बेल्जियममा थुप्रै आप्रवासी कामदारहरू कानुनी मान्यता बिना बसिरहेका छन्। कानुनी मान्यता, रोजगार र सामाजिक सेवाको माग गर्दै सयौँ आप्रवासीहरू भोक हडतालमा बसिरहेका छन्। ती मध्य चार जनाले आफ्ना मागहरू माथि जोड दिँदै आफ्नो ओठ सिलाएका छन्।
चार सय भन्दा बढी आप्रवासीहरूले ब्रुस्सेलका दुई विश्वविद्यालय र एक बारोक चर्चमा बसी, २३ मेमा खान छोडेको, र अहिले धेरै जना निकै कमजोर भइसकेको सहायता कार्यकर्ताहरूले बताए।
यी आप्रवासीहरू मध्य धेरै जसो दक्षिण एसिया र उत्तरी अफ्रिकाबाट वर्षौँ, र एक दशक भन्दा बढी समय देखि बेल्जियममा बस्दै आएका छन्। तर कोभिड-१९ का कारण रोजगार गुमाए पछि आफ्नो जीविकोपार्जन हर्न निकै कठिन भएको उनीहरूको भनाइ छ।

"हामी मुसाहरू जसरी सुत्छौँ," नेपालबाट गएका किरण अधिकारीले भने। उनी एक रेस्टुरेन्टमा शेफको रूपमा काम गर्दथे, जुन महामारीका कारण अहिले बन्द छ। "मलाई टाउको दुख्छ, पेट दुख्छ, पूरा शरीर भारी नै दुखाइ हुन्छ।"
म बिन्ती गर्छु [बेल्जियन अधिकारीहरूलाई], हामीलाई पनि अरूलाई जस्तै कामको पहुँच दिनुहोस्। मलाई कर तिर्न मन छ, आफ्नो बच्चालाई यो विकसित शहरमा हुर्काउन मन छ।
रोइटर्स न्युज एजेन्सीलाई उनले आफ्नो अस्थायी ओछ्यानबाट कोठा वरिपरि देखाउँदै भने, जहाँ भोक हडतालमा बसेका अन्य थुप्रै आप्रवासीहरूको भिड थियो।
कति जना राम्ररी चल्न या हिँड्न नसक्ने अवस्थामा थिए र स्वास्थ्य कर्मचारीहरूले सल्यान पानी दिइरहेका थिए। यो दुखमा अब केही बोल्न नसक्ने भन्दै, केहीले आफ्नो ओठ सिलाएका छन्।

बेल्जियम सरकारले भोक हडतालमा बसेकाहरूलाई औपचारिक निवासी बनाउने मागलाई यसरी स्वीकार नगर्ने बताएको छ।
शरण र आप्रवासन सम्बन्धी कनिष्ठ मन्त्री शामी मेहदीले गत मङ्गलबार रोइटर्ससँगको कुराकानीमा दस्ताबेज बिना बेल्जियममा बसिरहेका ती १,५०,००० अस्थायी आप्रवासीहरूलाई स्थायी बनाउन आफू अस्वीकार्य रहेको, तर हडतालमा बसिरहेकाहरू सँग वार्ता बस्न इच्छुक रहेको बताए।
"जीवनलाई पैसा तिरेर किन्न सकिँदैन, र थुप्रै मानिसहरू अस्पताल गइसकेका छन्। त्यसैले यस पछाडि रहेका प्रत्येक मानिस र संस्थालाई कुनै गलत आशा नदिन म आग्रह गर्दछु," भोक हडतालको बारेमा प्रश्न सोध्दा मेहदीले भने।
"शिक्षाको बारेमा होस्, या रोजगार, आप्रवासन, जे सुकै बारेमा होस् … त्यसका नियम कानुनहरू छन्। राजनीतिमा नियम हुनु पर्छ।"
सन् २०१५ मा युरोपमा १० लाख भन्दा बढी आप्रवासीहरू पानीको माध्यमबाट भित्रिए पछि, सुरक्षा र कल्याणकारी सेवाहरूमा समस्या आएको थियो।
मेडिटरेनियन समुन्द्रको किनारमा रहेका देशहरूको भारलाई कम गर्नका लागि युरोपियन सङ्घले आप्रवासन र शरण सम्बन्धी परिवर्तनहरूको प्रस्ताव गरेको छ। तर कतिपय देशहरू भने नयाँ आप्रवासीहरू आफ्नो देशमा प्रवेश गर्न दिनु भन्दा आफ्ना सीमा कडा गर्ने पक्षमा छन्।
