Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियामा महामारीका कारण झन्डै ७५ प्रतिशत नेपाली आप्रवासीहरूले जागिर गुमाए

Nepal Festival Melbourne 2018

कोरोना महामारीका बेला अस्ट्रेलियामा सरकारी अनुदानबाट वञ्चित रहेका नेपाली अस्थायी भिसावाहकहरू, आर्थिक रूपमा सबैभन्दा बढी मारमा परेको हुन सक्ने बारे थप अनुसन्धान सुरु भएका छन्।


Published

Updated

Source: SBS




Share this with family and friends


कोरोना महामारीका बेला अस्ट्रेलियामा सरकारी अनुदानबाट वञ्चित रहेका नेपाली अस्थायी भिसावाहकहरू, आर्थिक रूपमा सबैभन्दा बढी मारमा परेको हुन सक्ने बारे थप अनुसन्धान सुरु भएका छन्।


कोभिड-१९ का कारण अस्ट्रेलियामा अस्थायी भिसा अन्तर्गत रहेर काम गर्ने महिला लगायत अन्य आप्रवासीहरू धेरै प्रभावित भएका छन् र ती मध्ये नेपाली विद्यार्थी लगायत कामदारहरू पनि ठुलो सङ्ख्यामा रहेको बताइएको छ।

यसबारे अनुसन्धानमा समलग्न मेलबर्न निवासी रोजी अर्याल लीजले चाहिँ महामारीका कारण धेरै महिलाहरूको आय पनि घटेको बताएकी छिन्।

आप्रवासी तथा शरणार्थी महिलाहरूको स्वास्थ्यमा केन्द्रित रहेर काम गरेकी अर्याल लीजले यसबारे आफूले हालसालै सुरु गरेको अनुसन्धानका क्रममा उक्त कुरा पत्ता लागेको बताएकी हुन्।

Rosy Aryal Lees is Monash University researcher
Rosy Aryal Lees is a PhD Candidate in Anthropology at the Monash University's School of Social Sciences Source: Rosy Aryal Lees

मोन्यास विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिधि गर्ने सिलसिलामा - हाल उनले नेपाली पृष्ठभूमिका केही आप्रवासी महिलाहरूसँग गरिएको कुराकानीलाई आधार बनाएर - आफ्नो अध्ययनलाई अगाडी बढाउँदै छिन्।

अर्याल लीज भन्छिन् कि विशेष गरेर हस्पिट्यालिटी र खुद्रा व्यापारको क्षेत्रमा थुप्रै महिलाहरूले काम गर्ने र यी दुवै उद्योगहरू कोरोना महामारीका कारण अत्यधिक प्रभावित भएकाले उनीहरू मध्ये धेरैले आफ्नो जागिर गुमाए।

"उनीहरूले काम गर्ने उद्योगहरूमा कोभिड-१९ का कारण धेरै नै रोजगारीहरू गुमे," उनले एसबीएस नेपालीसँग भनिन्।

"सँगसँगै महिलाहरूको 'अनपेड' काम भने बढ्यो।"

रोजी अर्याल लीजसँगको कुराकानी सुन्नुहोस्: अस्ट्रेलियामा महामारीका कारण झन्डै ७५ प्रतिशत नेपाली आप्रवासीहरूले जागिर गुमाए हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

यस बारे अनुसन्धानकर्ता रोजी अर्याल लीज थप अर्थ्याउँदै भन्छिन् कि बिना पारिश्रमिकको काम भनेको घरेलु काम नै हो जुन लकडाउनका बेला घरमा सबै जना जम्मा हुँदा बढ्यो।

"उदाहरणको लागि, केटाकेटीहरू स्कुल नगएपछि, उनीहरूलाई दिनभर हेर्नुपर्‍यो," उनले भनिन्।

यसै गरी अस्थायी आप्रवासीहरूलाई पनि महामारीका कारण निकै गाह्रो भएको उनको ठम्याइ छ।

जागिर गुमाएका स्थायी बासिन्दा तथा नागरिकहरूले जबकीपर र ज‍बसीकर जस्ता सामाजीक सुरक्षा अन्तर्गतका सरकारी भत्ताबाट केही मात्रामा भए पनि राहत पाउँदा, अस्ट्रेलियामा रहेका अस्थायी भिसावाहकहरू यस्ता सरकारी अनुदानबाट वञ्चित रहे।

रोजी अर्याल लीज भन्छिन् कि सङ्घीय सरकारले सेन्टरलिङ्कबाट भुक्तान हुने थुप्रै भत्ताहरूको दायरा र दर दुवै बढाउँदा पनि अस्ट्रेलियाली अत्यावश्यक सेवामा काम गर्ने तर अस्थायी बासिन्दाहरूको बेवास्ता ठिक होइन।

"सपोर्ट नभएकै कारणले पनि उनीहरू रिस्क लिएर पनि काम गर्छन्, बिरामी भए पनि उनीहरू काम गर्न जान्छन्" उनले भनिन्।

"पर्मानेन्ट रेजिडेन्ट र सिटीजनहरुलाई चाहिँ पैसा दिएर घरमै बस भन्ने सरकारको नीति जनस्वास्थ्यको दृष्टिकोणबाट हेर्दा मलाई ठिक लागेन।"

"सन् २०१६ को राष्ट्रिय जनगणना अनुसार एज्ड केयर, हस्पिट्यालिटी अनि क्लिनिङ अस्ट्रेलियामा रहेका नेपालीहरूले काम गर्ने प्रमुख उद्योगका रूपमा रहेका छन्।

