जुन महिनाको १३ तारिखदेखि व्यायामशालाहरू माथि लगाइएको प्रतिबन्ध फुकुवा हुने तयारी हुँदै गर्दा, कोरोनाभाइरस महामारीका कारण मार्च अन्त्यदेखि बन्द भएका सामुदायिक खेलकुद त्यसको दुई हप्ता पछि सुरु हुने घोषणा बुधवार गरिएको हो।
पहिले बालबालिकाको सामुदायिक खेलकुद मात्र जुलाई १ देखि सञ्चालन हुने बताइएको भए पनि बुधवार राज्य सरकारका अधिकारीहरूद्वारा गरिएको घोषणामा वयस्कहरूको खेलकुद माथिको प्रतिबन्ध पनि सोही मितिदेखि फुकुवा हुने उल्लेख छ।
तर, व्यावसायिक खेलकुदका हकमा भने दर्शकहरू खेल आयोजना स्थान मै पुगेर त्यसको आनन्द उठाउन अझै केही समय पर्खनु पर्नेछ।

मानिसहरू पुन त्यस प्रकारका खेल प्रत्यक्ष उपस्थित भएर सुरक्षित रूपमा हेर्न पाउन भनेर राज्य सरकारले स्टेडियम सञ्चालकहरूलाई कोभिड-१९ व्यवस्थापन योजना बनाउन निर्देशन दिइसकेको बताएको छ।
न्यु साउथ वेल्सका खेलकुद मन्त्री जेफ लीले एक विज्ञप्ति जारी गर्दै भनेका छन् कि कोभिड-१९ को फैलावट निकै काम भएका कारण प्रतिबन्धहरू फुकुवा गर्न सहज भएको छ।
“समुदायका सदस्यहरूले कडा सामाजिक दुरीका दिशा निर्देशनहरू पालना गरेकै कारण यो घोषणा गर्न सम्भव भएको हो।”

बुधवार बिहान च्यानल नाइनसँग कुरा गर्ने क्रममा न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनले हालको अवस्थाबाट निराश भएका व्यापार-व्यावसायहरूलाई अलिक केही समय धैर्य धारण गर्न आग्रह गरेकी छिन्।
“हामीले थप सङ्क्रमण भेटका छैनौँ र यो एक सकारात्मक कुरा हो, र यो स्थितिमा आगामी केही समयका लागि कुनै परिवर्तन भएन भने हामी थप प्रतिबन्धहरू फुकुवा गर्दै जानेछौँ,” बेरिजिक्लियनले भनिन्।
न्यु साउथ राज्यभर हालसम्म ३,११४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेका छन्।

भिक्टोरियामा थप चार सङ्क्रमित, दुईको स्रोत अज्ञात
उता छिमेकी राज्य भिक्टोरियामा बुधवार थप चार जनालाई कोभिड-१९ सङ्क्रमण पुष्टि भएको त्यहाँका अधिकारीहरूले बताएका छन्।
ती चार मध्ये दुई जना कसरी सङ्क्रमित भए भन्ने बारे केही थाहा नभएको कारण स्थानीय स्वास्थ्य अधिकारीहरूले आफूहरू चिन्तित रहेको बताएका छन्।
यी चार नयाँ सङ्क्रमित व्यक्तिहरूसँगै भिक्टोरियामा कुल सङ्क्रमण सङ्ख्या १,६९१ पुगेको छ।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

