न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनले मानिसहरूद्वारा कोभिड-१९ को सङ्क्रमण रोक्न गरेको मद्दत माथि सह्राना व्यक्त गर्दै गर्दा महानिरीक्षक फुलरको उक्त भनाई सार्वजनिक भएको हो।
"न्यु साउथ वेल्समा मामिलाहरू तीव्र गतिमा बढिरहेका छैनन्, यो राम्रो कुरा हो," बेरिजिक्लियनले भनिन्।
“त्यसैले पनि हामीले यसको फैलावट रोक्न केही मात्रामा भए पनि सफलता हासिल गरेका छौँ कि जस्तो छ।”

सोमबारदेखि कडा पारिएको सामाजिक दुरी सम्बन्धी नियमहरूका समय सीमा बारे पहिलो पटक बोल्दै न्यु साउथ वेल्स प्रहरीका महानिरीक्षक मिक फुलरले उक्त जानकारी दिएका हुन्।
“यसलाई लम्ब्याउने पक्षमा म निश्चित रूपमा छैन, आसा गरौँ मानिसहरूले त्यो बेलासम्म यसबारे बुझी सक्छन्,” फुलरले बिहीबार बिहान सिड्नीमा आयोजित एक पत्रकार सम्मेलनलाई भने।
गएको २४ घण्टामा राज्यभर सामाजिक दुरी सम्बन्धी तीन पुर्जी काटिएको बताउँदै मिक फुलरले सबै जरिवाना बारे आफू स्वयम्ले अध्ययन गर्ने गरेको र कुनै मामिलामा पुर्जी काट्नु सही नभए जस्तो लागेमा आफूले त्यसलाई खारेज गरिदिने पनि स्पष्ट पारे।
बुधवार एक ३९ वर्षीय मानिसले ट्राफिक बत्तीमा आफ्नो गाडीको विन्डस्क्रिन पखालेको भन्दै उनलाई जरिवाना गरिएको थियो।
“हामी समझदारी पूर्वक काम गर्नेछौँ,” फुलरले मानिसहरूद्वारा पार्कमा कसरत गर्न समेत जान नपाएको बारेमा गुनासोहरू सुनिन थालेको बारेमा सोधिएको एक प्रश्नको जवाफमा भने।

न्यु साउथ वेल्समा सोमबारदेखि कडा पारिएको सामाजिक दुरी सम्बन्धि नियम पालना नगरे व्यक्तिको हकमा १,००० डलर तत्काल जरिवाना (अन दि स्पट फाइन) हुने प्रावधान छ।
त्यसका अतिरिक्त मानिसहरूलाई अदालतले अधिकतम ११,००० डलर र ६ महिना जेल सजाय सुनाउन सक्नेछ।
न्यु साउथ वेल्समा घरबाट निस्कन निम्न अवस्थामा मात्र मिल्छ:
- काम (रोजगारी)
- अध्ययन
- खाद्यान्न तथा अन्य अत्यावश्यक बस्तु खरिद गर्न
- स्वास्थ्य उपचार र
- एक्लै वा दुक्लै व्यायाम एवम् कसरत गर्न
न्यु साउथ वेल्स राज्य सरकारका अनुसार, माथि उल्लेखित भन्दा बाहेक केही विशेष परिस्थितिमा पनि, तपाईँ आफ्नो घर बाहिर निस्कन सक्नुहुनेछ - जस्तै आफू बसेको घर वा भवन कुनै कारणवश असुरक्षित भएमा वा रक्तदान गर्न जानुपरेमा।
मङ्गलवार राती आठ बजेदेखि बुधवार राती आठ बजेसम्मको समयावधिमा कोरोनाभाइरस सङ्क्रमणका थप ११६ नयाँ मामिला न्यु साउथ वेल्स राज्यमा देखिएको पुष्टि भएको छ।
योसँगै न्यु साउथ वेल्समा कुल २,२९८ जना कोभिड-१९ बाट सङ्क्रमित भइसकेका छन् भने १० जनाले आफ्नो ज्यान गुमाइसकेका छन्।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।
