रेडक्रस रेड क्रिसेन्ट ग्लोबल माइग्रेसन ल्याबले भर्खरै सार्वजनिक गरेको रिपोर्टका अनुसार कोभिड–१९ को खोप पहुँचको सन्दर्भमा अस्ट्रेलियाका शरणार्थी एवं आप्रवासी समुदायका मानिसहरूले महत्त्वपूर्ण अवरोधहरू सामना गर्नुपरेको छ।
विश्वभर खोपलाई लिएर समावेशी खोप नीति लागु गर्ने प्रयास भएता पनि भाइरसबाट सबैलाई सुरक्षित राख्नका लागि अझै बढी कामको आवश्यकता रहेको रिपोर्टमा औँल्याइएको छ।
उक्त रिपोर्टकी लेखिका निकोल होग्लन्ड आप्रवासी र शरणार्थीहरू समावेश भएको देखिएता पनि वास्तविकता उनीहरूले अवरोध अनुभव गरिरहेको बताउँछिन् ।
साथै अन्य विषयहरूमा सीमित खोप आपूर्ति र जटिल दर्ता प्रक्रिया रहेको पनि उनको भनाई छ ।
उक्त संस्थाले ५२ देशमा गरेको सर्वेक्षणको तथ्याङ्कमा आधारित यो प्रतिवेदनलाई विश्वव्यापी तस्बिर मान्न सकिन्छ ।
अस्ट्रेलियन रेड क्रस अन्तर्गतको आप्रवासी सहयोग सम्बन्धी कार्यक्रमका प्रमुख भिकी माउ तथ्याङ्कले खोप कार्यक्रमको समावेशी पहुँचको सकारात्मक पक्षलाई केलाएको बताउँछिन् ।
होग्लन्डका अनुसार कोभिड–१९ विरुद्धको प्रतिक्रियालाई पूर्ण रूपमा समावेशी भएको सुनिश्चित गर्न मानिसहरूसँग कुरा गर्न जरुरी रहेको छ ।

उता, स्थानीय सङ्घ सङ्गठन भने आप्रवासी र शरणार्थी समुदाय नछुटुन् भन्ने उद्देश्यले,सूचनाको पहुँचमा भएको अन्तरलाई पहिचान गरी यसलाई कम गर्ने प्रयास गरी रहेका छन् ।
क्विन्सल्याण्ड अफ्रिकन कम्युनिटी काउन्सिलका बेनी बोल राज्यका ९५ प्रतिशत अफ्रिकन भाषा बोल्ने मानिससँग अनुवादकसम्मको पहुँच नरहेको दाबी गर्छन् ।
उनी भन्छन् कि क्विन्सल्यान्डका अधिकांश अफ्रिकन समुदायका मानिस माझ सूचनाको सेवा पुगेको छैन ।
बोल रेडक्रस, राज्यको शरणार्थी स्वास्थ्य सञ्जाल र सांस्कृतिक र भाषिक स्वास्थ्य सहभागिता परियोजनासँग पनि सम्बन्धित भएर काम गर्छन् ।

उनी भन्छन् यो समुदायको निराशाहरू बाँड्न महत्त्वपूर्ण मञ्च मात्र होइन शरणार्थी र आप्रवासीहरू सम्म पुग्ने सन्देशलाई सुव्यवस्थित र सरल बनाउने अवसर पनि हो ।
विशेष गरी कागजी तथ्याङ्कमा समावेश नभएका समूह र अन्य जनसङ्ख्याका लागि धेरै काम गर्नु महत्त्वपूर्ण रहेको रेड क्रसकी भिकी माउको भनाई छ ।
र, बेनी बोल देशका निर्णय क्षमता भएका नेताहरूलाई सामुदायिक अगुवाहरूले बाँडेको सूचनाहरू अङ्गाल्न अनुरोध गर्दछन् ।
महामारीलाई परास्त गर्न यो दुई तर्फी बाटो भएको उनको धारणा छ ।
यता अस्ट्रेलियाको खोप कार्यक्रम द्रुत गतिमा अगाडी बढ्दै गर्दा स्वास्थ्य अधिकारीहरू भने पहुँचका लागि कठिन मानिएका आप्रवासी समुदायका सदस्यहरू खोप केन्द्रहरूमा लामबद्ध भएर खोप लगाएको हेर्न चाहन्छन् ।





