कोभिड-१९ महामारीको समयमा मानिसहरुले आफ्नो मानसिक स्वास्थ्य माथि पनि ध्यान दिनुपर्ने पहल गर्दै संघीय सरकारले एक करोड डलरको लगानीका साथ् एक राष्ट्रिय सचेतना अभियान सुरु गरेको छ।
"हाउ इज योर हेड टुडे?" नामक उक्त अभियानका साथ् अंग्रेजी लगायत १५ भिन्न भाषाहरुमा अस्ट्रेलियावासीहरुलाई मानसिक स्वास्थ्य समस्याको पहिचान गर्न र उपलब्ध सहायताबारे जानकारी लिन प्रोत्साहित गरिनेछ।
अरेबिक, भियतनामी, क्याण्टोनिज देखि पन्जाबी र हिन्दी भाषाहरु पनि समावेश गरिएका उत्क अभियानमा नेपाली भाषा चाहिं रहेको छैन।
सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टका अनुसार आगामी वर्ष सम्म संचालन हुने उक्त सचेतना अभियानका लागि टिभी, रेडियो र सामाजिक संजालका साथै शपिङ्ग सेन्टर र अन्य सार्वजनिक स्थलहरु पनि प्रयोग गरिने छ।
सरकारी लगानीबारे घोषणा गर्दै उनले भने, "यो धेरैनै गाह्रो वर्ष साबित हुँदा हामी सबैले आफ्नो मानसिक स्वास्थ्यबारे पनि सोच्न र त्यसका लागि सहायता उपलब्ध रहेको बारे बुझ्न पनि जरुरी रहेको छ।"

महामारीका कारण धेरै संख्यामा मानिसहरुले एक्लोपना, बेरोजगारी र आर्थिक संकटको सामना गर्नुपरेको र आत्महत्या रोकथाम लगायतका सहायक सेवाहरुमा सम्पर्क गर्नेहरुको संख्या पनि धेरै बढेको अधिकारीहरुको भनाइ छ।
५७ वर्ष अगाडी स्थापना भएको लाइफलाइन नामक संस्थाका लागि गत अप्रिल, अगस्ट र सेप्टेम्बर महिनाहरु संस्थाको इतिहासकै सबै भन्दा व्यस्त समय रहेको बताइएको छ। सेप्तेम्बेर महिनाको सुरु सम्ममा प्रत्येक मनिना ९० हजार मानिसहरुले सहायताको लागि सम्पर्क गरेको लाइफलाइनको भनाइ छ।
बालबालिकाहरुको सहायताका लागि संचालित किड्स हेल्पलाइनले पनि आफुलाई सम्पर्क गर्नेहरुको साप्ताहिक संख्यामा वृद्धि भएको बताएको छ।
प्रति हप्ता सहायताका लागि औसत ६ हजार जनाले सम्पर्क गर्ने भएता पनि सेप्टेम्बर महिनामा एक हप्तामा १० हजार सम्मले सम्पर्क गरेको पनि उक्त संस्थाको तथ्यांक रहेको छ।
मानसिक स्वास्थ्य सहायता चाहिएमा बियोण्ड ब्लुलाई १३०० २२ ४६३६ मा सम्पर्क गर्न सकिनेछ। थप जानकारी Beyond Blue.org.au मा उपलब्ध रहेको छ। विविध सांस्कृतिक र भाषिक पृष्ठभूमिका मानिसहरुको सहयोगका लागि Embrace Multicultural Mental Health मा पनि थप जानकारी रहेका छन्।
