Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियाको नेपाली समुदायमा मानसिक स्वास्थ्य अझै पनि एक वर्जित विषय

Mental Health

Mental Health during PAndemic Source: AAP

पछिल्ला केही वर्षमा विभिन्न निजी या सामाजिक पक्षहरूका कारण अस्ट्रेलियाली नेपाली समुदायमा मानसिक स्वास्थ्यका समस्याहरू पनि धेरै देखिन थालेका छन्।


Published

Updated

By Dinita Rishal

Source: SBS




Share this with family and friends


पछिल्ला केही वर्षमा विभिन्न निजी या सामाजिक पक्षहरूका कारण अस्ट्रेलियाली नेपाली समुदायमा मानसिक स्वास्थ्यका समस्याहरू पनि धेरै देखिन थालेका छन्।



प्रमुख विषय:

  • अस्ट्रेलियावासी नेपालीहरूमा देखा पर्ने मुख्य मानसिक समस्याहरू
  • मानसिक स्वास्थ्य समस्याको विषयमा नेपाली समाजमा रहेको भ्रम
  • सबैलाई काम लाग्ने मुख्य मानसिक स्वास्थ्य परामर्श सेवाहरू

आफू कहाँ परामर्शका लागि आउने बिरामीहरूमा २० देखि २५ प्रतिशत नेपाली रहेको सिड्नीका मनोचिकित्सक डाक्टर घनश्याम चापागाईँ बताउँछन्।

पछिल्ला २२ वर्षदेखि स्वास्थ्यको क्षेत्रका लागेका डाक्टर चापागाईँले यो सङ्ख्या पछिल्लो ७ वर्षको तुलनामा केही बढे तापनि मानसिक स्वास्थ्यको विषय भने हाम्रो समाजमा अझै पनि वर्जित नै रहेको बताए।

मानसिक स्वास्थ्य भनेको के हो ?

कुनै पनि व्यक्तिको दिमागी अवस्था, जसले उसको भावनात्मक,मनोवैज्ञानिक र सामाजिक व्यवहारमा प्रत्यक्ष या अप्रत्यक्ष रूपमा असर गर्दछ, त्यसलाई मानसिक स्वास्थ्य भनिन्छ।

जब विभिन्न निजी, सामाजिक या अन्य कारणले व्यक्तिको सोच्ने, महसुस गर्ने र काम गर्ने क्षमतामा नकारात्मक असर पर्छ, त्यसलाई मानसिक स्वास्थ्य समस्याको रूपमा लिइन्छ। यी समस्याहरू सामान्य किसिमको बढी चिन्ता गर्ने बानीबाट सुरु भई, समयमै ध्यान नदिएमा डिप्रेसन र स्किजोफ्रेनियाजस्ता जटिल रूपमा पनि परिवर्तन हुन सक्छन्।

Sydney Psyciatriast Dr Ghanashyam Chapagain
Sydney Psyciatriast Dr Ghanashyam Chapagain Source: Supplied

अस्ट्रेलियावासी नेपालीहरूमा सामान्यतया कस्ता मानसिक समस्याहरू देखा पर्ने गरेका छन् ?

यहाँका नेपालीहरूमा मुख्य रूपमा तीन प्रकारका समस्याहरू देखिने डाक्टर चापागाईँले बताए। 

१. अस्ट्रेलिया आउनु अघि नेपालमै कुनै मानसिक समस्याको उपचार गर्ने गरेको, तर यहाँ आएपछि उपचार र औषधि अनिरन्तर भएपछि फेरी समस्या देखा पर्ने

२. कुनै जैविक, मनोवैज्ञानिक या सामाजिक पक्षका कारण - सामान्य भाषामा भन्नु पर्दा, आफू वरपरको वातावरणका कारण। यस विधामा भने मुख्यतः अस्ट्रेलिया आउनु अघिका अपेक्षा र यहाँको जीवनशैलीको वास्तविकताले मेल नखाँदा धेरै व्यक्तिहरूमा चिन्ता(एन्जाइटी) र डिप्रेसनजस्ता समस्याहरू देखा पर्ने गरेको छ।

३. मदिरा सेवन, लागु पदार्थ तथा जुवाजस्ता बानीहरूको लतमा लागेर पनि थुप्रैले आर्थिक र सामाजिक कठिनाइ झेल्नु परिरहेको हुन्छ, जसले आफ्नो र आफू वरिपरिका मानिसहरूको मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउँछ।

मानसिक स्वास्थ्य, नेपाली समाज र परामर्श

"अरूले क सोच्ला भन्ने कुरामा हिचकिचाहट हुन्छ मान्छेहरूलाई।", गत पाँच वर्षदेखि सिड्नीमा बस्दै आएका सुनिल पन्त भन्छन्।

"फलानोले के भन्छ? … तँ चाहिँ फलानो जस्तो नबन् है!" - यस्ता भनाइहरू हामी मध्य धेरै जनाले आफ्नो जीवनकालमा कतै न कतै त सुनेकै छौँ।

दुर्भाग्यवश, नेपालमा मात्र होइन, अस्ट्रेलियामै पनि नेपाली समुदायका कोही व्यक्ति मानसिक समस्या या केही कुलतको सिकार बन्न पुगे भने उनको मद्दत भन्दा पहिले उनको आलोचना गरिन्छ।

Sydney Registered Nurse Mamata Tiwari
Sydney Registered Nurse Mamata Tiwari Source: Supplied

