालन गरेको छ । ती महिलाहरुले आफ्नो र परिवारको आर्थिक अवस्था सबल बनाउन भेडा पालन, कुखुरा पालन वा किराना पसल जस्ता व्यावसाय सुरु गर्न फाउन्डेसन मार्फत आर्थिक सहयोग पाएका छन् ।

ढकालका अनुसार यी महिलाहरुले तीन वर्ष सम्म फाउन्डेसन मार्फत सहयोग पाउनेछन् भने पाँच वर्ष भित्र उनीहरुले सो सहयोग रकम (सावा) फर्काउनु पर्नेछ । यसरी फर्काइएको रकम उनीहरु जस्तै अरु पीडित महिलाहरुलाई प्रदान गरिने छ ।
यो महिला शसक्तिकरण अभियान बाहेक ईथियोपियामा पनि गरिब तथा विपन्न परिवारका ६ बालबालिकाले पढ्नका लागि फाउन्डेसन मार्फत सहयोग पाईरहेका छन् ।
‘हामीले २५ वर्ष अरुले दिएको दानबाट जीवन गुजारेऔं । हामी अब सक्षम बनेका छौ । हिजो हाम्रो जस्तो अवस्था थियो, त्यही अवस्थामा आज पनि धेरै मानिस बाचिरहेका छन् । उनीहरुको सहयोगका लागि आफूले सक्दो गर्नु हाम्रो कर्तव्य हो,’ योग शिविरमा आएका एकजनाले भने ।
नेपाल भाषा, संस्कृति र आफ्नो २५ वर्ष शरणार्थी जीवन विताएको देश बनेकाले छनोटमा परेको र ईथियोपिया गिरिबीले गाजेको एउटा समाज हुनाले कार्यक्रम सञ्चालनको लागि आफ्नो छनोटमा परेको फाउन्डेसनको भनाई छ ।
भुटानीहरुले स्थापना गरेको संस्थाको सम्बन्ध भुटानसित भने छैन । ‘अहिले भुटानको राजनीति वातावरण हाम्रा निम्ति उपयुक्त छैन, भविष्यमा वातावरण बनेको खण्डमा हामी भुटानमा हाम्रा कार्यक्रम सञ्चालन गर्न तयार छौं,’ ढकालले भने ।
त्यसो त नेपाल वा ईथियोपिया जस्तो अति कम्जोर आर्थिक अवस्था भएको स्थिति भुटानमा देखा परेको छैन ।
फाउन्डेसन स्थापना बेला यसले तय गरेको लक्ष्यलाई हेर्दा यो संस्था राजनीतिक उद्देश्य बोकेर जन्मेको जस्तो देखिने आरोपहरु पनि आउने गरेका छन्। ढकालका अनुसार राजनीतिक शरणार्थी बनेका कारण त्यो भावना भुटानी-नेपालीहरुले सुरु गरेको अभियानमा देखा पर्नु सामान्य हो तर फाउन्डेसनको उद्देश्य भने गैर राजनीतिरुपमा विपन्न र अशक्तहरुको सहयोग गर्नु नै हो ।

फाउन्डेसन आफ्ना कार्यक्रमहरुलाई अरु फराकिलो बनाउने तयारीमा जुटेको छ तर सहयोगी हातहरु नबढे सम्म यसले साकार रुप लिनेमा शंका देखिन्छ । अहिले फाउन्डेसनका अधिकांश दाताहरु पुनर्स्थापित भुटानीहरु नै हुन् ।
कार्यक्रमको विस्तार संगै दाताहरुको संख्या वृद्धिका लागि अहिले फाउन्डेसन अष्ट्रेलियाका अन्य सामाजिक संस्थामार्फत हात फैलाउने काममा लागेको ढकालले बताए ।




