समोन्ती किशोर अवस्थामै थिइन जब उनले पहिलो पटक मानसिक स्वास्थ्य सम्बन्धी परामर्शमा भाग लिइन् । भर्खरै २० वर्ष पुगेकी उनी हाल मेलबर्नमा बस्दै आइरहेकी छन् । आफ्नो पढाई र भविष्यलाई लिएर अनेकौँ अपेक्षा र दबाब झेलिरहे को बताइन्।
अलि समयपछि फेरी मानसिक स्वास्थ्य विज्ञसँग परामर्श गर्न पुगेकी उनी फरक सांस्कृतिक पृष्ठभूमिबाट आएका मनोवैज्ञानिकले आफ्नो भावना र अवस्थालाई बुझ्न नसकेको ठहर्याइन् ।

उनी भन्छिन् “ बङ्गलादेशी हिन्दु भएका कारण मैले जुन मानसिक समस्या भोगिरहेकी छु, फरक सांस्कृतिक पृष्ठभूमिकी चिकित्सकले मेरो भावना र मैले झेलिरहेका समस्या बुझ्न सकिनन्। कुनै दक्षिण एसियाली, अझ त्यसमा पनि हिन्दु समुदायको चिकित्सक भए उसले मेरो समस्या सहजै बुझ्न सक्थ्यो र मलाई समाधान दिन सक्थ्यो।”
शनिवार ३ अक्टोबरबाट सुरु भएको एक अनलाइन सेवाले यो समस्यालाई समाधान गर्ने लक्ष्य राखेको छ । हार्टच्याट नाम दिइएको उक्त योजनाले सांस्कृतिक र भाषिक विविधता भएका मानिसहरूलाई उनीहरूको पृष्ठभूमिलाई मेल खाने गरी मानसिक स्वास्थ्य सम्बन्धी पेसाकर्मीहरूसँग जोड्ने लक्ष्य राखेको छ ।

मानसिक स्वास्थ्य सम्बन्धी परामर्श खोजिरहेकाहरूले आफ्नो भाषा सांस्कृतिक पृष्ठभूमि र आफूले विश्वास गर्न सक्ने विज्ञबाट परामर्श लिन सक्नेछन् । यसमा टेलिहेल्थको लागि समय लिन मिल्ने पनि बनाइएको छ ।
क्लिनिकल न्यूरो मनोवैज्ञानिक र भिक्टोरियन बहु सांस्कृतिक आयोगका आयुक्त डाक्टर जुडी ताङ भन्छिन्,“म सँग परामर्श लिने कतिपय मानिसहरूले आफ्ना भाषा बोल्ने चिकित्सकसँग पहुँच नभएको गुनासो गर्छन् - वास्तवमै आफ्नो भाषा बुझ्ने वा संस्कृतिसँग मेल खाने परामर्शदाता प्राप्त गर्न सहज छैन।"
सांस्कृतिक पृष्ठभूमिलाई उचित समर्थन
डाक्टर ताङको बुझाइमा कुनै मनोवैज्ञानिकसँग परामर्श लिँदा आफ्नो धार्मिक मापदण्ड, सांस्कृतिक, राजनीतिक वा यौन प्राथमिकताको बारेमा सुरु देखि नबुझाईकन कुरा गर्न पाएमा निकै सजिलो हुन्छ - या कतिपय परिस्थितिमा कसैको जीवन नै पनि बच्न सक्छ।
कसै सँग आफ्नो मानसिक समस्याको बारेमा कुरा गर्दा त्यस व्यक्ति पनि आफ्नै पृष्ठभूमिको भएमा र आफ्नो भाषा संस्कृति बुझ्ने भएमा पक्कै पनि समस्यामा परेको मान्छेलाई खुलेर बोल्न सहज हुन्छ।

