सन् २०२० मा फैलिएको कोरोनाभाईरससले धेरैको जीवनलाई असर हुने गरि अवरुध्द पार्यो। संसारका धेरै ठाउँहरुमा बाहिर गई शारिरीक व्यायम गर्न पनि सरकारको अनुमति लिनु पर्ने अवस्था आयो। घरभित्रैको मान्छे, आफन्त वा नातेदार कोरोनाभाइरसले संक्रमित भई हाले पनि, गएर अँगालो मारी ढाडस पनि दिन नमिल्ने अवस्था आयो।
संसारभर कोरोनाभाईरसका कारण लाखौं मारिए, करोडौं बेरोजगार भए, साना-साना नानीहरु विधालय जानै नपाई पढ्न बाध्य भए। यति विध्न अँध्यारो बर्ष विश्वयुध्द पछि नदेखेको अग्रजहरुले बताए।
तर समय त कहाँ रोकिन्छ र? आखिरमा सन् २०२० को पनि अन्त्य भएरै छोड्यो।
हामीले अहिले सन् २०२१ मा खुट्टा टेकिसक्या छौ। निराशाले भरिएको बर्ष बिताए पछि, सबैले नयाँ बर्षमा आशा राख्नु स्वभाविकनै हो।
त्यसोभए, यो नयाँ बर्षमा के-कस्ता समाचार अनि घटनाक्रमको आशा गर्न सकिन्छ त?
कोरोनाभाईरसको खोप:
सन् २०२० मै कोरोनाभाईरसको खोपहरुको परिक्षण र उपयोगको समाचार आईसकेको छ। तर यो बर्षमा भने यसको वितरण भने संसारको धेरै कुनाहरुमा हुने प्रष्ट छ। अहिले पछिल्ला दिनहरुमा कोरोनाभाईरसका परिवर्तित रुपहरु देखा पनि परेका छन्।
तर औषधि-कम्पनीहरुले भने, आवश्यक परे यसको विरुध्दको खोप तयार गर्न धेरै समय नलाग्ने बताएका छन्।

संसारको दोस्रो सबैभन्दा ठूलो जनसंख्या भएको मुलुक भारतले यो बर्ष कम्तिमा पनि ३० करोड जनसंख्यालाई खोप प्रदान गर्ने बताएको छ। अमेरिका, अस्ट्रेलिया, बेलायत लगायतका मुलुकहरुमा पनि यस खोपको व्यापक वितरण र उपयोग हुने आशा गरिएको छ।
जो वाईडेन:
अमेरिकाले राष्ट्रपतिको पदमा निर्वाचित गरेको जो वाईडेनले यहि २० जनवरीका दिन ४६औं राष्ट्रपतिको रुपमा शपथ लिदैछन्। उनको आगमनले अमेरिका फेरि युरोप र अन्य देशहरुसँग नजिक हुने सम्भावना देखिन्छ।
अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पको एक मुख्य चुनावी नारानै “अमेरिका फर्स्ट” अथवा अमेरिका पहिलो रहेको थियो। यसको अर्थ, ट्रम्प प्रशासनले कतिपत वैदेशिक मामलाहरुमा सहयोग गर्ने बा सहभागी हुने ईच्छा जगाएन। यसका कारणले, विशेषगरी अमेरिका र युरोपबिचको सम्बन्ध टाढिदै गएको स्वयं युरोपियन युनियनका अधिकारीहरुले जनाएका थिए।
तर वाईडेनको जीतले अमेरिकाले पुन: पुरानो रुपमा फर्कने धेरै विज्ञहरुले आशा राखेका छन्।
स्कट मरिशन:
अस्ट्रेलियाका प्रधानमंत्री स्कट मरिशनको सन् २०२० को शुरुवात साकारात्मक रहेको थिएन। अस्ट्रेलियामा सल्केको डढेलोको समयमा उनी अमेरिकाको हवाईमा छुट्टि मनाउन गएको तस्विरहरुले निकै चर्चा पाईरहेको थियो।
तर कोरोनाभाइरसको महामारिको समयमा सरकारले लिएका निर्णयहरुको अहिले आएर निकै प्रशंसा भइरहेको छ। विशेषगरि, शुरुमा चीनबाट आउने विमानहरुमाथि लगाईएको प्रतिबन्ध अनि त्यसपछि ल्याईएको अन्तराष्ट्रिय अवतरणको बन्देजले अस्ट्रेलियामा महामारी धेरै फैलिन नदिएको बताईन्छ।

