प्रमुख बुँदाहरू:
- १ अर्व भन्दा कमको व्यापार गर्ने चाइल्डकेयर सेन्टरहरूका लागी लागू
- आगामी ६ तारिख देखि सुरु हुने
- देशभरका १३,००० बाल स्याहार केन्द्रहरू चालू राख्न आर्थिक सहायता
- हाललाई आगामी ६ महिनासम्म कुनै शुल्क तिर्नुपर्ने छैन
सङ्घीय सरकारको उक्त घोषणासँगै, चाइल्डकेयर भनेर चिनिने बाल स्याहार केन्द्रहरूमा, आफ्ना बच्चाहरू पठाउने अत्यावश्यक सेवामा आबद्ध कर्मचारीहरूले कम्तीमा पनि आगामी ६ महिनासम्म कुनै शुल्क तिर्नुपर्ने छैन।
यसका साथै, सरकारले देशभरका १३,००० बाल स्याहार केन्द्रहरू चालू राख्न आर्थिक सहायता प्रदान गरिने बताएको छ।
जारी कोरोनाभाइरस सङ्कटका कारण बाल स्याहार केन्द्रहरूमा नयाँ भर्ना एवं बाल -बालिकाको उपस्थितमा ह्रास हुँदै गर्दा प्रधानमन्त्रीले उक्त घोषणा बिहीबार दिउसो क्यानबेरामा गर्दै भने, "यदि यो अर्थतन्त्रमा तपाईँसँग रोजगारी छ भने त्यो अत्यावश्यक काम हो।"
"यो महत्त्वपूर्ण छ कि कामकाजी बाबुआमाहरू, जसका बालबालिका छन्, उनीहरूले बच्चाको हेरचाहमा पहुँच पाउनु र ती सुविधाहरू उनीहरूका लागि उपलब्ध हुनु जरुरी छ।"

उक्त घोषणा अनुसार, बाल स्याहार केन्द्रहरूको यथोचित शुल्क सीमाको आधा हिस्सा सरकारले आगामी छ महिनाका लागि तिरिदिने छ।
तर सरकारी सहायता प्राप्त गर्न बाल स्याहार केन्द्रहरूले आफ्नो ढोका आगामी ६ महिनासम्म बन्द गर्न र अभिभावकहरूसँग पनि कुनै शुल्क उठाउन पाउने छैनन्।
आगामी ६ तारिख देखि सुरु हुने उक्त सरकारी अनुदान कार्यक्रमले २ मार्च भन्दा १५ दिन अगाडीको समयसम्म भर्नालाई समेट्ने बताइएको छ।
शिक्षा मन्त्री ड्यान टिहानका अनुसार करिब १ दशमलव ६ अर्व डलरको लागतमा लागू गर्न तयारी गरिएको उक्त योजनाले हाल प्रचलनमा रहेको प्रणालीलाई कोरोनाभाइरस सङ्कट अवधिभरका लागि विस्थापित गर्नेछ।
बाल स्याहार क्षेत्रले जबकीपर सरकारी आर्थिक सहायताको लगभग एक अर्व डलरमा पनि पहुँच राख्न सक्षम हुने समेत बताइएको छ।
मन्त्री टिहानका अनुसार बाल स्याहार केन्द्रहरूको कुल खर्चको ६० प्रतिशत तलब रहेको छ र जबकीपर सरकारी आर्थिक सहायता कार्यक्रम अन्तर्गत उक्त क्षेत्रले एक अर्व डलरसम्म प्राप्त गर्न सक्नेछ।
शुल्क तिर्ने अभिभावकहरूका लागि उनीहरूले तिर्नु पर्ने पूरक शुल्क, यो नयाँ व्यवस्था लागू हुन्जेलका निमित्त मिनाहा गरिदिने र सो सुविधा २३ मार्चदेखि नै पाइने पनि उनले बताए।
यसका साथै ड्यान टिहानले बाल स्याहार केन्द्रहरूद्वारा अत्यावश्यक काममा रहेका अभिभावकहरूका साथै सुरक्षित बालबालिकाहरूका लाई प्राथमिकता दिइने र त्यस पछि स्थान उपलब्ध भएको खण्डमा मात्र आफ्नो बच्चा झिकी सकेका अभिभावकहरूले ठाउँ पाउने बताएका छन्।

उता, प्रधानमन्त्री स्कट मरिसनले भने बालबालिकाहरूलाई स्कुल वा चाइल्डकेयर सेन्टर पठाउने वा नपठाउने बारे स्वास्थ्य सुझावमा हालसम्म कुनै फेरबदल नभएको पनि स्पष्ट पारेका छन्।
“स्कुलमा जाँदा वा बाल स्याहार केन्द्रमा जाँदा, बालबालिकाहरूलाई कुनै स्वास्थ्य जोखिम छैन,” मरिसनले भने।
तर पनि धेरै अभिभावकहरूले आफ्ना बालबालिकाहरू बाल स्याहार केन्द्रबाट झिकेका कारण आर्थिक रूपमा ती सञ्चालन मै रहन नसक्ने स्थितिमा पुगेको प्रधानमन्त्रीको भनाइ थियो।
“अहिले हामीले यहाँ के व्यवस्था गरेका छौ भने, कामकाजी मानिसहरूले आफ्नो रोजीरोटी गुमाउने गरी आफ्नो काम छाड्नुपर्ने छैन,” स्कट मरिसनले भने।
प्रधानमन्त्री स्कट मरिसनले कोरोनाभाइरस सङ्कट अवधिभरका लागि गरेको निःशुल्क बाल स्याहार कार्यक्रम घोषणा १ अर्व भन्दा कमको व्यापार गर्ने चाइल्डकेयर सेन्टरहरूका लागी लागू हुनेछन्।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।
