अस्ट्रेलियाली अध्यागमन प्रक्रिया प्राय लामो, झन्झटिलो र जटिल हुने गरेको धेरै मानिसहरूको अनुभव छ।
ब्लेज इताबेलो कङ्गोबाट अस्ट्रेलिया एक शरणार्थीका रूपमा आए र हाल उनी एक माइग्रेसन एजेन्टका रूपमा कार्यरत छन्।
कोरोनाका कारण थपिएको समस्या
उनका अनुसार, अङ्ग्रेजी भाषामा राम्रो दक्खल हुने मानिसहरू आफू स्वयम्ले नै आफ्नो आवेदन हाल्न सक्छन्, तर दर्ता भएका माइग्रेसन एजेन्ट प्रयोग गर्दा कानूनी आवश्यकताहरू परिपूर्ति भएको सुनिश्चित गर्न सहज हुन्छ।
"कहिले काहीँ तपाईँबाट के खोजीेएको हो बुझ्नै सकिन्न। समस्या आउने त्यहीँबाट हो," उनले भने।
इताबेलोका अनुसार कोरोनाभाइरस महामारीका कारण भिसा प्रक्रिया अकल्पनीय रूपमा लम्बिएको छ, जसका कारण मानिसहरूमा तनाव पनि बढेको छ् - विशेष गरी प्रविधि बारे राम्रो ज्ञान नभएका माझ।
"अस्थायी भिसामा भएकाहरूलाई झन् गाह्रो छ, उनीहरू न त घरै फर्किने अवस्था छ, न त अन्त कतै जाने," उनी भन्छन्।

रेफ्युजी एड्भाइस एन्ड केसवर्क सर्भिस (आरएसीेेएस) भनिने शरणार्थी सल्लाह तथा मामिला सेवाले निःशुल्क कानूनी सल्लाह, सहायता र आर्थिक रूपबाट वञ्चित र कमजोर शरणार्थीहरूका लागि प्रतिनिधित्व गर्ने काम गर्छ।
उक्त केन्द्रकी मुख्य अधिवक्ता तथा प्रबन्धक सेरा डेल भन्छिन् कि यदि कुनै आवेदकको भिसा अस्वीकार गरियो भने, अन्तिम परिणाममा पुग्नु अघि ती व्यक्ति सम्भावित रूपमा थुप्रै प्रक्रियाहरूबाट जान सक्छ।
त्यसैले उनी विश्वास राख्छिन् कि शरणार्थीलाई जटिल कानूनी प्रणालीमा हिँड्न कानुनी प्रतिनिधित्व हुनु आवश्यक छ।
उनी स्पष्ट पार्दै भन्छिन्, "यदि कुनै शरण खोजी गर्ने मानिस डुङ्गाबाट अस्ट्रेलिया आए र गृह मामिला मन्त्रालयले ती व्यक्तिलाई वास्तविक शरणार्थीको मान्यता दिएन र उनले एप्लाई गरेको भिसाको लागि अयोग्य ठहर गर्यो भने साधरणतया त्यसता मुद्दा ईम्मीग्रेसन असेस्मेन्ट अथोरिटी (आईएए) पठाइन्छ।"
"नत्र भने, उक्त निर्णय बिरूद्द एड्मिनिस्ट्रेटिभ अपिल्स ट्राईब्युनल (एएटी)मा अपिल गर्न सकिन्थ्यो।"
डेलका अनुसार, आईएए वा एएटीले मन्त्रालयको निर्णयलाई सदर गरिदियो भने आवेदकको एक मात्र बाँकी विकल्प भनेको अदालत गएर न्यायिक समीक्षाको मार्ग लिनु हो।
"अनि तपाईँले त्यो निर्णयका विरुद्ध अपिल गर्दा तीन तहका अदालतको चक्कर काट्नुपर्ने हुनसक्छ।"
माइग्रेसन एजेन्ट, दर्ता र नियमन

डिसेम्बर ३१, २०१९ सम्म अस्ट्रेलियाभर विधिवत् रूपमा ७,२४९ जना माइग्रेसन एजेन्टहरूको नाम दर्ता भएको छ जसमा ३० प्रतिशत जति कानूनी सल्लाह पनि दिन्छन्।
यी दर्ता भएका माइग्रेसन एजेन्टहरूलाई ओमारा वा गृह मामिला विभागद्वारा सञ्चालित माइग्रेसन एजेन्ट रेजिष्ट्रेसन अथोरिटीले नियमन गर्छन्।
अनि, भर्खरै संशोधन भएको आप्रवासन सम्बन्धी एक कानुन अनुसार, वकिलको रूपमा काम गर्ने व्यक्तिले माइग्रेसन एजेन्टको लागि छुट्टै दर्ता नगरीकन पनि मानिसहरूलाई अध्यागमन सम्बन्धी सल्लाह दिन सक्नेछन्।
तर, अन्य मानिसहरूको हकमा भने, बिना दर्ता अरूलाई आप्रवासन सम्बन्धी सल्लाह कानूनी रूपमा दिेेन मिल्दैन।