रोजी अर्याल लीज भन्छिन् कि कोभिडका कारण सरसफाइ र वृद्ध स्याहार सम्बन्धी काम अत्यन्त जोखिम युक्त थियो भने हस्पिट्यालिटीमा धेरै नै रोजगारीका अवसरहरू गुमे।

कोरोनाभाइरस महामारी पूर्वको अवस्थामा अन्य मुलुकमा जन्मेका आप्रवासीहरूभन्दा, नेपालमा जन्मेकाहरूको रोजगारी दर अस्ट्रेलियामा उच्च थियो।

तर, न्यु साउथ वेल्स स्थित दुई विश्वविद्यालयहरू र आप्रवासी कामदारहरूको न्यायका लागि कार्यरत एक संस्था मिलेर गरिएको एक अनुसन्धानको हवाला दिँदै उनी भन्छिन् कि कोभिड-१९ का क्रममा झन्डै ७५ प्रतिशत अस्थायी भिसामा रहेका नेपालीहरूले आफ्नो रोजगारी गुमाए वा काम गर्ने अवधि घटेको पाए।

उक्त रिपोर्टका अनुसार रोजगारी गुमाउने वा आफ्नो कामको अवधि घटेको अनुभव गर्ने अस्ट्रेलियामा बसोबास गर्ने अन्य समुदायको औसत दर भने जम्मा जम्मी ३३ प्रतिशत मात्रै थियो।

अर्याल लीज यो तथ्यलाई नेपालीहरूले अन्य आप्रवासी समुदायको तुलनामा धेरै आय गुमाएको रूपमा लिनुपर्ने बताउँछिन्।

"७५ प्रतिशतले रोजगारी गुमाएको भन्दा चाहिँ हामीले यसलाई रोजगारीका अन्य क्षेत्रमा भन्दा हस्पिट्यालिटी भनेर बु‌झ्न जरुरी छ," उनले भनिन्।

Nepali in Melbourne
Source: SBS Nepali

नेपालबाट आउने अधिकांश विद्यार्थीहरूका लागि अस्ट्रेलिया - यहाँ काम गरेरै आफ्नो पढाइको शुल्क तिर्न सकिन्छ भन्ने मानसिकताका कारण - एक लोकप्रिय गन्तव्यका रूपमा रहेको पनि उनले बताइन्।

तर, कम कमाई हुने उद्योगमा काम गर्ने र त्यसमा पनि अस्ट्रेलियाली कानुन अनुसार पाउनुपर्ने तलब सुविधा बारेमा राम्रो ज्ञान नहुँदा थुप्रै विद्यार्थी लगायत अस्थायी भिसामा रहेका आप्रवासीहरू ठगिने समस्या पनि धेरै नै रहेको रोजी अर्याल लीजको भनाई छ।

"एज्ड केयरमा कम आय हुन्छ भने हस्पिट्यालिटी र क्लिनिङमा त वेज थेफ्ट हुन्छ," उनले भनिन्।

"वेज थेफ्ट भनेको कम्तीमा पनि नियम सङ्गत रूपमा पाउनुपर्ने तलब सुविधा, सुपरएन्नुएसन, पेनाल्टी रेट प्राप्त नगर्नु हो र यो धेरैजसो 'क्यास इन ह्यान्ड जब'मा हुन्छ।"

यस बाहेक, अस्थायी भिसामा रहेकाहरूले क्याजुअल काममा बिरामी बिदा लगायतका सुविधाहरू प्राप्त नगर्ने हुँदा, अस्वस्थ अवस्थामा पनि काममा जानु पर्ने बाध्यता थुप्रैको रहेको आफ्नो नयाँ अनुसन्धानले देखाएको रोजी अर्याल लीजले बताइन् ।

प्रारम्भिक चरणमा रहेको उनको अनुसन्धान भने हाल अस्थायी भिसामा रहेका नेपाली महिलाहरूमाथि कोभिड र लकडाउनले पारेको असरका बारेमा रहेको छ।

आफ्नो अनुसन्धानका क्रममा उनले एज्ड केयर क्षेत्रमा काम गर्ने नेपाली पृष्ठभूमिका महिलाहरूले भने अन्य सबैको तुलनामा, महामारीका कारण रोजगारीको अवसर धेरै प्राप्त भएको देखिएको अर्याल लीजले बताइन्।

"मेरो रिसर्च भर्खरै सुरु भएकाले यो यसै हो भनेर भन्न सक्ने स्थिति अहिले नै छैन, यसबारे थप अनुसन्धान आवश्यक छ," उनले स्पष्ट पार्दै भनिन्।

साथ-साथै, यसरी एज्ड केयरमा काम गर्ने महिलाहरूले अतिरिक्त सिफ्ट बापत थप आय आर्जन गरेता पनि हप्ता ७० घण्टाभन्दा बढी खटिएर त्यसको मूल्य चुकाउनु परेको तथ्य र घरमा नै बेरोजगार भएर बसेका पुरुषहरूका हकमा भने उनीहरूको मानसिक स्वास्थ्य महामारीका क्रममा निकै प्रभावित भएको पनि सबैले बुझ्नुपर्ने उनको भनाई छ।

आफ्नो उक्त रिसर्चमा भाग लिन उनले अस्थायी भिसामा रहेका नेपाली महिलाहरूलाई अनुरोध पनि गरेकी छन् र यदि तपाईँलाई पनि सो अनुसन्धानमा भाग लिन मन छ भने हामीलाई यहाँ सम्पर्क गर्न सक्नुहुनेछ

 

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now