SKIP TO MAIN CONTENT

अस्थायी भिसालाई प्राथमिकतामा राखिने प्रधानमन्त्रीको सङ्केत

स्कट मोरिसनले अस्थायी भिसा धारकहरूको योगदान बारे अस्ट्रेलियालीहरूलाई नजर अन्दाज नगर्न भनेका छन्।

Prime Minister Scott Morrison speaking during the Australian Financial Review (AFR) Business Summit.
Prime Minister Scott Morrison speaking during the Australian Financial Review (AFR) Business Summit. Source: AAP

2 min read

Published

Updated



Skip to article content

कोरोनाभाइरस महामारीको चोटबाट देशको अर्थतन्त्र उँभो लाग्दै गर्दा एक व्यापारिक सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोरिसनले सो कुरा बताएका हुन्।

मङ्गलवार अस्ट्रेलियन फाइनान्सियल रिभ्यु बिजनेस समिटमा बोल्दै, अस्थायी भिसामा यहाँ आउने कामदारहरूले रोजगारीको अवसर नखोस्ने, बरु थप जीविकोपार्जनका अवसरहरू सृजना गर्न उल्टै मद्दत गर्ने कुराको हेक्का राख्न उनले देशवासीहरूलाई भने।

"अस्थायी भिसा धारकहरूले हाम्रो अर्थतन्त्रमा स्थानीय कार्य बलले पुरा नगर्ने आवश्यकता कसरी पुरा गर्छ भन्ने बारे हामीले पुनरावलोकन गर्नै पर्छ," प्रधानमन्त्री स्कट मोरिसनले भने।

"अस्ट्रेलियालीहरूको रोजगारीका अवसर छिन्नु भन्दा बरु हामीले, अस्थायी भिसा धारकहरूले कसरी अत्यन्त आवश्यक रहेका जनशक्तिको माग परिपूर्ति गर्न योगदान दिई रहेका छन् भन्ने बुझ्नु जरुरी छ।"

मोरिसनले यस्तो अवस्था महामारीको समाप्ति पश्चात् पनि यथावत् कायमै रहने पनि बताउँदै सङ्घीय सरकारले आफ्नो अध्यागमन नीतिमा व्यापक फेरबदल हुन सक्ने पनि सङ्केत दिएका छन्।

कोभिड-१९ महामारीका कारण दोस्रो विश्वयुद्ध यता नै पहिलो पटक अस्ट्रेलिया बसोबासका लागि आउने मानिसहरूको सङ्ख्या, यसलाई छाडेर अन्यत्र जानेको भन्दा बढी रहेको बताइँदै गर्दा प्रधानमन्त्रीको उक्त भनाई आएको हो।

पछिल्लो सङ्घीय बजेटमा गरिएको एक अनुमान अनुसार चालू आर्थिक वर्ष २०२०-२१ मा मात्रै अस्ट्रेलिया आउने मानिसहरूको सङ्ख्या करिब ७२,००० ले घटेको छ र सन् २०२२-२३ भन्दा अघि यसमा सुधार नहुने पनि बताइएको छ।

यसरी अस्ट्रेलिया बसाई सर्ने मानिसहरूको सङ्ख्यामा ह्रास आउँदै गर्दा सबै भन्दा बढी प्रभावित हुने क्षेत्रमा कृषि रहेको छ।

हर्टीकल्चर वा बागवानीमा मात्रै माग भन्दा करिब २२,००० कामदारहरूको कमी देखिएको अस्ट्रेलियन ब्युरो अफ एग्रीकल्चरल एन्ड रिसोर्स इकोनोमिक्सले अनुमान गरेको छ।

प्रधानमन्त्री मोरिसनले यसलाई पनि अस्थायी भिसामा अस्ट्रेलिया आउने मानिसहरूसँग जोडेर हेरिनु पर्ने बताएका छन्।

"म के भनिरहेको छु भने, हाम्रो यस विषयलाई लिएर एकदम खुल्ला मन छ," मोरिसनले आफ्नो मन्तव्यका क्रममा भने।

"अस्ट्रेलियालीहरूले काम नगर्दा पनि, काम त हुनै पर्‍यो नि!", प्रधानमन्त्री स्कट मोरिसनले कृषि तथा हस्पिट्यालिटी उद्योग जस्ता अस्थायी भिसाका कामदारहरू प्रति आश्रित रहेका क्षेत्रहरूलाई राहत हुने गरी त्यस्ता भिसाका प्रावधानहरूको समीक्षा गर्न सरकार पछि नहट्ने बताउँदै भने।

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now