कोरोनाभाइरस महामारीको कारण अस्ट्रेलिया लगायत विश्वभरि नै ठुलो आर्थिक सङ्कट सिर्जना भएका छन्।
घर भाडा तिर्न र अत्यावश्यक सामाग्रीहरूको जोहो गर्न, एकातर्फ यहाँ बसोबास गर्ने नागरिक तथा स्थायी बासिन्दा का लागि सरकारी सहायक भत्ताबारे घोषणा गरिएका छन् भने अन्तर्राष्ट्रिय विद्यार्थी तथा अस्थायी भिसामा अस्ट्रेलिया आएकाहरूलाई चाहिँ हातमुख जोड्नै हम्मे परिरहेको समाचारहरु पनि आइनै रहेका छन्।

यसैक्रममा अस्ट्रेलियाका केही विश्वविद्यालयहरूले कोभिड-१९ का कारण मारमा परेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई राहत स्वरूप केही रकम उपलब्ध गराउनेदेखि आफ्नो शुल्कमा छुट दिने लगायतका कार्यक्रमहरू घोषणा गर्न थालेका छन् जस बारे थप जान्न यहाँ हेर्नुहोस्।
यसका अतिरिक्त विभिन्न नेपाली सामुदायिक सङ्घ तथा सङ्गठनहरूले पनि आ-आफ्नै तजबिजमा विभिन्न राहत प्रदान गर्न सुरु गरिसकेका छन्।
“म नेपालबाट आउँदा जीएफसी उत्पन्न आर्थिक मन्दी व्याप्त थियो। दुई चार महिना त निकै गाह्रो भयो - अस्ट्रेलिया आएको केही महिना मात्रै भएको थियो - घर फर्कौँ भने नि पैसो थिएन - यहाँ बसौँ न त भन्दा नि खान लाउन कै धौ धौ,” हाल जीलङ्ग नेपाली सङ्घका अध्यक्ष नीरज कारञ्जितले, आफ्नो संस्थाद्वारा भिक्टोरियाको दोस्रो ठुलो सहरमा भर्खरै आएका अन्तर्राष्ट्रिय विद्यार्थी तथा अन्य नेपालीहरूलाई राहत वितरण सुरु गरेको बारेमा एसबीएस नेपालीसँग कुरा गर्दै भने।
विशेष गरेर क्वारेन्टिनमा बस्नुपरेका र रोजगारी नभएकालाई आफ्नो समूहले सहयोग गरिरहेको उनले बताए।
जीलङ्ग नेपाली सङ्घ जस्तै गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलिया र अन्य थुप्रै सामुदायिक संस्थाहरूले गरेको थालनी गरेको काम बारे जान्न यहाँ थिच्नुहोस्।
अब सरकारी घोषणामा के छ र त्यसले के काम गर्छ भन्ने बारे चर्चा गरौँ।
जबकीपर भुक्तानी

गत सोमबार मात्रै प्रधानमन्त्री स्कट मरिसन तथा ट्रेजरर जस फ्राईडेनबर्गले घोषणा गरेको १३० अर्व डलरको ऐतिहासिक सरकारी आर्थिक सहायता प्याकेजको आधिकारिक नाम नै जबकीपर पेमेन्ट हो।
सङ्घीय सरकारका अनुसार जबकीपर भुक्तानी अनुदान योजनाले करिब ६० लाख अस्ट्रेलियालीहरूलाई आगामी ६ महिनासम्मका लागि लाभ पुर्याउने छ।
सुन्दा उस्तै लाग्ने भएता पनि यो जबसीकर भुक्तानी भन्ने आर्थिक सहायता भन्दा नितान्त भिन्नै योजना हो, जुन पहिले न्यु स्टार्ट भुक्तानी भनेर परिचित थियो।
कोरोनाभाइरस महामारी भन्दा अगाडी नै रोजगारी गुमाएका मानिसहरूलाई दिइने सरकारी भत्ताको नाम न्युस्टार्ट रहेको थियो।

मार्च १ तारिख यता कोरोनाभाइरस महामारीका कारण आफ्नो रोजगारी गुमाउन पुगेका अस्ट्रेलियाली नागरिक तथा स्थायी भिसामा रहेकाहरूले जबकीपर भुक्तानी सुविधा प्राप्त गर्न सक्नेछन्।
कर्मचारीहरू र रोजगारदाता बिच सम्बन्ध नटुटोस् अनि हाल लागू भएका प्रतिबन्धहरू खुकुलो पारिए पछि उनीहरू सजिलै काम तथा व्यापार व्यवसायमा फर्कीयुन भन्ने हेतुले उक्त कार्यक्रम निर्माण गरिएको सरकारको भनाई छ।
यस योजना अन्तर्गत हरेक योग्य रोजगारदाताले आफ्ना प्रत्येक योग्य कामदारका लागि प्रति दुई हप्ता १,५०० डलर प्राप्त गर्नेछन्।
जबकीपर भुक्तानीका लागि योग्य हुन, रोजगारदाताहरूले कोरोनाभाइरस प्रकोपका कारण, आफूहरूको व्यवसाय अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशत भन्दा बढी घटेको देखाउन सक्नुपर्नेछ।
एक अर्व भन्दा बढीको व्यापार गर्ने रोजगारदाताहरूले चाहिँ आफ्नो आर्थिक कारोबार ५० प्रतिशतले घटेको देखाउन सके मात्र जबकीपर भुक्तानीका लागि योग्य हुन सक्नेछन्।