अहिले अन्य देशहरुको तुलनामा अस्ट्रेलियाले महामारीलाई निकै नियन्त्रणमा राखेको तथ्यांकहरुले देखाएका छन्।
पछिल्लो समयमा गरिएको मत सर्वेक्षणमा- स्कट मरिशनको कामलाई ६० प्रतिशतभन्दा बढीले अनुमोदन गरेका थिए। अहिलेसम्म यहाँ कोरोनाभाईरसको महामारी तुलनात्मक रुपमा नियन्त्रणमै रहेकाले, अस्ट्रेलियाको अर्थ-व्यवस्था अनुमान गरिएको भन्दा राम्रो हुने आशा गरिएको छ।
नेपालमा चुनाव:
नेपालमा राजनितिक अस्थिरता यो बर्ष पनि जारी नै रहने देखिन्छ। प्रधानमंत्री के पी शर्मा ओलीले हालै संसदको विघटन गरी चुनाव गर्ने सिफारिस गरेका थिए। यस निर्णयको विवादका कारण, सत्तारुढ दल- नेपाल कम्युनिष्ट पार्टि टुक्रिने सम्भावना रहेको छ।
अहिले प्रम ओलीको विरोध उनकै दलका प्रचण्ड र माधव कुमार नेपालले गरिरहेका छन्।
हाल प्रधानमंत्रीको निर्णयको विरुध्द अदालतमा मुद्दा दायर भएको छ। यसैबिच, सर्वोच्च अदालतले हालै मंत्रीमण्डलको विस्तारलाई लिएर मुध्दा परे पछि, त्यस विषयमा कारण देखाउ आदेश जारी गरेको छ।
विगतझै यसपल्ट पनि दलहरु फुट्ने, अनि चुनावको लागि केहि दलबिच तालमेल हुने संकेत पनि देखिएको छ। यसले नेपालको राजनीति फेरि अस्थिरतामा नजाला भन्न सकिन्न।
ओलम्पिक:
सन् २०२० मा, जापानको टोकियोमा ओलम्पिक गरिने तय भएको भए पनि कोरोनाभाईरसको संक्रमणका कारण यो बर्षको लागि सारिएको छ। यस बर्ष जुलाई महिनाको २३ तारीख शुरु हुने यो खेल ८ अगष्टसम्म जारी हुनेछ।
सन् २०२१ मा यो प्रतियोगिताको आयोजना भए पनि- यसलाई टोकियो’२० भनेरै सम्बोधन गरिने अन्तराष्ट्रिय ओलम्पक कमिटिले उल्लेख गरेको छ।

