अस्ट्रेलियाली भिसा रद्द हुने प्रमुख कारण भनेको तपाईँलाई उक्त भिसा प्रदान गर्दा लागू भएका शर्तहरुको पालना नगर्नु नै हो।
त्यसै गरी, चरित्रमा आँच आउने काम गर्नुभयो वा भिसा आवेदन हाल्दा झुटो जानकारी दिनुभयो भने पनि तपाईँको अस्ट्रेलियाली भिसा रद्द हुने बताउँछन् टिम मडीगान।
क्विन्सल्याण्डको गैर नाफामूलक रेफ्युजी एन्ड इमिग्रेसन लिगल सर्भिसमा एक माइग्रेसन एजेन्ट तथा कानूनी सल्लाहकारका रूपमा कार्यरत मडीगान भन्छन्, “भिसा क्यन्सेल हुँदा साथ उक्त भिसा धारकलाई एक गैरकानूनी गैर नागरिकको रूपमा तोकिन्छ।”
“अनि, त्यस्ता व्यक्तिलाई इमिग्रेसन डिटेन्सनमा राखेर अस्ट्रेलियाबाट निष्कासित गर्ने प्रक्रिया सुरु हुन्छ।”
उनका अनुसार, गृह मामिला मन्त्रालयबाट भिसा रद्द गर्ने आशयको पत्र पाउनासाथ कानूनी सल्लाह लिइहाल्नु उचित हुन्छ किनकि उक्त पत्रको जवाफ त कहिले काहीँ दुई दिन भित्रै पनि बुझाउनु पर्ने हुन्छ।
उता, लिगल एड न्यु साउथ वेल्सकी अधिवक्ता केट बोन्सको कुरा मान्ने हो भने, गलत सूचना दिएको आधारमा तपाईँको भिसा अस्ट्रेलियाली नागरिकताका लागि आवेदन हाल्नु ठिक अघिसम्म पनि रद्द हुनसक्छ।
बोन्सका अनुसार, विगत केही वर्ष यता विशेष गरी शरणार्थी तथा शरण खोज्ने मानिसहरूले भिसाका लागि आवेदन हाल्दा बुझाएका सम्पूर्ण कागजातहरूमा गृह मामिला मन्त्रालयले विशेष चासो दिन थालेको छ।
उनी भन्छिन् कि केही खास समुदायका मानिसहरूले भिसाका लागि बुझाइने कागजातहरूमा आफ्नो जन्म मिति जस्ता कुराहरूमा जोड नदिँदा समस्यामा पर्ने गरेका छन्।

सिड्नी स्थित मक्वारी विश्वविद्यालयमा सोसल जस्टिस क्लिनिक स्थापना गर्ने डा ड्यानिएल घेजेलब्याशले शरणार्थी तथा शरण खोज्ने मानिसहरूलाई कानूनी सल्लाह प्रदान गर्छन्।
घेजेलब्याश भन्छन्, “१२ महिना वा सो भन्दा बढीको जेल सजाय पाउनुभयो भने स्वतः तपाईँको भिसा रद्द हुने प्रक्रिया सुरु हुन्छ।”
उनका अनुसार त्यस समस्याको उपचारका लागि तपाईंले सोझै अध्यागमन मन्त्रीलाई गुहार्नुपर्ने हुन्छ।
“तर, त्यो प्रक्रिया पुरा नहुन्जेल तपाईंले सम्पूर्ण समय इमिग्रेसन डीटेन्सनमा बिताउनुपर्ने हुनसक्छ र कहिलेकाहीँ त प्रक्रिया पुरा हुन वर्षौँ वर्ष लाग्न सक्छ।”
पारिवारिक हिंसाका पीडितहरूलाई जीवनसाथीहरूले उनीहरूका भिसा रद्द गरिदिने धम्कीहरू पनि आजकाल सुनिन थालेको छ।

केट बोन्स भन्छिन् कि त्यस्ता दुर्व्यवहार गर्ने जीवनसाथीहरूलाई कानुनी रूपमा तपाईँको भिसा रद्द गरिदिने अधिकार हुँदैन।
