SKIP TO MAIN CONTENT

ट्वेण्टी-ट्वेण्टी सकर: बहुसांस्कृतिक फुटबललाई डोर्‍याउँदै भिक्टोरियाका नेपाली

भिक्टोरियामा बसोबास गर्ने नेपालीहरूको छाता सङ्गठन नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)को नेतृत्वमा आउँदो शनिवार मेलबर्नमा बहुसांस्कृतिक फुटबल प्रतियोगिताको आयोजना हुँदैछ।

Nepali Victoria Football Royal Western Yeti Club Melbourne
प्रतिकात्मक तस्बिर Source: Facebook

2 min read

Published

Updated


Skip to article content

गर्मीको मौसममा क्रिकेटमय बन्ने गरेको भिक्टोरियामा मौसम चिसिँदै जाने क्रम सुरु हुँदै गर्दा फुटबलले बिस्तारै आफ्नो अधिकार जमाउन थालेको देखिएको छ।

न्याभको आयोजनामा फर्स्ट न्याभ मल्टीकल्चरल टुर्नामेन्ट नाम दिइएको एक दिने बहुसांस्कृतिक फुटबल प्रतियोगिताको पहिलो संस्करण २२ फेब्रुअरी शनिवार बिहान ८ बजेदेखि ५ बजेसम्म आयोजना हुन लागेको हो।

बहुसांस्कृतिक पृष्ठभूमिका मानिसहरू बसोबास गर्ने अस्ट्रेलियामा भाइचारा तथा सामाजिक सद्भावलाई प्रवर्धन गर्ने हेतुका साथ उक्त प्रतियोगिता गर्न लागिएको रोयल वेस्टर्न फुटबल क्लबका एक जना अधिकारी सुशील चालिसेले एसबीएस नेपालीलाई बताए।

“अस्ट्रेलियामा रहेका विभिन्न एथ्निक ग्रुपहरूलाई खेलको माध्यमबाट एकताबद्ध गर्ने हाम्रो उद्देश्य हो,” प्रतियोगिता आयोजनामा न्याभलाई सघाउँदै गरेको रोयल वेस्टर्न फुटबल क्लबका चालिसेले भने।

“एक अर्काको हामीले भाषा नबुझे पनि, कल्चर नबुझे पनि हामीले चाहिँ खेल (फुटबल) मार्फत किन नबुझाउने भनेर यो टुर्नामेन्ट (आयोजना) गर्न लागेका हौँ।”

Sushil Chalise and Prakash Kaji Thapa
Sushil Chalise (L) and Prakash Kaji Thapa (R) Source: Facebook

चार नेपाली टिम (युनाईटेड फुटबल क्लब, हिमालयन टाइगर, रोयल वेस्टर्न फुटबल क्लब र यति फुटबल क्लब) सहित अन्य बहुसांस्कृतिक समुदायका टोलीहरू गरेर आठ वटा टिमले सहभागिता जनाउन लागेको उक्त प्रतियोगितामा भाग लिन आउने खेलाडीहरूलाई हौसला प्रदान गर्न मेलबर्नमा बस्ने सम्पूर्ण नेपाली खेलकुद प्रेमीहरूलाई शनिवार आयोजना स्थल किलर पार्क सकर क्लबमा आइदिन न्याभका फुटबल संयोजक तथा कोषाध्यक्ष प्रकाशकाजी थापाले आग्रह गरेका छन्।

विशेष गरी न्याभले क्रिकेट लगायत अन्य खेलका प्रतियोगिता मात्र आयोजना गर्ने आक्षेपलाई पनि सम्बोधन गर्ने उद्देश्यका साथ यसपालि फुटबल प्रतियोगिताका लागि पहल गरिएको उनले बताए।

“न्याभमा खाली क्रिकेट हुन्छ, अरू गेम हुन्छ भन्ने - सकर चाहिँ भा’को छैन भन्ने फुटबल प्रेमी साथीहरू, दाइहरू, भाइहरू सबैको एउटै गुनासो थियो।”

“हाम्रो सोच चाहिँ कस्तो भने, नेपाली टुर्नामेन्ट त भइरहेकै छ तर मल्टीकल्चरल लेभलमा चाहिँ नेपाली टिमले खेलेर र राइट काइण्ड अफ एक्पोजर (पाओस्) र मल्टीकल्चरल हार्मोनीका लागि एउटा फ्यामीली इभेन्ट गरौँ भन्ने हो,” थापाले एसबीएस नेपालीलाई भने।

उहाँहरूसँग गरिएको कुराकानी सुन्न तलको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्:

null

२०-२० मिनेटमा हाफ टाइम हुने गरी जम्मा ४० मिनेटको खेल खेलाइने उक्त प्रतियोगितामा सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको र ती समूहका विजेता एवं उपविजेता सेमिफाइनल हुँदै फाइनल पुग्ने बताइएको छ।

स्टेडियम ड्राइभमा रहेको उक्त खेल आयोजना स्थलमा आउने बालबालिकाहरू प्रति लक्षित फेस पेंटिंग लगायतका अन्य मनोरञ्जनात्मक क्रियाकलापहरू पनि सञ्चालन हुने आयोजकको भनाई रहेको छ।

NAV Soccer
First NAV Multicultural Soccer Tournament is being organised on 22 February 2020. Source: Supplied

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now