सन् २००९ को अन्त्यमा अस्ट्रेलिया आएकी नेपाली पृष्ठभूमिकी चिकित्सक डा. अनिता अधिकारी हाल सिड्नीमा रहेको रोयल प्रिन्स अलफ्रेड अस्पतालमा इमर्जेन्सी रजिस्टारका रूपमा कार्यरत छिन्।
अस्ट्रेलियामा कोरोनाभाइरसको सङ्क्रमण बढेसँगै प्रत्येक दिन अस्पतालको आकस्मिक कक्षमा विदेश बाट फर्किएर क्वारेन्टिनमा राखिएका देखि श्वास-प्रस्वासको समस्या लिएर अस्पताल आएका बिरामीहरूलाई जाँच्ने डाक्टर अधिकारीको काम हो।
डा. अधिकारीसँग गरिएको कुराकानी सुन्नुहोस्:
"बिमारीहरूलाई परीक्षण गरेर घर,होटेल अथवा सघन कक्ष वा सामान्य वार्डमा भर्ना गर्नेबारे निर्णय मैले गर्नुपर्छ," उनी भन्छिन्।
आकस्मिक कक्षमा काम गर्ने एक डाक्टरका साथै आफू एक आमा र श्रीमती पनि भएकोले प्रत्येक दिन कोरोनाभाइरस सङ्क्रमित बिरामी हेरेर घर फर्कँदा आफ्नो मनमा केही डर रहने उनको भनाइ छ।
तर त्यो डर आफ्नो लागि भन्दा आफ्नो चार वर्षीय छोरी र आफ्नो श्रीमानलाई भाइरस सर्ने हो कि भन्नेमै सीमित रहेको छ।
उनी भन्छिन् “हरेक दिन कोरोना बिरामी हेरेर घर फर्कन्छु, आफूलाई भन्दा पनि छोरी वा श्रीमानलाई रोग सर्ने हो कि भन्ने डर लाग्छ ”
यो डरका बिचमा उनले करिब ४ पटक आफ्नो कोरोना जाँच पनि गराइसकिन् ।

अस्ट्रेलियामै आमाबाबु रहेका आफ्ना सहकर्मीहरूले यस्ता समस्याको सामना गर्न नपरेको देख्दा आफूलाई झनै नेपालको सम्झना गराउने डाक्टर अधिकारी बताउँछिन्।
"मसँग काम गर्ने केही साथीहरू ले आफ्नो बच्चालाई उनीहरूका हजुरबुबा र हजुरआमाका घरमा छाडेका छन्, कति साथीहरूले घर नै छोडेर अन्य साथीसँग मिलेर बस्न थालेका छन्। सम्झन्छु कति भाग्यमानी छन् उनीहरू जसलाई आफ्नो आमा बुबाको साथ छ ।अनि नेपालमा रहनुहुने आफ्नो मामु बाबालाई सम्झन्छु।"
त्यसो त उनलाई अस्पताल वा अन्य स्थानमा काम गर्ने नेपाली देखेर चित्त बुझाउने बाटो पनि मिलेको छ।
"अस्पतालमा सरसफाइको काममा धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू छन्, वार्डमा नेपाली नर्सहरूको उपस्थिति पनि बाक्लै छ, जीपी साथीहरूको पनि यस्तै कथा होला।"
परिवारजन गुमाउनेहरुको पिडा
आफू र आफ्ना सहकर्मीहरूको कठिनाइ, कोरोनाभाइरसका कारण आफ्नो अन्तिम सास फेरी रहेका वृद्ध-वृद्धाहरुहरुका अगाडी सानो रहेको पनि डाक्टर अधिकारीले बुझेकी छन्।
कोरोनाभाइरसका कारण ज्यान गुमाउन लागेकाहरूले आफ्ना छोराछोरीहरूलाई छुन पनि नपाएको देख्दा डाक्टरहरूको पनि आँसु झर्ने उनी बताउँछिन्।
"कोरोनाले सास फेर्न नसकेर जीवनको अन्तिम चरणमा छट्पटाईरहेका वृद्ध-वृद्धाका छोराछोरी समेतले भेट्न पाउँदैनन् । हाम्रो इमर्जेन्सी वार्डमा एउटा ठुलो झ्याल छ अनि त्यो झ्यालबाट बाबुआमासँग बोलेर बिदाईगरेको सुन्दा मुटु पोलेर आउँछ।"
फोन मार्फत मात्र आफन्तहरुसंग कुरा गर्न मिल्ने र कोहीले पुजारी ल्याएर जप गराउने गरेता पनि बिरामीले सुनेका छन् कि छैनन् भन्ने थाहा नभएको देख्दा पनि धेरै दुख लाग्ने डाक्टर अधिकारी बताउँछिन्।
“यो समय सबेदनशिन समय हो अरू प्रति माया सद्भाव र साथ दिएर नै यो सङ्कट बाट पार हुने हो।”
सामुदायिक सहयोगले बढाएको मनोबल