यसको उदाहरण दिँदै डाक्टर ताङले एक जना एसियाली पृष्ठभूमिको बिरामीलाई मनोवैज्ञानिकले जीवनमा सकारात्मक परिवर्तन ल्याउनका लागि "आफू स्वयम्को लागि" काम गर्नु पर्ने बताएको घटना सम्झिइन्।
"ती बिरामीले, 'म एसियाली पृष्ठभूमिबाट आएको कारण मलाई स्वयमको लागि भन्दा आफ्नो परिवारको लागि काम गर्न भनेको भए झनै प्रभावकारी हुन्थ्यो।'," डाक्टर ताङले बताइन्।
सांस्कृतिक पृष्ठभूमिलाई नजिकै बाट नबुझेका कारण कहिले काहीँ चिकित्सकहरूले सुझावको रूपमा अनुपयुक्त टिप्पणी गर्ने पनि ताङले बताइन्।
"एक पटक एक आदिवासी पृष्ठभूमिको व्यक्तिलाई चिकित्सकले 'जङ्गलमा आफ्नो समुदायका मानिसहरू कहाँ फिर्ता जान' बताएका थिए, तर आदिवासी हुँदैमा कसैलाई जङ्गलसँगै जोड्नु पर्छ भन्ने छैन।" - डाक्टर ताङ।
"दुखको कुरा हो कि कहिले काहीँ प्रशिक्षित मानसिक स्वास्थ्य पेशेवरले आफ्नो स्व निर्मित सांस्कृतिक र धार्मिक धारणाका कारण बिरामीहरूलाई गलत या अनुचित परामर्श दिइरहेका हुन्छन्।"
डाक्टर ताङ भन्छन् सांस्कृतिक वा भाषिक भिन्न्न्ताको समस्याका कारण मानिसहरू सहयोग माग्नबाट नै पछि पनि हट्न सक्छन्।
"मनोचिकित्सकहरूबाट गलत र मन दुखाउने सुझाव पाउँदा कतिपय व्यक्तिहरूबाट मानसिक स्वास्थ्य सेवाहरू प्रयोग गर्ने इच्छा र प्रेरणा नै हराएर जान्छ। हामीले हाम्रा बहु सांस्कृतिक समुदायहरूले यस्तो नकारात्मक अनुभव गर्न नपरोस् भनेर ध्यान दिनु पर्छ।"
"म उनीहरूको समस्या बुझ्छु"
लामो समयदेखि भाषिक वा सांस्कृतिक अवरोधका कारण होस् या आफ्नो समुदायमा मानसिक रोगलाई लिएर भएका भ्रमका कारण होस्, विविध सांस्कृतिक पृष्ठभूमिबाट आएका अस्ट्रेलियालीहरूमा मानसिक स्वास्थ्य सेवाका लागि कहाँ जाने भन्ने विषयलाई लिएर अन्यौलता देखिँदै आएको छ।
सिड्नीमा आधारित मनोचिकित्सक जेलेना जेलेस्कोभ डोरिक संवेदनहीन वा अनुचित टिप्पणीहरू टाढा राख्न कोसिस गर्छिन् । उनी सर्बियाली पृष्ठभूमिकी हुन् र यतिखेर उनी हार्टच्याटमा मानसिक स्वास्थ्य परामर्शदाताका रूपमा रहेकी छन् ।
डाक्टर डोरिक बुल्गेरीयन लगायत पाँच बल्कन भाषा बोल्न सक्छिन् । उनी कहाँ प्राय फोन गर्ने ग्राहकहरू आफ्नै भाषामा परामर्श दिने कोही खोजिरहेका हुन्छन् ।

डोरिक भन्छिन् “ उनीहरू आफ्नै भाषा बोल्ने मानिस सँग कुरा गर्न खोजिरहेका हुन्छन् , कतिपयलाई अङ्ग्रेजी भाषा बोल्न नआउने वा आफूले भन्न चाहेको कुरा स्पष्ट रूपमा व्याख्या गर्न नसक्ने हुन्छन् ,विशेष गरी आफ्ना मानसिक समस्या वा आफ्ना भावना र बिचारहरूका बारेमा व्याख्या गर्न निकै गाह्रो हुन्छ।”
उनीहरू सांस्कृतिक रीतिरिवाज र चलनका बारेमा नबुझाउँदै आफूले बिरामीहरूको समस्या बुझ्ने उनले बताइन्। "उनीहरूको मूल ठाउँको बारेमा मलाई थाहा छ, त्यसैले म उनीहरूको समस्या बुझ्छु।", डोरिकले भनिन्।
"तपाइले विभिन्न संस्कृतिका बारेमा पढ्न सक्नु हुन्छ, तर आफू पनि त्यही समाजको नभए उनीहरूको समस्या कहिले पनि बुझ्नु हुन्न।"
डाक्टर डोरिकले एसियाली पृष्ठभूमिका मानिसहरूलाई पनि परामर्श दिने गर्दछिन्। आफू पनि भिन्न संस्कृतिको भए तापनि अस्ट्रेलियामा हुर्केको हुनाले मानिसहरू उनीसँग खुलेर कुरा गर्न सक्ने उनले बताइन्।
महामारीका बेला मानसिक स्वास्थ्य समस्यालाई लिएर सहयोग माग्नेहरूको सङ्ख्या पनि बढिरहेको छ । फरक पृष्ठभूमि भएका मानिसहरूलाई सही प्रकारको सहयोग वा समर्थन लागि पहुँचको यति धेरै महत्त्व पहिले कहिले नभएको डाक्टर ताङ भन्छिन्।
विशेष गरी अहिलेको अवस्थामा मानिसहरू पारिवारिक भेटघाटमा पनि कम सक्रिय रहेको समयमा हार्टच्याटले आफू अनुकूल परामर्श लिन निकै सहयोग पुर्याएको छ ।
मानसिक स्वास्थ्य पेशेवरहरूको पूर्ण निर्देशिकाका लागि वा पेशेवरको रूपमा आफ्नो नाम दर्ता गराउनका लागि HeartChat.com.au मा जानुहोस्।
विभिन्न भाषामा प्रदान गरिने मानसिक स्वास्थ्य सेवाहरूको सूचीका लागि SBS Radio resource मा जान सक्नुहुन्छ।
यदि तपाई कुनै मानसिक स्वास्थ्यको समस्या भोगिरहनु भएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ - Lifeline: 13 11 14, Suicide Call Back Service: 1300 659 467 र ५ वर्ष देखि २५ वर्षका व्यक्तिहरूको लागि Kids Helpline: 1800 55 1800
थप जानकारीका लागि BeyondBlue.org.au तथा lifeline.org.au मा जानुहोस्।
Embrace Multicultural Mental Health नामक सङ्गठनले पनि सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई समर्थन प्रदान गर्दछ।