अस्ट्रेलियामा नै रहेर अध्यागमन सेवा प्रदान गर्दै आएकी जोहन्ना नोनाटो भन्छिन् कि विदेशमा रहेर कथित रूपमा एजेन्ट भनाउँदाहरूले ओमाराको नीति तथा नियमको भित्र बसेर काम गर्नुपर्ने हुँदैन।
"अब, यहीँ अस्ट्रेलियामा बसेर नै त्यस्तो गर्ने मानिस नभेटिने त होइन, तर विदेशमा रहेका थुप्रैले त्यसो गरिरहेका छन्," उनी भन्छिन्।
नोनाटोले यसो भन्दै अस्ट्रेलिया बाहिर रहेका केही योग्य नर्सहरूले अध्यागमन सम्बन्धी सल्लाह विदेशी माइग्रेसन एजेन्टहरूबाट लिएको एउटा घटना तर्फ इङ्गित गरिन्।
त्यस घटनामा के भएको थियो भन्दा, ती नर्सहरूलाई वर्षमा ३५,००० डलर पर्ने ब्याचेलर कोर्स पढ्न सल्लाह दिइएको थियो।
जबकि उनीहरूले आफ्नो पूर्व योग्यताका कारण, अस्ट्रेलियाली नर्सिङ दर्ताका लागि जम्मा तीन महिने ब्रिजिङ्ग कोर्स गरे पुग्ने थियो।
अरू त अरू, स्थायी बसोबासका लागि चाहिने आवश्यक अङ्क पुगे, उनीहरूले सिधै त्यसका लागि पनि आवेदन दिन सक्थे।

"यसलाई नक्कली काम त भन्न मिल्दैन, खासमा भन्ने हो भने, त्यो उनीहरूको शिक्षा बेच्ने व्यवसाय हो।"
यसका अलावा, नोनाटो अस्ट्रेलियामा काम दिलाइदिन्छु भन्ने अवैध एजेन्टहरूबारे पनि सतर्क हुनुपर्ने बताउँछिन्।
अस्ट्रेलियामा वर्क भिसामा काम गर्न आउने मानिसहरूको लागि चाहिँ, उनीहरूको सिप अनुसारको काम स्किल्स लिस्टमा उल्लेखित हुनुपर्ने उनी बताउँछिन्।
"उनीहरूले तपाईँको तर्फबाट भिजिटर भिसाका लागि आवेदन दिएका हुन सक्छन्। त्यो भिसाले तपाईँलाई अस्ट्रेलियामा काम गर्ने अनुमति दिँदैन र काम खोज्ने बेलामा मात्र तपाईंले आफू ठगिएको थाहा पाउनहुन्छ।"
डेल भने, सस्तोमा सेवा दिने कोही दर्तावाल माइग्रेसन एजेन्ट छन् कि भनेर यता उता बुझ्न सल्लाह दिन्छिन्।
उनी भन्छिन् कि स्क्यामरहरू प्राय: सफल भिसा परिणामहरूको आश्वासन दिन्छन् तर अस्ट्रेलियामा त्यस्तो शक्ति भएका एक मात्र व्यक्ति भनेका अध्यागमन मन्त्री हुन्।

जोहन्ना नोनाटोका अनुसार ओमाराको आचार संहितामा माइग्रेसन एजेन्टहरूले हरेक वर्ष वृत्ति विकासका लागि आयोजना हुने तालिममा भाग लिनुपर्छ।
त्यसका साथै, ओमाराले दर्ता भएका माइग्रेसन एजेन्टहरूको ब्याङ्क खाता माथि पनि आँखा राख्छ र उनीहरूले पाउने शुल्क ग्राहक खातामा राखिएको नराखिएको हेर्छ।
दर्ता नगरी व्यवसाय चलाउने माइग्रेसन एजेन्टहरू चिन्न सजिलै छ
उता, इताबेलोका अनुसार चाहिं दर्ता नगरी व्यवसाय चलाउने माइग्रेसन एजेन्टहरू चिन्न सजिलै छ, कि त उनीहरूले एकदमै धेरै पैसा लिन्छन्, कि त एकदमै कम।
अस्ट्रेलियामा कार्यरत कोही माइग्रेसन एजेन्ट दर्तावाल हुन कि होइनन् भनेर थाहा पाउन सबैभन्दा सजिलो र भरपर्दो उपाय भनेको ओमाराको वेबसाइट चेक गर्नु नै हो।