उनका अनुसार, यदि तपाईँ डिपेन्डेन्ट भिसामा हुनुहुन्छ र आफ्नो हिंसात्मक जीवनसाथीलाई त्याग्न चाहना गरिरहनु भएको भए, यो जान्न निकै महत्त्वपूर्ण छ कि अध्यागमन विभागले त्यस्ता भिसा धारकका भिसा रद्द नगर्ने नीति अवलम्बन गरेको छ।
“त्यस्ता व्यक्तिहरूले आफ्नो अवस्था बारे अध्यागमन विभागलाई जानकारी दिन निकै जरुरी छ।”
रद्द हुने भिसाको प्रकृति हेरेर, त्यसलाई सम्बोधन गर्ने निकाय अस्ट्रेलियामा फरक-फरक छन्।
तर, साधरणतया मानिसहरूलाई एडमिनिस्ट्रेटिभ अपिल्स ट्राइब्युनल (एएटी) मार्फत अपिल गर्न सक्ने अधिकार रहने घेजेलब्याश बताउँछन्, यदि उनीहरूको भिसा माइग्रेसन एक्ट अनुसारको सेक्सन ५०१ अन्तर्गत रद्द वा अस्वीकृत भएको हो भने।
“एडमिनिस्ट्रेटिभ अपिल्स ट्राइब्युनलमा के हुन्छ भने, त्यहाँ मन्त्रीको सट्टा स्वतन्त्र सदस्यहरूले तपाईंको मामिलाका सबै पक्ष हेर्छन् र तपाईंको भिसा रद्द वा अस्वीकृत न्यायसङ्गत थियो त भनेर हेर्छन्।”
एएटीको फैसला तपाईँकै हकमा हुन्छ भनेर भन्न सकिन्न। यदि सो फैसला चित्तबुझ्दो नभए के गर्न सकिन्छ त भन्ने प्रश्नमा डा ड्यानिएल घेजेलब्याश भन्छन्, “ तपाईँको भिसा रद्द गर्ने एएटीको फैसलामा कानूनी त्रुटि छ कि भन्ने निकै साँघुरो धरातलमा उभिएर तपाईंले फेडेरल सर्किट कोर्टमा न्यायिक समीक्षा खोज्न सक्नुहुन्छ।”

५० भन्दा बढी मामिलाहरूको फैसला गरेका ट्राइब्युनल सदस्यहरूको विश्लेषण गर्दा, अपिलको नतिजा तपाईँको मुद्दा कसले हेरेको छ, सो अनुसार त्यसको फैसला हुने उनी बताउँछन्।
“मैले के पाएँ भन्दा - दुई जनाले त कहिल्यै पनि शरणार्थीको हकमा आफ्नो फैसला नै सुनाएनन्। अनि अर्का एक जनाले चाहिँ ८६ प्रतिशत अपिलहरूमा शरणार्थीलाई जिताई दिए।”
टिम मडीगान भने भिसा म्याद सकिन लागेका मानिसहरूलाई कानुन सम्मत रूपमा अस्ट्रेलिया रहन ब्रिजिङ्ग भिसाको लागि आवेदन फाराम भर्न सल्लाह दिन्छन्।
आफ्नो अपिल माथि एएटीको फैसला तपाईँले कुरेर बस्नुभएको छ भने ब्रिजिङ्ग भिसाको लागि आवेदन हाल्नु निश्चय पनि कानूनी रूपमा अस्ट्रेलियाको आफ्नो बसाइ लम्ब्याउने एक तरिका हुनसक्छ।
विशेष गरेर कोरोनाभाइरस महामारीका कारण अन्तर्राष्ट्रिय सीमाहरू बन्द र हवाई सेवा पनि ठप्प भएका बखत, कतिपयलाई अस्ट्रेलियामा नै अझ केही समय बस्नुपर्ने हुनसक्छ।
अनि ब्रिजिङ्ग भिसा त्यसका निम्ति सहज कानूनी बाटो।
त्यसै गरी रेड क्रसले तपाईँको भिसा के कसो छ नभनी सामाजिक सेवा विभागसँगको समन्वयमा खाना तथा केही आर्थिक सहयोग पनि प्रदान गर्ने गरेको उक्त सङ्गठनकी आप्रवासन सहायता कार्यक्रम प्रमुख विक्की माउले बताइन्।

