SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा ४० वर्ष मुनिका वयस्कहरूलाई अब एस्ट्राजेनेका खोप लगाउन अनुमति

अस्ट्रेलियामा अब ४० वर्ष‌भन्दा मुनिका बासिन्दाका लागि पनि एस्ट्राजेनेका खोप खुल्ला गरिएको छ।

AstraZeneca, COVID-19 vaccine roll out, blood clots
Source: AAP

2 min read

Published

Updated



Skip to article content

कोभिड-१९ खोपको खपत बढाउन सोमवारको राष्ट्रिय मन्त्रिपरिषद् बैठक पश्चात् आयोजित एक पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री स्कट मोरिसनले उक्त घोषणा गरेका हुन्।

यसका साथै उक्त खोप लगाइदिँदा तपाईँलाई केही भइहालेमा डाक्टर (जीपी)लाई कुनै दोष नलाग्ने पनि मोरिसनले बताएका छन्।

उक्त घोषणाका साथ थुप्रै मेडिकल क्लिनिकहरूमा खोपको समय लिने थुप्रै मानिसहरूले बुकिङका लागि मङ्गलवार बिहानदेखि नै अनुरोध गर्न थालेको बताइएको छ।

रोयल अस्ट्रेलियन कलेज अफ जनरल प्राक्टिस्नर्सकी क्यारेन प्राइसले उक्त निर्णयको स्वागत गर्दै भन्छिन् कि मानिसहरूले दुर्लभ रगत जम्ने जोखिम बारे बुझेसम्म र यसबारे राम्रो जानकारी राख्ने ४० वर्ष मुनिका व्यक्तिलाई खोप दिन उनी हिचकिचाउने छैनन्।

यसै गरी अस्ट्रेलियन मेडिकल एसोसिएसनका ओमार खोर्सिदले पनि कथम्‌कदाचित हुनसक्ने हानि वापतको रक्षा खोप लगाइदिने चिकित्सकहरूलाई प्राप्त हुने घोषणाको स्वागत गरेका छन्।

उनका अनुसार यसरी डाक्टरहरुलाई थप सुरक्षा प्रदान गर्दा राष्ट्रिय खोप कार्यक्रमले तीव्रता पाउन मद्दत पुग्न सक्छ।

"यसले एक अर्को वाधा हटाउँछ, विशेष गरेर त्यस्ता डाक्टरहरू जो ६० वर्ष मुनिका मानिसहरूलाई खोप लगाउने कार्यबाट चिन्तित थिए," खोर्सिदले भने।

फाइजर खोपको आपूर्ति सीमित

अस्ट्रेलियाका कोभिड-१९ टास्क फोर्स कमान्डर जन फ्रिवेनले उक्त अवसरमा पत्रकारहरूसँग कुरा गर्दै फाइजरद्वारा निर्मित खोपको आपूर्तिमा समस्या रहेको बताएता पनि ६० वर्ष भन्दा माथिका मानिसहरूका निमित्त एस्ट्राजेनेका खोप पर्याप्त सङ्ख्यामा रहेको बताएका छन्।

यसका साथै उनले निकट भविष्यमा नै कोभिड-१९ लुप्त भएर नजाने बारे पनि टिप्पणी गरे।

"हामी सबैलाई कोभिडका प्रकोपहरू जारी नै रहनेछन् भनेर बुझ्न बानी बसाले सजिलो हुनेछ," फ्रिवेनले भने।

"मानिसहरूलाई गम्भीर बिरामी हुनबाट बचाउन र चाँडोभन्दा चाँडो सामान्य जीवनमा फर्किन खोप महत्त्वपूर्ण आधार हुनेछ।"

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now