जबकीपर पेमेन्टका लागि फुल टाइम, पार्ट टाइम वा क्याजुअल सबै योग्य हुने व्यवस्था सरकारले गरेको छ। यसका अतिरिक्त, तपाईँ एकल व्यवसायी हुनुहुन्छ भने पनि यो भुक्तानी पाउन सक्नुहुनेछ।
सोसल डिस्टेनसिङ्ग भनिने सामाजिक दुरी नीतिका कारण आफू काम गर्ने ठाउँ बन्द भएर आफ्नो रोजगार गुमाउन पुगेका कामदारहरूले काम नगर्दा समेत जबकीपर पेमेन्ट पाउन सक्ने प्रावधान सरकारले गरेको छ।
क्याजुअल कामदारको हकमा भने उनीहरू आफूले एकै रोजगारदाता कहाँ एक वर्षभन्दा बढी समय काम गरिसकेको हुनुपर्ने बताइएको छ।
हालसम्म अस्थायी भिसामा रहेकाहरूलाई यी कुनै सुविधा उपलब्ध रहेका छैनन् तर यसबारे विचार सरकारले बिचार गर्नुपर्ने मागहरू बढिरहेका छन्।
राहत प्याकेजको घोषणा भएता पनि, रकम भुक्तानी भने मार्चको मितिदेखि लागू हुने गरी, आगामी मे महिनाको सुरुदेखि मात्रै हुनेछ।
कोरोनाभाइरस पूरक भुक्तानी
जबसीकर लगायतका योजनामा कोरोनाभाइरस पूरक भुक्तानी बापतको थप ५५० डलर (प्रति दुई हप्ता) का लागि योग्य ठहर हुन भने, कोरोनाभाइरस महामारी सुरु हुनु अगावै सामाजिक कल्याणकारी भुक्तानी पाइरहेको हुनुपर्छ।
अप्रिल २७ देखि लागू हुने यो योजनामा निम्न भुक्तानीहरू संलग्न गरिएका छन्:
- जबसीकर पेमेन्ट
- सिक्नेस अलावेन्स
- यूथ अलावेन्स
- प्यारेन्टिङ्ग पेमेन्ट (एकल तथा जोडी, दुबैलाई)
- पार्टनर अलावेन्स
- फार्म हाउस होल्ड अलावेन्स
- अस्टडी
- एबी स्टडी
कोरोनाभाइरस पूरक भुक्तानीका लागि डिसेबिलिटी सपोर्ट पेन्सन र केरर पेमेन्ट प्रापकका लागि लागू हुने छैनन्।
त्यसै गरी, तपाईँले जबकीपर र जबसीकर पेमेन्ट दुवै भुक्तानी पाउन सक्नुहुन्न - दुवैको लागि योग्य हुनुहुन्छ भने तपाईंले ती दुवै किसिमका भुक्तानीका लागि दरखास्त हाल्न भने सक्नुहुनेछ र कर कार्यालय वा सेन्टरलिङ्कले तपाईंले पाउने भुक्तानी बारे जानकारी दिनेछन्।
इकोनोमिक सपोर्ट पेमेन्ट
कर नलाग्ने एकल एकमुष्ट ७५० डलरको आर्थिक सहायता भुक्तानी सरकारका अनुसार करिब ६० लाख अस्ट्रेलियालीहरूले पाउन सक्नेछन्।
यो भुक्तानी पाउन योग्य छु कि छैन भन्ने थाहा पाउन सर्भिसेस अस्ट्रेलियाको वेबसाइटमा रहेको पूर्ण सूची हेर्नुहोस्।
थप सहायता

२७ अप्रिलदेखि नै लागू हुने गरी, कोरोनाभाइरस सङ्क्रमित मानिसहरूको रेखदेखमा रहेका वा तिनको सम्पर्कमा आएर आइसोलेसनमा बस्नु परेका व्यक्तिहरू पनि, जबसीकर पेमेन्ट र युथ अलावेन्सका लागि योग्य हुनेछन्।
भर्खरै स्थायी बसोबास सुरु गर्नुभएको छ भने पनि तपाईंले सरकारी भत्ता पाउन कुर्नुपर्ने समय (न्युली अराईभ्ड रेसिडेन्टस् वेटिङ्ग पिरियड) हाललाई स्थगित गरिएको छ।
यसै गरी सामाजिक भत्ता पाउनु अघि सेन्टरलिङ्कलाई बुझाउनु पर्ने इम्प्लोईमेन्ट सेपरेसन सर्टिफिकेट, घर भाडा सम्बन्धीको आफ्नो व्यवस्था खुलाउने कागजात र नाता प्रमाणित पनि हाललाई बुझाउन पर्दैन।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।