भर्खरै ३५ वर्षमा टेकेकी डाक्टर अनिता अधिकारी चीनको एक मेडिकल स्कुलबाट एम बि बि एस डिग्री हासिल गरेर सन् २००९ को अन्त्य तिर अस्ट्रेलिया आएकी हुन्।
अस्ट्रेलियाको मेडिकल रजिस्ट्रेसनका २ वर्षको निरन्तर मेहनत पछि उनले अस्ट्रेलियामा डाक्टरका रूपमा कार्य गर्ने अनुमति पाइन् र विगत चार वर्ष देखि सिड्नीको क्याम्परडाउनमा रहेको अस्पतालमा उनी कार्यरत छिन् ।
मेलबर्नमा अग्रपङ्क्ति रहेर काम गर्ने चिकित्सक एवम् नर्सिङ स्टाफहरूमा कोरोना सङ्क्रमणको दर उच्च रहेको समाचार बाहिर आइरहँदा अस्पतालको इमर्जेन्सी कक्षमा बिरामीको उपचारमा अनवरत खटिरहेको भेटिन्छिन् ।
कोरोना महामारीका बेला एकै पटक थुप्रै बिरामीहरू हेर्दा आफू निकै हतोत्साही भएता पनि आवश्यक तयारीहरू सबै अस्पतालमा पुरा भएकाले सोचेको जस्तो भया भय स्थिति नआएको उनी बताउँछिन्।
त्यसमाथि समुदाय बाट प्राप्त सहायताले आफूहरूको मनोबल झनै बढाएको पनि अधिकारीको भनाइ छ।
आफ्नो अस्पतालमा रहेको "फिड आवर हिरोज" नाम दिइएको एक फ्रिजबारे बताउँदै उनी भन्छिन्, "कोरोनाका कारण आफै पनि सङ्कटमा परेका रेस्टुरेन्ट र अन्य व्यवसायहरूले पनि हामीहरूका लागि खाना लिएर आउँछन् र फ्रिज नै भरिदिएका छन्।"

अहिले निकै व्यस्त रहेकी डाक्टर अधिकारीलाई कोरोना महामारीको अन्त्य भएपछि केही समय आफ्नो परिवार सँग समय बिताउने मन छ, टिभीमा मात्र नेपाल देखेकी आफ्नी चार बर्सिया छोरीलाई नेपाल देखाउने मन छ।
उनी भन्छिन् “ कोरोना सक्के लगत्तै म मेरी ४ बर्सिया छोरीलाई लिएर नेपाल जाने मन छ , हजुरबुवा हजुरबुवाको फार्म देखाउने मन छ ,पशुपति अनि त्यहाँका बाँदरहरू देखाउने मन छ, नेपाल चिनाउने मन छ।”
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।
मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्:

