कोभिड-१९ ले अस्ट्रेलियाको अर्थतन्त्रमा पारेको असर त स्पष्टसँग देखिन्छ, जहाँ सयौँ पसल र साना व्यवसायहरू बन्द हुन पुगेका छन् भने हजारौँ अस्ट्रेलियालीहरू बेरोजगार बनेका छन्।
तर अहिले चिन्ता त मानसिक स्वास्थ्य जस्ता प्रत्यक्ष देख्न नसकिने असरहरूले बढाएको स्वास्थ्य मन्त्री ग्रेग हन्टको भनाइ रहेको छ।
मानसिक स्वास्थ्य सल्लाह प्रदायकहरूले आफूहरूले प्राप्त गर्ने फोन कलहरूको सङ्ख्या उल्लेख्य रूपमा बढेको बताएका छन्।
लाइफलाइनका प्रमुख जोन ब्रोगडेन भन्छन् कि आइसोलेसनका कारण बढेको एक्लोपनबाट गुज्रिरहेको भन्दै आउने फोन कलाको सङ्ख्या धेरै रहेको छ।
कोभिड-१९ भन्दा बाहेक पनि विशेष गरी ग्रामीण क्षेत्रमा रहेका अस्ट्रेलियालीहरू अझै पनि गर्मी यामको डडेलो र जारी खडेरीको चोट खेपिरहेका छन्।
यसले गर्दा सङ्घीय सरकारले मानसिक स्वास्थ्य चुस्त राख्न कदम चाल्नु पर्ने परिस्थिति सिर्जना गर्यो।
भिक्टोरिया राज्यका भूतपूर्व स्वास्थ्य अधिकारी रूथ भाइनले मानसिक स्वास्थ्य उप प्रमुखको यो नयाँ भूमिका निर्वाह गर्ने छन्।
उप प्रमुख स्वास्थ्य अधिकारी पल केलीले सामाजिक दुरीको नियम पालना गर्दा मानसिक स्वास्थ्यमा असर परेको बताएका छन्।
यस क्षेत्रमा कार्यरत अधिकारीहरूले भाइनको नियुक्तिलाई स्वागत गरेका छन्।

लाइफलाइन प्रमुख जोन ब्रोगडेन भन्छन् कि मानसिक स्वास्थ्यले अन्य शारीरिक स्वास्थ्य जत्तिकै प्राथमिकता पाउनु निकै महत्त्वपूर्ण रहेको छ चाहे त्यो यो महामारी पूर्व होस् वा महामारी पश्चात्।
प्रोफेसर इयान हिकीले धेरै पटक सरकारलाई मानसिक स्वास्थ्य र आत्महत्या रोकथामका लागी सुझाव दिने गरेका छन् र उनी रूथ भाइन उक्त पदको लागी उपयुक्त व्यक्ति भएको बताउँछन्।
साथै उनले निजी अस्पतालका परामर्श सेवा र क्लिनिकहरूलाई पनि सरकारी प्रणालीमा समाहित गरेर सहयोगलाई प्रभावकारी बनाउन सके महामारी पछि पनि हजारौँ जीवन जोगाउन सकिने बिचार राखेका छन्।

र उनले सरकारलाई बहु सांस्कृतिक पृष्ठभूमिका र अङ्ग्रेजी भाषा नबुझ्ने अस्ट्रेलियालीहरूका लागी पनि स्वास्थ्य सेवा सुलभ बनाउन नबिर्सन भनेका छन्।
शुक्रवार बस्ने राष्ट्रिय मन्त्री परिषद्को बैठकमा अस्ट्रेलियाको मानसिक स्वास्थ्य सेवालाई विस्तार गर्ने सम्बन्धमा थप छलफल गरिने बताइएको छ।