सिड्नीमा रजिस्टर्ड नर्सको काम गर्दै आएकी ममता तिवारी भन्छिन्, "जस्तै, कोही आत्मघाती छ या कुलतमा फसेको छ भने, 'ए, अब यसले आत्महत्या गर्छ, यो एडिक्ट भयो' भनेर नकारात्मक तरिकामा हेरिन्छ। किन भयो भनेर सोचिँदैन। ऊ त चाहेर त्यस्तो भएको होइन नि त।"

यस्तै मनाशयका कारण आफ्नो समस्या आफ्नै समुदायको चिकित्सक सामु पोख्न अप्ठेरो लागेर कतिपय नेपालीहरू अन्य पृष्ठभूमिका डाक्टर कहाँ जान खोज्ने प्रवृत्ति रहेको डाक्टर चापागाईँले बताए।

तर त्यसरी नेपाली भाषा नबोल्ने र नेपाली समाज र जीवनशैलीको बारेमा थाहा नभएका मनोचिकित्सक कहाँ जाँदा उनीहरूले सधैँ बिरामीको समस्या बुझ्छन् भन्ने छैन। 

त्यसैले अलि बुझ्ने र पढेलेखेका मानिसहरू चाहिँ नेपाली डाक्टर नै खोज्दै पनि आउने उनी बताउँछन्।

आफूलाई परामर्श चाहिन्छ भनेर कसरी थाहा पाउने ?

"सुरुमा आफूलाई डिप्रेसन छ भनेर आफैँलाई थाहा हुँदैन। अरूलाई हुन सक्छ, मेरो नजिकको मान्छेलाई हुन सक्दैन भन्ने हाम्रो सोच छ।", भन्छिन् सिड्नीकी २२ वर्षीय विद्यार्थी चन्दा ओली।

अरूको नराम्रो अवस्थाको खिल्ली उडाउने र आफ्नो मान्छेलाई अरूको उदाहरण दिएर तर्साउने प्रवृत्ति नेपाली समाजमा रहेको ओली बताउँछिन्।

Chanda Oli works as an Early Childhood Teacher at a Sydney Child Care center
Chanda Oli works as an Early Childhood Teacher at a Sydney Child Care center Source: Supplied

धेरै जसो मानिसहरूले आफूमा केही मानसिक समस्या देखा परेपछि सुरुमा त आफैँले त्यसलाई हल गर्न खोज्ने गरेको डाक्टर चापागाईँ बताउँछन्। 

त्यो एक किसिमले ठिक रहेको, तर कतिपय मानिसहरू भने अवस्था निकै बिग्रिसके पछि मात्र चिकित्सक परामर्श खोज्ने उनले बताए।

"डिप्रेसनकै उदाहरण दिँदा - मान्छेहरूलाई कामहरू गर्न मन नलाग्ने, बेला-बेलामा आत्महत्याका बिचार आउने र दैनिक कार्यहरू गर्ने क्षमता पनि नरहेपछि बल्ल डाक्टरकोमा आउँछन्। अझ आफैँ पनि होइन,कसैले उनीहरूलाई सम्झाए पछि मात्र।"

Sunil Pant has been living in Australia for the last 5 years
Sunil Pant has been living in Australia for the last 5 years Source: Supplied

अस्ट्रेलिया आउनु अघि नेपालमा शिक्षकको रूपमा काम गरेका ३२ वर्षीय पन्त भन्छन् - "मेन्टल हेल्थको बारेमा हाम्रो देशको पाठ्यक्रममा सचेतना जगाउने किसिमको त्यस्तो केही छैन। जे देख्यो, त्यो आफै भोगेर मात्रै गरिन्छ।"

समस्याको प्राथमिक चरणमै परामर्श र उपचार गरेमा मानसिक समस्याहरू ठिक हुने गरेको उनले बताए।

मानसिक स्वास्थ्य समस्या भोगेमा कहाँ मद्दत माग्न सकिन्छ ?

यस प्रश्नको उत्तर दिँदै डाक्टर चापागाईँ भन्छन् - "सुरुमा त आफ्नो जीपी अर्थात् स्थानीय डाक्टरकोमा जाने। विशेषज्ञ कहाँ जानु पर्छ कि पर्दैन भनेर जीपीहरूले बताउँछन्। सामान्य समस्या छ भने उनीहरूले नै औषधि दिन्छन्।"

त्यस्तै, विद्यार्थीहरूले आफ्नो स्कुल, कलेज या विश्वविद्यालयमा पनि निःशुल्क परामर्श सेवा हासिल गर्न सक्छन्। 

कार्यस्थलहरूमा पनि रोजगार सहायता कार्यक्रम (ई ए पी) मार्फत कर्मचारीहरूले गोप्य मनोवैज्ञानिक परामर्श लिन सक्ने डाक्टर चापागाईँले बताए।

counselling
A female client in a counselling session Source: sassymamasg.com
यदि तपाई कुनै मानसिक स्वास्थ्यको समस्या भोगिरहनु भएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ - Lifeline: 13 11 14, Suicide Call Back Service: 1300 659 467 र ५ वर्ष देखि २५ वर्षका व्यक्तिहरूको लागि Kids Helpline: 1800 55 1800
थप जानकारीका लागि BeyondBlue.org.au तथा lifeline.org.au मा जानुहोस्।
Embrace Multicultural Mental Health नामक सङ्गठनले पनि सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई समर्थन प्रदान गर्दछ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now