पञ्जीकृत वा दर्ता भएका माइग्रेसन एजेन्टहरू माथि नियामक संस्थाको नजर हुन्छ र उनीहरूले अस्ट्रेलियामा आचार संहिताको पालना गर्नुपर्ने हुन्छ।
उनी भन्छन् कि, दर्ता भएका माइग्रेसन एजेन्टहरूले लिखित रूपमा आफ्नो ग्राहकहरूको निर्देशनहरुलाई पुष्टि गर्न एक सम्झौतामा हस्ताक्षर गर्नुपर्छ।
"अब, नक्कली एजेन्टहरूको कुरा गर्दा उनीहरूले कानूनी रूपमा जबाफदेही हुन प्रशिक्षित नहुने हुँदा उनीहरूले त्यस्तो लिखित नै गर्दैनन्," ब्लेज इताबेलो अगाडी भन्छन्।
"तपाईँ र तपाईँको एजेन्ट बिच करार हुनै पर्छ।"
गुनासो र उजुरी

यदि मानिसहरूलाई आफ्नो माइग्रेसन एजेन्टले झुक्क्याएको वा चाहिने जति सहयोग नपुर्याएको जस्तो लाग्छ भने त्यसता एजेन्टको बारेमा ओमारालाई खबर गर्न सेरा डेल सल्लाह दिन्छिन्।
त्यस प्रकारको गुनासो लिगल सर्भिसेस कमिसनर समक्ष पनि गर्न मिल्छ।
तर, ओमाराको पछिल्लो वार्षिक प्रतिवेदन अनुसार माइग्रेसन एजेन्टहरू विरुद्ध परेका उजुरीहरू मध्ये करिब ७० प्रतिशत खारेज भएका थिए।
यसरी ठुलो मात्रामा उजुरी खारेज हुनुको प्रमुख कारणमा, कि त सबुत प्रमाणको कमी कि त ओमाराको कार्यक्षेत्र - अस्ट्रेलिया भन्दा बाहिर रहेर कार्यरत एजेन्टहरू हुनु रहेको सो रिपोर्टले देखाएको थियो।
"अरू देशलाई यसो गर, उसो गर भन्ने कुरा भएन, त्यसैले त्यस्ता निम्न कोटीका एजेन्टहरू जहाँ छन्, तिनै मुलुकले त्यहाँ प्रचलित कानुन बमोजिम उनीहरूलाई कार्वाहि गर्नुपर्छ," नोनाटो भन्छिन्।
प्रारम्भिक संवाद अध्यागमन वकिलसँग भएको हो भने, ३०० डलरसम्म र कनिष्ठ एजेन्टसँग भएको भए १०० डलर औसत रूपमा लाग्ने उनको भनाई छ।
अनि, सोही प्रकारले तपाईँले आवेदन दिने भिसा हेरी , भिसा प्रोसेसिङ्ग शुल्क लाग्ने जोहन्ना नोनाटो बताउँछिन्।
"कुनै पिआर भिसाको शुल्क ३,००० डलर लाग्छ भने कुनैको ५,००० डलर - भिसा प्रक्रिया जति लामो हुन्छ, त्यही अनुपातमा शुल्क बढ्छ।"
"कन्सल्टेन्सी चलाउनेहरूले शैक्षिक संस्थाहरूबाट कमिसन पाउने र भिसा बारे सल्लाह दिन अनुमति नरहेका कारण उनीहरूले साधरणतया विद्यार्थी भिसा अप्लाइ गरेको पैसा लिँदैनन्," नोनाटोले भनिन।
आफू स्वयम्ले नै भिसा सम्बन्धी काम गर्न लाग्नु भएको छ भने पनि, प्रक्रियाको सुरुमा एक पटक माइग्रेसन एजेन्ट (दर्ता भएका)सँग सम्पर्क गरी आफू सही बाटोमा हिँडेको बारे निश्चित गर्न उनी सुझाव दिन्छिन्।

कृपया नोट गर्नुहोस् कि यस लेखमा दिइएका टिप्पणीहरू सामान्य सल्लाह मात्र हुन् र सबै परिस्थितिहरूमा लागू हुँदैन। यदि तपाईँ आफ्नो भिसा स्थिति को बारे मा चिन्तित हुनुहुन्छ भने, सकेसम्म चाँडो कानुनी सल्लाह खोज्नु नै उत्तम हुनेछ।आफू ठगिएको ठान्नुभएको छ भने बोर्डर वाच अनलाइन रिपोर्टमा गएर उजुरी दिनुहोस्।