बिएमएक्स साईकलिङ्ग, ३ x ३ बास्केटबल लगायतका खेलहरु पहिलोचोटि यसपल्टको ओलम्पिकदेखि समावेश गरिदै छ। जापानको सरकारले आउँदो ओलम्पिक कोभिड-सुरक्षित हुने बताउदै आएको छ।
कोभिडको महामारि पछि, सबै देशहरु एकजुट भई प्रतियोगितामा भाग लिई खेल्दा यसले संसारबरनै आशाको संचार गर्ने कुरा त पक्का नै छ।
पर्यावरणको संरक्षण:
पर्यावरणको संरक्षणको विषय पछिल्ला बर्षहरुमा निकै चर्को रुपमा आईरहेको छ। भारतको नयाँ दिल्लीमा श्वाँसनै फेर्न अफ्ठेरो हुने अवस्थादेखि अस्ट्रेलिया र अमेरिकामा सल्केको डढेलोसम्म – यी सबैको कारक-तत्व पर्यावरनको संरक्षण गर्न नसकेकोले भएको बताईन्छ।
यहि मुद्दालाई लिएर संयुक्त राष्ट्र संघले यो बर्षदेखि पर्यावरण-संरक्षणलाई प्रमुख प्राथमिकता दिन सबै समक्ष अपील गरेको छ।
यस संस्थाका महासचिव एन्टोनियो गुटेरसले मानवीय समाजले प्रकृतिमाथि गरेको अत्याचार अब रोकिनु पर्ने बताउछन्। यो नयाँ बर्ष- २०२१ बाट- प्रकृतिलाई दु:ख दिन बन्द गर्ने सक्रियताको लागि, गुटेरसले विश्वका नेताहरुलाई चुनौति दिएका छन्।
“हाम्रो पृथ्वीको प्राण थिचिएको छ,” गुटेरसले भने। “प्रकृति विरुध्द हामी आत्मघाती युध्दमा सम्मिलत छौं” ।
संयुक्त राष्ट्र संघको अगुवाईमा पर्यावरणको सुरक्षा र सम्बर्धनमा केहि महत्वपुर्ण कदमहरु यो बर्ष लिन सकिने अनुमान गर्न सकिन्छ।
घरमै बसि काम:
कोरोनाभाईरसले सर्वसाधारणहरुको काम गर्ने तरिकामै आमूल परिवर्तन ल्याईदिएको छ। धेरैले कार्यलय गई गर्ने काम ईन्टरनेट र कम्प्युटरको माध्यमबाट आफ्नै घरमै बसेर गर्न थाले।
सार्वजनिक यातायात र आफ्नो कार्यलय अनि भ्रमणको क्रममा फैलन सक्ने कोरोनाभाईरसको संक्रमणलाई नियन्त्रण गर्न धेरै कार्यलायहरुले आफ्ना कर्मचारीहरुलाई घरमै काम गर्न सकिने सुविधा प्रदान गर्न थालेको छ।

यो बर्ष पनि घरमै बसेर काम गर्ने परिवर्तन जारी हुने देखिन्छ। अमेरिकामा रहेका गुगल लगायतका ठूला सूचना प्रविधिका कम्पनिहरुले अबदेखि कर्मचारीहरुले हफ्ताको केहि दिन घरमै बसेर काम गर्न मिल्ने बताएको थियो।
यता अस्ट्रेलियामा पनि कतिपय संस्थाहरु, हफ्ताको केहि दिन घरमै काम गर्दा कर्मचारीहरुको मानसिक स्वस्थ्यमा साकारात्मक असर देखिएमा यसलाई जारी राख्ने पनि बताएका छन्।
यसको प्रभावले गर्दा शहरी-केन्द्रहरुमा रहेका घर-भाडाको दर घट्ने सक्ने संभावना पनि देखिएको छ। यस विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईले पनि हामीसँग कुराकानी गर्नु भएको थियो। (कृपया तलको लिंक क्लिक गर्नुहोस्)
नर्स, शिक्षक, सुपरमार्केट कर्मचारी लगायतप्रति उच्च-सम्मान:
सन् २०२०- कोरोनाभाइरसको संक्रमण फैलिदै गर्दा, समुदायको सेवामा निरन्तर लागी परेका नर्स, शिक्षण-कर्मी र सुपर-मार्केटमा काम गर्ने कर्मचारी लगायत अन्य आवश्यक सेवामा काम गर्मेहरुलाई कसले बिर्सन सक्छ र?

आफ्नै ज्यान जोखिममा राखेर अरुको सेवा गर्ने नर्स हुन्, आफ्नो बच्चाको रेख-देख गर्दै विधार्थिहरुलाई पढाउने शिक्षिका वा सुपर-मार्केटमा काम गर्ने कर्मचारि- यिनीहरुले सन् २०२० मा समाजलाई गुडाउने पाङ्गरा भएका थिए।
यो पेशाप्रतिको सम्मान आउदा बर्षहरुमा अझै बढ्ने पक्का छ।