“यो एकदमै ठुलो राशि जस्तो लाग्दैन तर हामीलाई के थाहा छ भने कतिपय परिवार खाना र औषधी मध्ये एक छान्नु पर्ने स्थितिमा थिए वा आफ्नो घर भाडा कसरी तिर्ने भन्ने चिन्तामा। सानै भए पनि यसले केही अत्यन्त जरुरी काममा सहयोग पुर्याएको छ,” माउले रेडक्रसद्वारा एक पटकका लागि दिइने ४०० डलर जतिको अनुदान बारे भनिन्।
यहाँ दिइएको जानकारी, सल्लाह वा सुझावहरू सामान्य प्रकृतिका हुन् र सबै अवस्थाका लागि ती लागू हुँदैनन्। आफ्नो भिसाको स्थिति बारे चिन्तित हुनुहुन्छ भने जति सक्दो चाँडो कानूनी सल्लाह प्राप्त गर्न पहल गर्नुहोस्।
निःशुल्क कानुनी परामर्शका लागि आफ्नो स्थानीय लिगल एडलाई सम्पर्क गर्नुहोस्:
- न्यु साउथ वेल्स: ल एक्सेस न्यु साउथ वेल्सलाई सोमबारदेखि शुक्रवार - बिहान ९ देखि साँझ ५ बजे भित्र १३०० ८८८ ५२९ मा फोन गर्नुहोस्
- भिक्टोरिया: लिगल एड इन भिक्टोरियालाई सोमबारदेखि शुक्रवार - बिहान ९ देखि साँझ ५ बजे भित्र १३०० ७९२ ३८७ मा फोन गर्नुहोस्
- क्विन्सल्याण्ड: लिगल एड क्विन्सल्याण्डलाई सोमबारदेखि शुक्रवार - बिहान ९ देखि दिउँसो ४ बजे भित्र १३०० ६५१ १८८ मा फोन गर्नुहोस्
- वेस्टर्न अस्ट्रेलिया: लिगल एड वेस्टर्न अस्ट्रेलियालाई सोमबारदेखि शुक्रवार - बिहान ९ देखि दिउँसो ४ बजे भित्र १३०० ६५० ५७९ मा फोन गर्नुहोस्
- साउथ अस्ट्रेलिया: लिगल सर्भिसेस कमिसन अफ साउथ अस्ट्रेलियालाई सोमबारदेखि शुक्रवार - बिहान ९ देखि दिउँसो ४:३० बजे भित्र १३०० ३६६ ४२४ मा फोन गर्नुहोस्
- तास्मानिया: लिगल एड कमिसन अफ तास्मानियालाई सोमबारदेखि शुक्रवार - बिहान ९ देखि दिउँसो ५ बजे भित्र १३०० ३६६ ६११ मा फोन गर्नुहोस्
- नर्दर्न टेरोटेरी: नर्दर्न टेरोटेरी लिगल एड कमिसनलाई सोमबारदेखि शुक्रवार - बिहान ८ देखि दिउँसो ४:३० बजे भित्र १८०० ०१९ ३४३ मा फोन गर्नुहोस्
- अस्ट्रेलियन क्यापिटल टेरोटेरी: लिगल एड एसीटीलाई सोमबारदेखि शुक्रवार - बिहान ९ देखि दिउँसो ४ बजे भित्र १३०० ६५४ ३१४ मा फोन गर्नुहोस्
भाषाको सहयोग चाहिन्छ र उल्थाकारको सेवा पनि आवश्यक छ भने १३ १४ ५० मा फोन गरेर आफूले खोजेको सहायता संस्थासँग जोडिदिन भन्नुहोस्।
रेडक्रस आपतकालिन राहत - अस्थायी भिसामा व्यक्तिहरूको लागि उपलब्ध छ। थप जानकारीको लागि रेडक्रसको वेबसाइट हेर्नुहोस्।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ। यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

