सिड्नीमा एक ट्रकसंगको ठक्कर पछि खाना डेलिभरीमा संलग्न थप एक व्यक्तिको मृत्यु भएको छ।
न्यु साउथ वेल्स प्रहरीका अनुसार सोमबार बेलुका रेडफर्न नामक सबर्बमा भएको उक्त घटनामा परिचय पुष्टि नभएका व्यक्ति ट्रकको मुनि परेका थिए। ट्रक बायाँ तर्फ मोड्ने क्रममा डेलिभरी चालकको साइकलले ट्रकसंग ठक्कर खाएको प्रहरीको भनाइ छ।
"साइकल चालक ट्रकको अगाडी नरहेकोले ट्रक ड्राइभरले उनलाई देखेनन्, उनि ट्रकको छेउमा थिए। त्यसैले पनि मोड्ने क्रममा रहेको सवारी साधनलाई ओभरटेक नगर्न आग्रह गरिन्छ," प्रहरी प्रबक्ताले बताए।
मुख्य विषय
- खाना डेलिभरी गर्नेहरु असुरक्षित रहेको दाबी
- मोरिसन सरकारको प्रतिकृया
- डेलिभरी चालकहरु कसको लागि काम गर्नेबारे अवस्था अनिश्चित
उक्त घटनाका साथ् गत सेप्टेम्बर महिनाको अन्त्य देखि अहिले सम्म सवारी साधन दुर्घटनामा परी ज्यान गुमाउने खाना डेलिभरी चालकहरुको संख्या पांच पुगेको छ।
हिजो मात्र खाना डेलिभरीमा संलग्न कामदारहरुको बढ्दो मृत्युलाई "राष्ट्रिय महत्वको संकट" भन्दै त्यस्ता कामदारहरुको सुरक्षाका लागि सरकारी स्तरबाटै थप पहल हुनुपर्ने माग यातायात कर्मचारी संगठन द्वारा गरिएको थियो।
उबर इट्सका लागि आफ्नो साइकलमा डेलिभरी गर्न कार्यरत रहेका बंगलादेशी नागरिक बिजोइ पौलको मृत्यु पछि युनियनको उक्त माग आएको हो।
गत शनिबार रकडेल नामक दक्षिण सिड्नी सबर्बमा भएको एक दुर्घटनामा २७ वर्षीय पौल सवार साइकललाई एक सवारी साधन द्वारा ठक्कर दिइएपछि सेन्ट जोर्ज अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको बताइएको छ।

उनको साइकललाई ठक्कर दिने सवारी साधनको २० वर्षीय चालकलाई अनिवार्य जांचका लागि अस्पताल लगिनुका साथै घटनाबारे प्रहरी द्वारा अनुसन्धान सुरु गरिएको पनि अधिकारीहरुले बताएका छन्।
सन् २०१६ मा अस्ट्रेलिया आएका २७ वर्षीय पौल सिड्नीको युनिभर्सिटी अफ टेक्नोलोजीमा मास्टर्स डिग्री गरिरहेको उनका बहिनी शिमुलले एसबीएस बांग्लालाई बताइन।
गत साढे एक वर्ष देखि उबर इट्सका लागि पार्ट-टाइम डेलिभरी गरिरहेका पौलले दुर्घटनाको समयमा ट्र्याफ़िकको रातो बत्ति बलेकोबेला बाटो काटेको हुनसक्ने प्रहरीले आफुलाई बताएको शिमुलको भनाइ छ।
"उबर इट्सको खाना पुर्याउने क्रममा उसको मृत्यु भयो, उसको ब्यागमा उबरको अर्डर थियो - त्यो म्याकडोनाल्ड्सको अर्डर थियो," उनले भनिन्।
युनियन द्वारा सरकारको आलोचना
यातायात कर्मचारी संगठनले गत दुई महिनामा दुर्घटनामा परी ज्यान गुमाउने मध्ये बिजोइ पौल चौथो व्यक्ति भएको बताउदै उक्त घटना प्रति दुख व्यक्त गरेको छ।
युनियनका राष्ट्रिय सचिव माइकल केन भन्छन यस घटनाले डेलिभरी चालकहरु माथि ठुलो असर पार्ने छ।
