सङ्घीय सरकारद्वारा राज्य तथा टेरीटरी सरकारहरूसँग मिलेर केही विद्यार्थीहरूलाई अस्ट्रेलिया फर्काउने योजनाको परीक्षण गर्ने बारे काम गरिरहेको प्रधानमन्त्री स्कट मरिसनले बताएका छन्।
शैक्षिक संस्था, राज्य तथा टेरीटरी सरकारसँग मिलेर बनाइएको योजना अन्तर्गत केही अन्तर्राष्ट्रिय विद्यार्थीहरू आगामी महिनामा अस्ट्रेलिया आउने सक्ने देखिएको हो।
प्रधानमन्त्री मोरिसनका अनुसार सम्पूर्ण व्यवस्थापनका बारेमा अन्तिम निर्णय लिन बाँकी रहे पनि उनले विदेशी विद्यार्थीहरूका लागी देशको सिमाना फेरी खुल्ला गर्नका लागी त्यो भन्दा अगाडी आन्तरिक सीमा खुल्ला गरिनु पर्नेमा भने जोड दिए।
"यदि तपाईँको राज्यमा सिड्नीबाट आउन सकिँदैन भने सिंगापुरबाट कोही पनि आउन सक्दैन र यदि तपाईँको सिमाना अन्तर्राष्ट्रिय विद्यार्थीका लागी खुल्ला गर्न चाहनुहुन्छ भने सर्वप्रथम अस्ट्रेलियाका लागी सीमा खुल्ला गरिनु पर्छ।"
उता, अस्ट्रेलियाका विश्वविद्यालयहरूले भने कोभिड-१९ यातायात प्रतिबन्धका कारण आगामी ४ वर्षसम्ममा १६ अर्व डलर बराबरको आम्दानी जोखिममा रहने भन्दै सचेत गराएका छन्।
अन्तर्राष्ट्रिय शिक्षा सङ्घ अस्ट्रेलियाका प्रमुख कार्यकारी फिल हनीवूडले सरकारको उक्त घोषणालाई स्वागत गरेता पनि सो योजनाको सफलता माथि प्रश्न चिन्ह उठाएका छन्।
उनको प्रश्न रहेको छ, “के सम्पूर्ण राज्य तथा प्रादेशिक सरकारहरूले राष्ट्रिय योजनामा समर्थन गर्छन्?”

यस सम्बन्धमा दक्षिण अस्ट्रेलियाले जुलाई २० सम्ममा आफ्नो राज्यको सीमा, अन्तर-राज्य यात्राका लागी खुल्ला गरिने बताएको छ भने न्यु साउथ वेल्स, भिक्टोरिया र एसीटीमा भने अहिले कुनै पनि किसिमको अन्तर राज्य यात्रा माथि प्रतिबन्ध लगाइएको छैन।
दक्षिण अस्ट्रेलियाका प्रिमियर स्टेभन मार्सलले आगामी हप्ता थप घोषणाहरू गरिने सम्भावना रहेको बताएका छन्।
क्विन्सल्याण्डले आफ्नो सीमा जुलाई १० देखि खुल्ला गर्ने योजना बनाएको छ भने तास्मानियाले पनि जुलाई देखि नै प्रतिबन्धहरू खुल्ला गर्ने बताए पनि निश्चित मिति भने तोकिसकेको छैन।
तास्मानियाका प्रिमियर पिटर गट्वीनले अन्य राज्यहरूमा के भइरहेको छ भन्ने अवस्थालाई हेरेर मिति तोकिने बताएका छन्।
राष्ट्रिय मन्त्रीपरिषद्मा जुलाई देखि ४० हजार भन्दा कम क्षमता भएका खेलकुद रङ्गशालाहरूलाई १० हजार मानिस उपस्थित हुन पाउने व्यवस्थाका साथ खोल्न स्वीकृति दिने बारे सहमति भएको छ।
त्यस्ता स्थानहरूले आवश्यक सामाजिक दुरीलाई कायम राख्दै मानिसहरूलाई बस्ने व्यवस्था मिलाउन टिकट काट्नु पर्ने व्यवस्था राख्नु पर्नेछ।
बन्द स्थानमा १०० जना मात्र भेला हुन पाउने व्यवस्थामा परिवर्तन ल्याउँदै अहिले सीमित सङ्ख्या नभए पनि प्रत्येक व्यक्ति बिच ४ वर्ग मिटरको दुरी हुनु पर्ने नियम ल्याइएको छ।

यसले गर्दा कुनै पनि विवाह वा अन्तिम क्रियामा कति मानिस भेला हुने भन्दा पनि त्यस्ता समारोह गरिने स्थान कति ठुलो र कति क्षमताको छ भन्ने कुराले महत्त्व राख्नेछ।
नाइट क्लबहरू भने अहिलेको लागी बन्द नै रहने छन्।
आगामी जुलाई देखि खेलकुद रङ्गशालामा १० हजार सम्म भेला हुन पाउने नियम ल्याए पनि सङ्घीय सरकारले सडकमा हुने प्रदर्शनहरूमा सहभागी नहुन चेतावनी दिएको छ।

प्रधानमन्त्री मोरिसनले त्यस्ता र्यालीहरूमा सहभागी हुनेहरूले स्वास्थ्य तथा आर्थिक जोखिम बढाउने पुनः दोहोर्याएका छन्।
प्रमुख स्वास्थ्य अधिकारी प्रोफेसर ब्रेण्डन मर्फीले प्रदर्शनकारीहरू लाई मास्क र स्यानिटाइजर दिएर कोरोना भाइरस सङ्क्रमण फैलने जोखिमलाई हटाउन नसकिने बताएका छन्।
यी पनि पढ्नुहोस्:

नेपाल: विदेशमा फसेका आफ्ना नागरिक स्वदेश फिर्ता ल्याउने कार्य सुरु

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ। यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:







