SKIP TO MAIN CONTENT

कोरोना सङ्कट: साउथ अस्ट्रेलियामा एक सहित अस्ट्रेलियामा हालसम्म ४५ जनाको मृत्यु

एडिलेडका एक ७५ वर्षीय पुरुष कोभिड-१९ सङ्क्रमणका कारण साउथ अस्ट्रेलियामा ज्यान गुमाउने पहिलो व्यक्ति बन्न पुगेका छन् ।

Healthcare workers administer COVID-19 tests at the Bondi Beach drive-through testing center on Monday.
Healthcare workers administer COVID-19 tests at the Bondi Beach drive-through testing center on Monday. Source: Getty Images

2 min read

Published

Updated



Skip to article content

साउथ अस्ट्रेलियाको स्वास्थ्य विभागका अनुसार ती ७५ वर्षीय पुरुषले सोमबार राती आफ्नो अन्तिम सास रोयल एडिलेड अस्पतालमा लिएका थिए।

उनी अरू नै राज्य गएको बखत कोभिड-१९ बाट सङ्क्रमित हुन पुगेको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

यो पछिल्लो घटनासँगै, अस्ट्रेलियामा हालसम्म ४५ जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भइसकेको छ भने सरकारी आँकडाहरूका अनुसार देशभर कुल ५,७९५ जना कोभिड-१९ बाट सङ्क्रमित पुष्टि भइसकेका छन्।

विगत केही दिन यता नयाँ सङ्क्रमणका मामिलाहरू घटेता पनि मृत्यु हुनेको सङ्ख्यामा एकाएक वृद्धि भएको देखिएको छ।

आइतबार पाँच जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण अस्ट्रेलियामा मृत्यु भएकोमा सोमबार ६ जना उक्त सुचीमा थपिएका थिए।

अस्ट्रेलियाका राज्यहरूको कुरा गर्दा न्यु साउथ वेल्स हालसम्म कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित राज्य बन्न पुगेको छ।

न्यु साउथ वेल्समा मात्रै यो समाचार तयार पारुन्जेल २१ जनाले आफ्नो ज्यान गुमाउनुका साथै २,६८६ जना सङ्क्रमित पुष्टि भइसकेका छन्।

१० करोड डलरको नयाँ राहत प्याकेज

न्यु साउथ वेल्स राज्यकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनले मङ्गलवार बिहान १० करोड डलरको एक नयाँ राहत प्याकेजको घोषणा गरेकी छिन्।

न्यु साउथ वेल्स राज्यमा कार्यरत हजारौँ स्वास्थ्यकर्मीहरू लक्षित उक्त राहत प्याकेजको करिब ७० प्रतिशत कार्यस्थलमा निःशुल्क पार्किङ्ग एवं सुरक्षित आवासका लागि विनियोजन गरिएको छ।

बेरिजिक्लियनका अनुसार ३.५ करोड डलर चाहिँ “अत्यावश्यक अनुसन्धान”का लागि हो।

आफ्नो घरमा रहेका कमजोर तथा असुरक्षित पारिवारिक सदस्यहरूलाई आफूबाट रोग व्याधि नसरोस् भन्नका लागि स्वास्थ्यकर्मीहरूले नचिनेका मानिसहरूसँग सहयोग माग्न थालेपछि राज्य सरकारले उक्त कदम चालेको हो।

यसबारे थप बुझ्न तलको लिङ्कमा थिच्नुहोस्:

उता, सङ्घीय सरकारले अस्ट्रेलियालीहरूलाई आसाको किरण देखाउन पुनः दैनिक रूपमा कोभिड-१९ तथ्याङ्क प्रकाशित गर्ने बताएको छ। विगत एक महिनाभन्दा अगाडीबाट सङ्घीय स्वास्थ्य मन्त्रालयले त्यस प्रकारको सूची एवं रेखाचित्र प्रकाशित गरेको थिएन।

सरकारका अनुसार हालसम्म २,४३२ जना कोरोनाभाइरस सङ्क्रमणबाट पूर्ण स्वास्थ्य भइसकेका छन् र यो सङ्ख्या अस्ट्रेलियामा सङ्क्रमित भएको कुल सङ्ख्याको झन्डै एक तिहाइ रहेको पनि उसले बताएको छ।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now