विशेष गरेर विदेशबाट अस्ट्रेलिया फर्कने मानिसहरूबाट कोभिड-१९ सङ्क्रमण समुदायका अन्य सदस्यहरूमा फैलन सक्ने सम्भावनालाई ध्यानमा राखेर ल्याइएको उक्त १४-दिने होटेल क्वारेन्टिन सम्बन्धी नियमले सोचे अनुरूपको काम गरेको न्यु साउथ वेल्स राज्यकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनले बताएकी हुन्।
बेरिजिक्लियनका अनुसार विदेशबाट फर्किने मानिसहरूमा कोरोना सङ्क्रमण दर निकै उच्च रहेको र त्यस कारण जोखिम पनि ठुलै छ।
सरकारी आँकडाका अनुसार बाहिरी मुलुकबाट अस्ट्रेलिया फर्किने मानिसहरूको कुल सङ्ख्याको चार प्रतिशतमा कोभिड-१९ सङ्क्रमण देखिएको छ।
“मेरो विश्वास छ कि हामीले चालेको त्यस्तो कदमबाट समुदाय सुरक्षित छ र त्यो निकट भविष्यमा जारी रहनु पर्छ, किनकि जोखिमको अवस्था कायमै छ।”
यसका साथै, अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सोही होटेल क्वारेन्टिनको व्यवस्था अन्तर्गत नै आफ्नो राज्यका विश्वविद्यालयहरूमा फिर्ता आउन दिने बारे आफ्नो सहमति रहने पनि प्रिमियर बेरिजिक्लियनको भनाइ छ।

तर, सङ्क्रमणको सम्भावित दोस्रो लहर प्रति आफू सचेत रहेको बताउँदै उनले प्रतिबन्धहरू खुकुलो बनाइँदै गर्दा सामुदायिक रूपमा रोग सर्ने बारे सबैलाई सतर्क रहन आह्वान गरेकी छिन्।
“यो भाइरस डरलाग्दो किसिमले सर्ने खालको छ, यो भयानक छ,” ग्लाडिस बेरिजिक्लियनले भनिन्।
“अहिलेसम्म हामीले यसको रोकथाम एवं नियन्त्रणमा राम्रै प्रगति गरेता पनि मानिसहरूले यो बारे वास्ता गर्न र नियमहरूको पालना गर्न छाडे, अवस्था यस्तै नरहन सक्छ।”
लगूना स्ट्रिट पब्लिक स्कूलबारे छानबिन
यसैबिच, स्वास्थ्य अधिकारीहरूले दक्षिणी सिड्नीको लगूना स्ट्रिट पब्लिक स्कूलकी एक शिक्षिका कसरी सङ्क्रमित भइन् भनेर अनुसन्धान गर्न जारी राखेका छन्।
ती शिक्षिकाको सम्पर्कमा आएको हुनसक्ने सम्भावनाका बिच उक्त प्राथमिक विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई क्वारेन्टिनमा बस्न भनिएको छ।

विशेष गरेर ती शिक्षिका सङ्क्रमित अवस्थामा रहँदा कति दिनसम्म विद्यालय पुगेर काम गरिन् भन्ने कुरा ठेगान नहुँदा राज्यका स्वास्थ्य अधिकारीहरूले उक्त विद्यालयलाई जुन २४ सम्मका लागि बन्द गरिदिएको पनि प्रिमियर बेरिजिक्लियनले बताइन्।
“मलाई लाग्छ कि सतर्क रहनु नै उत्तम हो र मलाई यो पनि उत्तम लाग्छ कि हामीले सबैलाई सकेसम्म सुरक्षित राख्न ध्यान दिनुपर्छ, विशेष गरी जब यो सामुदायिक रूपमा भएको सङ्क्रमण हो।"
योसँगै सदरल्यान्ड शायरका बासिन्दाहरूलाई कुनै लक्षण देख्नासाथ जाँच गराउन जान अधिकारीहरूले आग्रह गरेका छन्।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ। यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

