सङ्घीय सरकारद्वारा परीक्षणको रूपमा सुरु गरिएको उक्त योजना अन्तर्गत , अस्ट्रेलियन नेशनल युनिभर्सिटी र युनिभर्सिटी अफ क्यानबेराका करिब ३५० बिद्यार्थीहरुलाई विशेष चार्टर उडान मार्फत अस्ट्रेलियन क्यापिटल टेरोटोरी ल्याइने तयारी भएको हो ।
क्यानबेरामा अवतरण पश्चात् ती विद्यार्थीहरूले १४ दिन क्वारेन्टिनमा बिताउनु पर्नेछ।
देशभरका विश्वविद्यालयहरूको प्रतिनिधित्व गर्ने छाता सङ्गठन युनिभर्सिटीज अस्ट्रेलियाकी प्रमुख क्याट्रिओना ज्याक्सनले सो सरकारी कदमको स्वागत गर्दै, कोरोनाभाइरसका कारण अन्तर्राष्ट्रिय विद्यार्थी सम्पूर्ण रूपले गुमे, विश्वविद्यालयहरुले यो वर्ष मात्र साढे चार अर्व डलर भन्दा बढीको घाटा बेहोर्नुपर्ने बताएकी छन्।
“यो सबैको लागि राम्रो समाचार हो। फिर्ता आउने ती विद्यार्थीका लागि मात्र होइन, रोजगारी र व्यापार-व्यावसायहरूका लागि पनि यो राम्रो समाचार हो,” ज्याक्सनले भनिन्।
“यी विद्यार्थीहरू हाम्रा विश्वविद्यालयका लागि निकै जरुरी छन् र उनीहरू पनि अस्ट्रेलिया फर्किन लालायित छन्।”

त्यसै गरी, क्यानबेरा विश्वविद्यालयका उपकुलपति प्याड्डी निक्सनका अनुसार उक्त परीक्षण योजना अस्ट्रेलियाको समग्र उच्च अध्ययन क्षेत्रका लागि नै महत्त्वपूर्ण हुनेछ।
“हामीले अहिले निश्चय नभइसकेको तर एसिया प्रशान्त क्षेत्रको कुनै एक हबबाट विमान मार्फत विद्यार्थीहरूलाई ल्याउने सोच बनाएका छौँ। त्यसरी आउने विद्यार्थीहरू पक्कै पनि दुई हप्ताका लागि क्वारेन्टिनमा बस्नेछन्,” उनले भने।
यो व्यवस्था मार्फत आउने विद्यार्थीहरूलाई अनावश्यक व्ययभार नपरोस् भन्नका लागि पनि उनीहरूले सामान्य अवस्थामा खर्चिने रकम नै लाग्ने प्रतिबद्धता आफूहरूको रहेको प्राध्यापक निक्सनले बताए।“चार्टर उडानका लागि अपुग रकम जसमा आइसोलेसनमा बस्न लाग्ने खर्च आदि पर्छ, त्यो विश्वविद्यालय र एसीटीको सरकार दुवै मिलेर बहन गर्नेछन्।”

अझ थप अन्तर्राष्ट्रिय विद्यार्थीलाई अस्ट्रेलिया आउन दिनुपर्ने माग बिच पर्यटन मन्त्री साइमन बर्मिङ्गघम भने, बाह्य पर्यटकहरूको आगमनका लागि नयाँ वर्षसम्म नै कुर्नुपर्ने बताउँछन्।
अस्ट्रेलियालीहरूलाई सुरक्षित राखिराख्न त्यसो गर्नुपर्ने उनको धारणा छ।
“न्युयोर्कको सामूहिक चिहान होस् वा युरोपका अस्पताल भरिएर सडकमा छरिएर बस्नुपरेका बिरामी, अस्ट्रेलियामा त्यस्तो अवस्था आउन नदिन अन्तर्राष्ट्रिय सीमामा लागू गरिएको प्रतिबन्ध सम्बन्धी व्यवस्था निकै महत्त्वपूर्ण छ, त्यसैले यो अझ केही समय यसै गरी कायम हुनेछ।”
सङ्घीय सरकारद्वारा राज्य तथा टेरीटरी सरकारहरूसँग मिलेर केही विद्यार्थीहरूलाई अस्ट्रेलिया फर्काउने योजनाको परीक्षण गर्ने बारे तयारी भइरहेको प्रधानमन्त्री स्कट मरिसनले केही दिन अघि मात्र बताएका थिए।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ। यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

