रिपोर्ट सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।
कोभिड-१९ को कारण दिनहुँ ५० जनाको मृत्यु
नेपालमा यस हप्ता प्रति दिन ५० जनाभन्दा बढिले कोरोना संक्रमणको कारण ज्यान गुमाउन थालेका छन्। शनिबारसम्म यसको कारण मृत्यु हुनेको सङ्ख्या ३,६०० भन्दा बढि छ र सकृय संक्रमितको सङ्ख्या ६ हप्तामा ६०० देखि ८३ हजारसम्म पुगेको छ।विज्ञहरुका अनुसार नेपालमा कोरोना महामारीको स्थिति भारतमा दुई हप्ता अघि जस्तो थियो, त्यस्तै भईसकेको छ।
बुधबारको स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा डाक्टर अर्चना श्रेष्ठ भन्छिन्: “अहिले पनि नेपालमा बिगतको हप्ताभन्दा यो हप्ता झण्डै १२७ प्रतिशतले संक्रमितको सङ्ख्यामा वृद्धि भएको छ। यस्तो सङ्क्रमित सङ्ख्या भएका अरु देशहरुको तुलनामा नेपालमा एक्दमै द्रुत गतिमा संक्रमण फैलिरहेको देखाउँछ।"
सरकारले अस्पतालको शय्या नपुगेको भन्दै सुचना निकालीराख्दा निजी अस्पताल र मेडिकल कलेजका शय्या खाली छन्। सरकारले जनस्तरमा पर्याप्त सुविधा पुर्याउन नसकेको हुनाले स्थानिय सरकार र पालिकाहरु आफ्नै ठाउँमा शय्या र अक्सिजन सिलिन्डरको सुविधा भएका अस्पताल बनाउन जुटेका छन्।
शनिबार मन्त्रीपरिषदले बीर अस्पतालको नयाँ भवनलाई कोरोनाको केन्द्रिय अस्पताल बनाउने निर्णय गरेको छ।

स्वास्थकर्मी र अक्सिजन सिलिण्डरको पनि चरम अभाव छ भने व्यापारीहरुले अक्सिजन सिलिण्डरको कालोबजारी गरेको र रेम्डेसिभिर औषधी नक्कली बनाएर बेचेको पनि समाचारहरु आईरहेका छन्।
हाल नेपालका ६० भन्दा बढी जिल्लामा निषेधाज्ञा कायम गरिएको छ। हुम्लामा भने सवारी साधन जाने बाटो नभएको हुँदा खाद्यान्नको अभाव नहोस् भनेर आन्तरिक हवाई सेवा जारी राखिएको छ।
चिनले नेपाललाई ९ करोड बराबरको स्वास्थ सामग्री सहयोग गर्ने र २० हजार अक्सिजन सिलिन्डरको अनुदान दिने तयारी गरिरहेको छ।

विश्वासको मत खोज्दै प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिनका लागि सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशनको आह्वान गरेका छन्।
संसदमा दुई तिहाईको समर्थन सहित पछिल्लो निर्वाचनपछि सत्तामा आएको नेपाल कम्युनिस्ट पार्टी प्रधानमन्त्रीले गत वर्ष संसद विघटन गरेपछि फुटेका कारण सरकारले आधिकारिकता गुमाएपछि यस्तो गर्नुपर्ने अवस्था आएको हो।
संसदमा जम्मा २७५ सदस्य छन् र ओलीलाई बहुमतको निम्ती १३६ मत चाहिन्छ। हाल माधव कुमार नेपाल र झलनाथ खनाल समूहसँगको असहमतिले गर्दा एमालेका १२१ मत ओलीले पाउने सुनिश्चित छैन।यो सङ्ख्याले उनले विश्वासको मत नपाउने जस्तो संकेत गर्दछ।
नेकपा माओवादी केन्द्रले पनि प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता गरेको पत्र संसद सचिवालयमा बुझाएको छ र नेपाली काङ्ग्रेसले पनि विश्वासको मत नदिने निर्णय गरेको छ।
जनता समाजवादी पार्टी भने यस विषयमा विभाजित देखिन्छ। प्रधानमन्त्री अहिले पनि नेपाली काङ्ग्रेस, जसपा, र खनाल-नेपाल समूहका सांसदलाई आफ्नो समर्थनमा ल्याउन प्रयासरत छन्।

प्रदेश प्रमुख र मुख्यमन्त्रीको नियुक्तीको आलोचना
आईतबार गण्डकी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पदबाट राजिनामा दिए पनि त्यसै दिन उनलाई त्यस पदमा फेरि नियुक्त्ति गरिएको छ। उनी विरुद्ध गत महिना माओवादी, काङ्ग्रेस र जनता समाजवादी पार्टीका सदस्यहरुले अविश्वासको प्रस्ताव राखेका थिए।
आफ्नो पक्षमा मत पर्याप्त नखस्ने देखेपछि उनले राजिनामा दिएका हुन्। अल्पमतमा हुँदाहुँदै उनलाई यस पदमा फेरि नियुक्त्त गरिएको र राजनितिक खेल खेलेर जनतालाई धोका भएको भन्दै विपक्षी दलहरुले उनको र प्रदेश प्रमुख धर्मनाथ यादवको धेरै आलोचना गरेका छन्।
विरोधको क्रममा प्रहरी र सांसदहरुको झडप समेत भएको छ।
मुख्यमन्त्री कार्यालय पुगेकी सांसद निर्मला क्षेत्री भन्छिन्: “न्यायको लागि कहाँ गएर घटघटाउनुपर्छ? हामी माननियहरु सबै यहाँ विरोधमा छौँ। यस्तो अमर्यादित किसिमले आज नाङ्गो नाच नाचिरहेको छ - प्रदेश प्रमुख, मुख्य मन्त्री लगायत प्रहरी प्रसासनले पनि यो अनैतिक कार्य गरेको छ।"
यस्तो राजनितिक खिँचातानी अन्य प्रदेशमा पनि देखा परेको छ। गण्डकी प्रदेश र सुदुरपश्चिममा पनि प्रधानमन्त्रीले माओवादी केन्द्र निकट प्रदेश प्रमुखहरु हटाएर एमाले निकट मानिसलाई नियुक्ती दिएपछि उनले शक्तिको दुरुपयोग गरेको भन्दै आलोचना भईरहेको छ।

प्रेमध्वज प्रधानको निधन
प्रसिद्ध गायक प्रेमध्वज प्रधानको बिहिबार ८२ वर्षको उमेरमा निधन भएको छ। उनी १२ दिन देखि काठमाडौंको न्यूरो अस्पतालमा उपचाररत थिए। कोभिड संक्रमणको आशंका गरेर उनलाई पिसिआर टेस्ट गर्दा नेगेटिभ आएको थियो।
प्रधानले आफ्नो जीवनकालको निकै समय अमेरिकी पुस्तकालयमा कर्मचारीको रुपमा बिताएका थिए। प्रधानका चर्चित गितहरु ‘घुम्तिमा नआउ है’, ‘पर लैजाउ फुलहरु’ र अन्य थुप्रै छन्।
उनले नेपाल भाषाका गीत पनि गाएका छन्। स्वर सम्राट नारायण गोपालका समकालिन गायक उनी प्रायजसो गितारमा गित रचना र अभ्यास गर्ने गर्थे।
पछिल्लो समयमा प्रधानलाई सबैले नेपाली संगितका एक अग्रज व्यक्त्तित्वको रुपमा कदर गर्दै विभिन्न सम्मानले पुरस्कृत तथा विशेष साङ्गितिक कार्यक्रमहरुमा आमन्त्रित गर्दै आईरहेका थिए।

कामीरिता २५ औं पटक सगरमाथामा
२५ औं पटक सगरमाथाको चुचुरोमा पुगेर कामीरिता शेर्पाले आफ्नो पछिल्लो किर्तिमान तोड्दै नयाँ विश्व किर्तिमान कायम गरेका छन्।
यस पटक उनी यस वर्षको पर्वतारोहण सिजनको निम्ति डोरिबाट बाटो बनाउने टोलीको नेतृत्व गर्दै शिखरमा पुगेका हुन्।
उनी सहित १२ जना शेर्पा टाकुरामा पुग्न सफल भएका थिए। महामारिको कारण यस वर्ष हिमाल पर्यटनमा कमि भएता पनि पर्यटन विभागले सगरमाथाको लागि मात्र ४४ वटा आरोहण दलका १२ महिला र ३१५ पुरुष आरोहीको सुचीलाई अनुमति दिईसकेको छ।

श्रमिकको पारिश्रमिकमा वृद्धि
सरकारले १६ जुलाइदेखि श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँ हुने नियम लागु गर्न लागेको छ। यो चिया बगानका श्रमिकमा भने लागु हुँदैन।
यो पहिलाको भन्दा ५५० रुपैयाँले बढि हो।
हरेक दुई वर्षमा पुनरावलोकन हुनपर्ने न्युनतम पारिश्रमिक गत वर्ष कोरोना महामारीको कारण सरकारले तोकेको थिएन।
अबको नियम अनुसार श्रमिकको मासिक आधारभुत पारिश्रमिक ९,३८५ रुपैयाँ तोकिएको छ र महँगी भत्ता ५,६१५ रुपैयाँले बढाईएको हो। श्रमिकलाई यो भन्दा बढी जति पनि रकम दिन पाईने छ।




