राष्ट्रिय स्वास्थ्यको सन्दर्भमा सङ्घीय सरकालाई सल्लाह प्रदान गर्ने एएचपीपीसीले देशभरका प्रिमियमहरूसँग एकबद्धता जनाउँदै अति कोरोनाभाइरस प्रभावित भिक्टोरियाका केही स्थानहरूमा नजान वा त्यहाँ बस्ने भए अन्यत्र ठाउँ जानबाट मानिसहरूलाई रोक्न खोजेको हो।
देशभरका प्रमुख स्वास्थ्य अधिकारीहरू सम्मिलित उक्त राष्ट्रिय निकायले एक विज्ञप्ति जारी गर्दै सामुदायिक रूपमा भइरहेका सङ्क्रमणका घटनाहरू नियन्त्रणमा नभएसम्मका लागि अन्यत्रका मानिसहरूलाई ती “हटस्पट”हरू मा जान र त्यहाँ बस्ने मानिसहरूलाई ती स्थान विशेष छाडेर अन्यत्र भ्रमण गर्ने योजना हाललाई त्याग्न भनेको छ।
केहीले समितिको सो बयान लाई अभूतपूर्व टिप्पणीको रूपमा हेरेका छन्।
मेलबर्नमा एक जीपीका रूपमा कार्यरत व्योम शर्माले समितिको विज्ञप्तिलाई ठुलै मानेका छन्।
उनले ट्विटरमा लेखेका छन्, “यसलाई हल्काफुल्का रूपले हेरिनु हुँदैन।”
भिक्टोरियाली सरकारले ह्युम, केसी, ब्रिम्ब्याङ्क, मोरल्याण्ड, कार्डेनिया र डारेबिन लगायतका काउन्सिल क्षेत्रलाई अति कोरोना प्रभावित क्षेत्रको रूपमा तोकेको छ।
राज्य सरकारका अनुसार अप्रिल महिनाको अन्त्य देखीका आधाभन्दा बढी सङ्क्रमण परिवारजनहरूले एक आपसमा भेट गर्दा भएका हुन्।
दिनानुदिन यसरी सङ्क्रमण सङ्ख्या बढ्दै जाँदा भिक्टोरिमा लगाइएको सङ्कटकाल अवधि पनि थप एक महिनाका लागि बढाइएको छ र क्विन्सल्याण्ड लगायतका राज्यहरूले अन्तर राज्य यात्रामा गरेको प्रतिबन्धको समयसिमा लम्बिने सङ्केत दिएका छन्।

क्विन्सल्याण्डका स्वास्थ्य मन्त्री स्टिभेन माइल्सले आइतबार पत्रकारहरूसँग बोल्ने क्रममा अन्यत्रबाट स्कुल छुट्टीका लागि आफ्नो राज्यमा घुम्न आउने मानिसहरूसँगै कोभिड-१९ सङ्क्रमण पनि वृद्धि हुने भयका कारण आफूहरू अहिले नै राज्यका सीमा खोल्ने पक्षमा छैनन्।
“बाहिरबाट आउने मानिसहरूले कोरोनाभाइरस फैलाइदिए हामीले फेरी कडा प्रतिबन्धहरू तर्फ फर्किनुपर्नेछ,” माइल्सले भने।
हाललाई क्विन्सल्याण्ड राज्यले सम्पूर्ण मेलबर्न महानगरीय क्षेत्रलाई कोरोना हटस्पटका रूपमा सूचीकृत गर्दै त्यहाँ बस्ने मानिसहरूलाई क्विन्स्ल्याड प्रवेश गर्दा अनिवार्य रूपमा १४ दिने क्वारेन्टीनमा बस्नुपर्ने व्यवस्था गरेको छ।

तर, सङ्घीय वित्त मन्त्री मथियास कोर्म्यानले भने न्यु साउथ वेल्स (एनएसडब्लु) तथा भिक्टोरियाको सीमा हालसम्म बन्द नभएको उदाहरण दिँदै त्यसले एनएसडब्लुमा कोरोना सङ्क्रमण नबढेको टिप्पणी गरेका छन्।
उनले भने कि भिक्टोरियाली क्लस्टरका कारण अन्य राज्यहरूले आ-आफ्नो सीमा बन्द राखी राख्नु पर्ने कुनै कारण छैन।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ। यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

