एज्ड केयर कर्मचारीहरूले कोभिड-१९ खोप अनिवार्य लगाउनुपर्ने, खोप लगाउन तलबी बिदा

अस्ट्रेलियाभरका वृद्ध स्याहार केन्द्रहरूमा कार्यरत कामदारहरू सबैले अनिवार्य रूपमा आगामी सेप्टेम्बर महिनाको मध्यसम्ममा कोरोनाभाइरस विरुद्धको खोपको पहिलो मात्रा लगाउनुपर्ने भएको छ।

NIZMA TAMRAKAR M GUNNER NT

Source: AAP

सोमवार बेलुकी प्रधानमन्त्री स्कट मोरिसनको अध्यक्षतामा बसेको राष्ट्रिय मन्त्रिपरिषद्को बैठकबाट उक्त निर्णय सर्वसम्मतिले पारित भएको हो।

अस्ट्रेलियामा कोभिड-१९ का कारण ज्यान गुमाएका ९१० मानिसहरू मध्ये ६८५ जना एज्ड केयर केन्द्रहरूमा भर्ती भएका वृद्ध-वृद्धाहरू थिए।

बृहत् सिड्नी, ब्रिसबेन, डार्विन, पाल्मर्सटन लगायत पर्थ तथा पील क्षेत्रमा कोरोनाभाइरसको डेल्टा भेरिएन्ट फैलँदै जाँदा अस्ट्रेलियाली स्वास्थ्य अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्।

निकै सङ्क्रमणकारी भनिएको उक्त भेरिएन्टबाट बच्ने एक मात्र उत्तम विकल्पका रूपमा कोभिड-१९ विरुद्धको खोप रहेको स्वास्थ्य अधिकारीहरूले बताउँदै गर्दा मोरिसन तथा अन्य राज्यका सरकार प्रमुखहरूले वृद्ध स्याहार केन्द्रका सबै कर्मचारीहरूका लागि खोप अनिवार्य गर्ने निर्णय गरेका हुन्।

प्रधानमन्त्री मोरिसनका अनुसार एज्ड केयर कर्मचारीहरूको अनिवार्य खोप कार्यक्रम राज्य तथा प्रादेशिक सरकारहरूसँगको समन्वयमा हुनेछ।

"यो (कार्यक्रम) कमनवेल्थ र राज्य एवं प्रादेशिक सरकारहरू बिचको सहकार्यमा सञ्चालित हुनेछ," उनले भने।

"हाल सञ्चालनमा रहेको वृद्ध स्याहार केन्द्रका कामदारहरूले अनिवार्य रुपमा फ्लुको खोप लगाउने प्रणाली मार्फत नै (कोभिड-१९ खोप) कार्यक्रम चलाउनु हाम्रो प्राथमिकता हो।"

परम्परागत रूपमा राज्यहरूको सार्वजनिक स्वास्थ्य सम्बन्धी आदेशहरू मार्फत यस प्रकारको अनिवार्य खोप कार्यक्रम सञ्चालन हुने भएता पनि कोरोनाभाइरस विरुद्धको खोप लगाउने कार्यमा भने सङ्घीय सरकारले उनीहरूसँग हातेमालो गरेर अगाडि बढ्न लागेको पनि स्कट मोरिसनले बताए।

निर्णयको 'सतर्कताकासाथ स्वागत'

राष्ट्रिय मन्त्रिपरिषद्को यो निर्णयलाई सतर्कताकासाथ वृद्ध स्याहार क्षेत्र‍मा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अधिकारीहरूले स्वागत गरेका छन्।

युनाइटेड वर्कर्स युनियनकी वृद्ध स्याहार निर्देशक क्यारोलिन स्मिथ भन्छिन् कि उनी एक प्रभावकारी कार्यक्रम सञ्चालन भएको देख्न चाहन्छिन् जसले एज्ड केयर उद्योगमा कार्यरत कामदारहरूले खोपसम्मको पहुँच बारे उठ्ने समस्याहरू सम्बोधन गरोस्।

यसका साथै सरकारले खोप कार्यक्रमबारे शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्ने माग पनि उनी अगाडि सार्छिन्।

उता, अर्को युनियन - हेल्थ सर्भिसेज युनियनले भने कामदारहरूलाई खोप लगाउनका साथै आरामका लागि पनि तलबी बिदा नदिए, वृद्ध स्याहार क्षेत्र कर्मचारीको अभावमा सङ्कटग्रस्त हुने बताएको छ।

Sanu Ghimire is an aged care worker in Australia from Nepal
Source: SBS

एज्ड केयर क्षेत्रमा कार्यरत सानु घिमिरे भन्छिन् कि कामदारहरू खोप त लगाउन चाहन्छन् तर आफूलाई पायक पर्ने समय र आर्थिक सहयोग अपरिहार्य छ।

"हामी प्राथमिकतामा छैनौँ। कतिपय मेरा सहकर्मीहरूले अन्य एज केयरमा बाँकी रहेको खोपहरू लगाएका थिए," उनले एसबीएस न्युजलाई भनिन्।

"कतिपय मेरा साथीहरूले खोप लगाउन अपोइन्टमेन्ट खोज्दा समस्या भोगेका छन् र केही सहकर्मीहरू भने खोपको (सम्भावित) प्रतिक्रियाबाट तर्सेका छन्।"

घिमिरे आफूले खोप लगाएको छ दिनसम्म बिरामी भएको उल्लेख गर्दै उनका अन्य साथीहरू बिरामी भए खर्च धान्न नसक्ने बताइन्।

खोप लगाउन जाँदा सबै कर्मचारीहरूले भुक्तानी सहितको बिदा सुविधा प्राप्त गर्नेछन् जसका लागि मोरिसन सरकारले १ करोड १० लाख डलरको अनुदान कार्यक्रम सुरु भएको बताएको छ।

Australian Chief Medical Officer Paul Kelly addresses the media during a press conference in Canberra on 13 January, 2021.
Australian Chief Medical Officer Paul Kelly. Source: AAP

अस्ट्रेलियाका प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक पल केलीका अनुसार हालसम्म जम्मा ३३ प्रतिशत कामदारले मात्र कोरोनाभाइरस विरुद्धको खोपको एक मा‍त्रा लगाएका छन्।

थप वृद्ध स्याहार कामदारहरूले खोप लगाउन जरुरी रहेको बताउँदै उनले सरकारी अनुदान कार्यक्रमले तलबी बिदा लगायतका मामिलाहरू सम्बोधन गर्ने विश्वास व्यक्त गरेका छन्।


Share

3 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now