कोरोनाभाइरसका कारण विदेशमा अलपत्र परेका अस्ट्रेलियालीहरुको सट्टा धनी र प्रख्यात मानिसहरुलाई अस्ट्रेलिया प्रवेश गर्ने अनुमति मोरिसन सरकारले दिएको आरोप ग्रीन्स पार्टी द्वारा लगाइएको छ।
हाल अन्तर्राष्ट्रिय सीमा बन्द रहेका कारण अस्ट्रेलिया बाट बाहिर जान वा फर्कन सरकारी अनुमति लिनुपर्ने हुन्छ।
संघीय संसदको माथिल्लो सदनमा ग्रीन्स पार्टीका सभासद रहेका निक मककिमले सरकार द्वारा चलचित्र अभिनेता देखि, उद्योगपती र टेनिस खेलाडीहरुलाई समेत अस्ट्रेलिया प्रवेश गर्न दिइएको तर जोखिमपूर्ण अवस्थामा विदेशमा फसेका मानिसहरुलाई चाहिं रोकिएको आरोप लगाएका छन्।
अस्ट्रेलियाली सीमा सुरक्षा बलका प्रमुख माइकल ओट्राम का अनुसार गत ज्यानुवरी महिनामा आयोजना भएको अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताका लागि उनले ८६९ खेलाडीहरु लगायत थप १६० प्राविधिक र संचारकर्मीहरुलाई यात्रा प्रतिबन्ध बाट छूट दिएका थिए।
साथै टेनिस खेलाडीहरुका परिवारका आठ जनालाई पनि अस्ट्रेलिया प्रवेश गर्ने अनुमति आफुले दिएको ओट्राम ले बताए।

सोमबार राति संसदीय सुनवाईको क्रममा यसबारे कडा प्रतिक्रिया दिंदै ग्रीन्स सभासद मककिम ले भने, "यदि कोहि धनी वा प्रख्यात छन् भने, उनिहरु आफ्नो चाहना बमोजोम आउनसक्ने, वा यात्रा मापदण्डमा उनिहरुले छूट पाउदछन्।"
"तर यदि कोहि आफ्नो परिवार बाट बिछोडिएका मानिस छन् भने, त्यो उनिहरुको दुर्भाग्य हुने छ।"
गत वर्षको मार्च महिनामा अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा बन्द भएदेखि अहिले सम्म करिब ४५ हजार अस्ट्रेलियालीहरुलाई स्वदेश फर्कन सहयोग गरिसकेको विदेश मामिला बिभागको भनाइ छ।
तर अझै ४० हजार अस्ट्रेलियालीहरु घर फर्कने पर्खाइमा रहेको पनि अधिकारीहरु बताउछन्।
सभासद मककिम भन्छन उनको कार्यालय समक्ष आएका जानकारीहरुका अनुसार हाल ६३ जना बालबालिकाहरु महामारीका कारण आफ्ना परिवारहरु बाट छुट्टिन पुगेका छन्। ती मध्ये प्रायः बालबालिकाहरु आफ्नो आमा वा बुबा बाट छुट्टिन पुगेको उनको भनाइ छ।
जसअन्तर्गत या त बालबालिकाहरु विदेशमा रहेको र उनिहरुको आमा वा बाबु अस्ट्रेलियामा रहेको वा बालबालिकाहरु यहाँ रहेको र आमा वा बुबा विदेशमा रहेको अवस्था रहेको मककिम बताउछन्।
तर सीमा बलका प्रमुख ओट्राम के चाहिं आफ्नो बिभागले बालबालिकाहरुलाई आफ्ना आमा बुबासंग भेटाउने काम गरेको जोड दिएका छन्।
"अस्ट्रेलियाली नागरिकता रहेका बालबालिकाहरुलाई स्वदेश फर्कन दिएका छौं, तर अस्थायी भिसामा रहेका बालबालिकाहरुको मामिलामा चाहिं आमा बुबानै विदेश जानसक्ने," बताउछिन् सीमा बल कि सह-सचिव साण्ड्रा जेफ्री।

१८८ व्यापारी भिसा
ग्रीन्स सभासद निक मककिम ले १८८ ब्यापारी भिसाको प्रयोग गर्दै मानिसहरु अस्ट्रेलिया प्रवेश गरिरहंदा, विदेशमा अलपत्र परेका अस्ट्रेलियालीहरुको संख्या पनि बढ्दै जानसक्ने चिन्ता व्यक्त गरेका छन्।
"धेरै परिवारहरुले पटक पटक, यात्रा प्रतिबन्ध बाट छूट दिन भनि हालेका आवेदन अस्विकार भैरहेका छन्," उनि भन्छन्।
"१८८ भिसा रहेका धनी व्यापारीहरु जो आफ्नो चाहना अनुसार अस्ट्रेलिया बाट बाहिर जान वा प्रवेश गर्न पाउदछन, त्यस्तै नियम विदेशमा फसेका अस्ट्रेलियालीहरु माथि किन लागु हुननसक्ने उनले प्रश्न गरे।
यस्तो यात्रा मापदण्ड "अमानविय" रहेको निक मककिम ले आरोप लगाए।