"हामीले यस घटनाबारे कार्यस्थलमा भएको मृत्युको रूपमा छानबीन हुनुपर्ने भन्दै वर्क सेफ न्यु साउथ वेल्स नामक कार्यस्थल सुरक्षा नियामक निकायलाई रिपोर्ट गराएका छौं।"
"डेलिभरी कामदारहरुलाई प्रशिक्षण वा सुरक्षा सामग्री बिना बाइकहरुमा पठाईदै छ, उनिहरुले एकदमै कम तलबका लागि दिनरात हाम्रा सडकहरुमा खट्नु परिरहेको छ।"
"उनिहरुसंग बीमाको अधिकार हुदैन र जब उनिहरु घाइते हुन्छन अथवा ज्यान गुमाउछन तब उनिहरुको परिवारले केहि सहायता पाउने कि नपाउनेबारे निर्णय सम्बन्धित संस्थाको चाहना बमोजिम रहन्छ," केनले बताए।

साथै कुनै सुरक्षा बिना कामदारहरुले यसरी ज्यान गुमाउदा पनि मापदण्डहरुको पालना नगर्ने संस्थाहरु माथि सरकारले कदम नचालिरहेको उनको आरोप छ।
गत सेप्टेम्बर महिनामा गरिएको डेलिभरी कामदारहरुको एक सर्वेक्षणलाई उदृत गर्दै ती कामदारहरुले घण्टाको १० डलर भन्दा अलि बढी तलब मात्र कमाउने गरेको यातायात कर्मचारी संगठनले बताएको छ।
झन्डै ९० प्रतिशत चालकहरुको तलब घट्नुका साथै ७० प्रतिशतलाई खाना र शुल्कको लागि पैसा जुटाउन गाह्रो भएको पनि सर्वेक्षणमा बताइएको छ।
संघीय सरकारको प्रतिक्रिया
कार्यस्थल नियम लगायतका औधोगिक मामिला हेर्ने जिम्मा पाएका संघीय मन्त्री क्रिस्चियन पोर्टर ले कार्यस्थल स्वास्थ्य र सुरक्षा सम्बन्धि नियमहरु लागु गर्ने र त्यसको पालना भएको सुनिश्चित गर्ने जिम्मा राज्य र प्रादेशिक सरकारको रहेको बताएका छन्।
सोमबार एक विज्ञप्ति सार्वजनिक गर्दै मन्त्री पोर्टरले भने, "अन्य कार्यस्थलमा झैं गिग इकोनोमीमा काम गर्नेहरुसंग पनि सुरक्षित र स्वस्थ्य कार्यस्थलमा काम गर्न पाउने अधिकारी रहेको छ।"
"संघीय, राज्य र प्रादेशिक कार्यस्थल स्वास्थ्य र सुरक्षा कानूनले पनि व्यवसाय संचालन गर्ने व्यक्तिले आफ्ना सबै कामदारहरुको स्वास्थ्य र सुरक्षा प्रबन्ध सुनिश्चित गर्नुपर्ने प्रष्ट पार्दछ।"
तर खाना डेलिभरी संस्थाका लागि काम गर्नेहरु चाहिं ती संस्थाका कर्मचारी हुन् कि, ठेकदार वा व्यवसाय संचालन गर्ने व्यक्ति हो भन्नेकुरा उनिहरुले खान पुर्याउन कुन संस्थाको प्रयोग गरेका छन् र ती संस्थासंग उनिहरुको कस्तो सहमती भएको छ, त्यसमाथि निर्भर रहने पोर्टरले बताए।
उबर इट्सका एक प्रबक्ताले बिजोई पौलको मृत्युलाई लिएर उनको परिवार प्रति समवेदना व्यक्त गरेका छन्।
अस्ट्रेलिया स्थित आफ्ना "डेलिभरी पार्टनर" हरुलाई बीमा सहितको सहायता प्याकेज प्रदान गरिने जसअन्तर्गत खाना पुर्याउने क्रममा दुर्घटनामा परे वा चोटपटक लागे कामदारहरुलाई सहायता उपलब्ध रहने उबर इट्सको भनाइ छ।
"सडक सुरक्षा हाम्रो व्यवसायको लागि एउटा प्रमुख विषय हो र हामीले डेलिभरी पार्टनरहरु देखि, सरकार र अन्य सम्बन्धित निकायहरुसंग मिलेर सुरक्षित रूपमा खाना डेलिभरी गराउनेबारे काम गरिरहेका छौं," प्रबक्ताले भने।

