Coming Up Thu 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio
एसबीएस नेपाली पोडकास्ट

नेपालमा रोपाइँको बेला कस्ता किसिमका गीतहरू गाइन्छ, थाहा छ?

Farmers dance and sing in a paddy field on National Paddy Day in Tokha village, on the outskirt of capital Kathmandu, Nepal, 29 June 2021. Source: EPA/NARENDRA SHRESTHA via AAP

नेपालमा यसै असार १५ गतेका दिन देशभर धान दिवस मनाइयो। यसरी धान रोप्दा गीतहरू गाउने चलन छ। यो संस्कृतिको बारेमा लोक-साहित्यविद् कुसुमाकर न्यौपानेसँग गिरीश सुवेदीले लिएको अन्तरवार्ता सुन्नुहोस्।

असारको महिना नेपाल भर धान रोपाई गरेर उत्सव मनाउने चलन रहिआएको छ। रोपाइँको समयमा कस्ता किसिमका गीतहरू गाइन्छ?

यो रोपाई गीतलाई असारे गीत पनि भनिन्छ र यो असार महिनामा खेतमा रोपाई गर्दा गाइने गीत हो। नेपालमा विशेष गरी तीन प्रकारका यी गीतहरू गाइन्छन् – वाली, असारे र रसिया (जसलाई काठे गीत पनि भनिन्छ)।

यस्ता गीतहरूको विषयवस्तु के कस्ता कुराहरूमा केन्द्रित हुन्छन्?

यी तीन वटै गीतमा विषयवस्तु विशेष गरी तीन किसिम कै आउँछन् । सामाजिक, धार्मिक, र अर्को सांस्कृतिक, जसमा यो पछिल्लो अलि प्रबल छ। धर्म संस्कृतिका विषय पनि समाजभित्रकै हुन् तर समाजभित्रको गीतमा विशेष गरी शृङ्गार, हाँसोलाग्दो अनि करुणाका र एकदम टिठलाग्दो कुराहरू पर्दछन्।

समाजमा देखिएका यस्ता पाटाहरूलाई असारे, वाली अथवा रसिया गीतका माध्यमबाट मानिसले व्यक्त गरेका हुन्छन्। असारे गीतमा भन्दा वाली गीतमा अलिकति धार्मिक विषयवस्तु बढी आउँछ, जस्तै कि - खेत बाली राम्रो होस्, भगवान्‌ले रक्षा गरिदिउन् भनेर प्रार्थनामुलक अभिव्यक्ति गीतको सुरु र अन्त्यमा गाइन्छ।

गाउँघरमा विशेष गरी यो गीत महिलाहरूले गाउँछन् र यो ठाउँ अनुसार पनि भर पर्छ। जस्तै गुल्मीतिर जानुभयो भने त्यहाँ असारे गीतलाई वाली भन्ने चलन पनि छ र त्योभन्दा पूर्वतिर आउनुभयो भने फेरि असारे गीत र वाली गीत छुट्टै भएको पाइन्छ। वाली गीत भक्तिमूलक प्रार्थनामूलक हुने भएका कारणले यसमा धार्मिक विषयवस्तु हुन्छ।

र, त्यस्तो गीत वृद्ध महिलाहरूले गाउने हुँदा उनीहरूलाई पहिलेको जमानामा घर मालिकले अथवा खेतका मालिकले विशेष गायनका लागि नै बोलाएर लैजाने चलन हुन्थ्यो। यस्तै हाम्रो खेतीपातीको र अर्म-पर्मको संस्कृति; अनि प्रेमका, हाँसो लाग्दा कुराहरू; दया करुणाका कुराहरू यी गीतका बोलहरूमा पनि आउँछन्।

यसका केही उदाहरण हुन सक्छन् कि? जस्तै भाका र लय कस्ता हुन सक्छन्?

यी तीन वटै गीतहरूका भाका फरक फरक छन् र असारे गीतको संरचनामा एउटा पङ्क्तीमा नै १६ वटा र अर्कोमा १६ वटा अक्षरहरू हुन्छन्। त्यसलाई पुनरावृत्ति गर्दै जाने चलन छ; र त्यो त्यसरी गाउँदा यसको एक किसिमको लय निर्धारण भएको पाइन्छ।

जस्तै एउटा रसिया रहेको छ-

के को पाटो के को पाटो
त्यही भोर्लाको पाटो
नखाको दुई दिन भएको
घाँसलाई काट्न आएको
डाँडा पाखा घुम्दा घुम्दै
केश पनि पाक्यो
यो दुखिया जीवन
घर बार नभई गाको

काठमाडौँ, सिन्धुली र त्योभन्दा पूर्वतिर यस्तो किसिमको रसिया गाउने चलन छ। यसै गरी यो गाउँदा खेतको गरामा बस्ने चलन छ।

कहाँकी हौ कुनी
एकैबारको जुनी
मरे माटोमुनि
बाँचे छँदै छ नि
के धन्दा मान्छौ?

भनेर त्यस्तो किसिमको रसिया गाउने खेतमा चलन छ।

हुन त यो रसिया १२ महिनाभरि गाउने गीत पनि हो र सँग-सँगै यो काम र खेती गर्दा गाउने गीत हो र यसको भाका पनि छुट्टै छ। यहाँ सम्झन पर्ने हामीले अर्को भाका हो असारे भाका र त्यसलाई अन्तिम पङ्क्तिमा दोहोर्‍याएर गाइन्छ।

न बाहिर खोक्रो न भित्र खोक्रो
गुलियो कसार
पूर्व ढोका खोलेर हेर्दा लागेछ असार

यस भाकाका १६ – १६ अक्षरले एउटा पङ्क्ति बनेको हुन्छ। अझ १६ दुना ३२ अक्षरको पङ्क्ति बनेको हुन्छ यसको। यसलाई गाउँदा कतिले ‘गुलियो कसार’ भन्दै पहिलो पङ्क्तिको अन्तिम शब्दहरू गाउँछन्। यसमा छ वटा अक्षरहरू दोहोर्‍याउन पर्ने हुन्छ, र चलन अनुसार सुरुमा ‘लागेछ असार, गुलियो कसार’ गाइन्छ।

लागेछ असार
न बाहिर खोक्रो
न भित्र खोक्रो
गुलियो कसार
गुलियो कसार
पूर्वै ढोका खोलेर हेर्दा
लागेछ असार

मान्छेहरू यस बेला यस्तो भाकाहरू गाउँछन् र यसरी अन्तिम पङ्क्तिमा छ वटा अक्षर दोहोर्‍याउने चलन छ। यो असारे गीतको यस्तो किसिमको भाका छ, अनि वाली गीत अलि अर्कै भाकामा गाइन्छ र त्यो महिलाहरूले मात्र गाउँछन्।

रसिया र असारे गीत अघि मैले भनेको पुरुष र महिला दुवैले गाउँछन्, यी दुइटै गीत (रसिया र असारे)मा दोहोरी पनि चल्छ; एकोहोरो पाराले पनि गाइराख्छन्, एक्लै पनि गाउँछन्, तर हली, बाउसे र खेताली मध्य दुई थरीको बिचमा दोहोरी चल्छ।

असारे र रसियामा र वाली गीतमा दोहोरी चल्दैन यो एकोहोरो मात्र हुन्छ। पाको महिलाहरूले मात्र यी गाउँछन्; जस्तै -

काली गाईको दूध सिलिभाङको चामलु
यहाँका देव भूमि भनेर दुधे धार दिउँला
यै खेतको धान धेरै धेरै बनाई देऊ
काली गाईको दूध सिलिभाङको चामलु
यहाँको माग फिरन दुवै धारा दिउँला
यही र खेतको धान धेरै धेरै बनाइदेऊ

यस्तो भनेर उनीहरू प्रार्थना गर्छन्। भगवान् देवी देवतासित सिमे भूमेसित प्रार्थना गरेपछि बल्ल असार गीत गाउन पाइन्छ। अनि बेलुका त्यसमा खेत रोपेर सिद्ध्याइसकेपछि बाटोमा पनि असारको रमाइलो गर्दै गीत गाउँदै आउँछन्।

घरमा आइसकेपछि यस्तै किसिमको प्रार्थना गरेर हात खुट्टा धोएर घरभित्र पस्छन्। यस्तो चलन छ असार महिनामा र यसरी राम्रोसित गाइने अनेक भाकाहरू छन्। तर तीन वटा गीतका तीन वटा भाकाहरू भित्रै यी प्रायजसो पर्ने गर्दछन्।

 

न्यौपानेसँग गिरीश सुवेदीले लिएको अन्तरवार्ता सुन्नुहोस्: 
नेपालमा रोपाइँको बेला कस्ता किसिमका गीतहरू गाइन्छ, थाहा छ?
00:00 00:00

 हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा नि:शुल्क यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ।

 

Coming up next

# TITLE RELEASED TIME MORE
नेपालमा रोपाइँको बेला कस्ता किसिमका गीतहरू गाइन्छ, थाहा छ? 01/07/2021 07:16 ...
देशभर भएका सडक दुर्घटनामा दर्जनौँको मृत्यु र रुपन्देहीमा प्रहरी र स्थानीय बिच झडप हुँदा कम्तीमा ४ जनाको ज्यान गयो : गत सात दिन नेपालमा 17/10/2021 06:00 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार १७ अक्टोबर २०२१ 17/10/2021 14:10 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार १५ अक्टोबर २०२१ 15/10/2021 06:40 ...
नेपाल: पूर्व राष्ट्राध्यक्षको दशैं सन्देशले फैलाएको तरङ्ग 14/10/2021 09:07 ...
“भारत मिडफिल्डमा निकै राम्रो छ, नेपालले पनि सर्ट बल खेलेर जाने रणनीति बनाउनु पर्छ” 14/10/2021 08:15 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार:बिहीवार १४ अक्टोबर २०२१ 14/10/2021 13:49 ...
प्रधानमन्त्री मोरिसनलाई जलवायु सम्बन्धी शिखर सम्मेलनमा भाग लिन राजकुमार चार्ल्सको दवाब 13/10/2021 05:10 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार १३ अक्टोबर २०२१ 13/10/2021 08:18 ...
रिसाएको फ्रान्स र अस्ट्रेलियामाथि परेको दूरगामी प्रभाव 12/10/2021 08:04 ...
View More