हाल देशको सीमा बन्द रहेको र सीमित मात्रामा मात्र यात्रुहरू अस्ट्रेलिया प्रवेश गर्न सक्ने अवस्थामा २५ हजार भन्दा बढी मानिसहरू विदेशमा फसेको बताइँदै गर्दा लेबरका नेता एन्थोनी अल्बनिजेले वायु सैनिकको जहाज प्रयोग गर्दै अस्ट्रेलियालीहरूलाई घर फिर्ता ल्याउनुपर्ने बताएका हुन्।
अल्बनिजे भन्छन् कि राष्ट्रिय सीमाको जिम्मा स्कट मोरिसन समक्ष रहेकोले उनले सेनाका जहाज प्रयोग गर्दै, विदेशमा अलपत्र परेकाहरूलाई फिर्ता ल्याउन सक्छन्।
"हाम्रो राष्ट्रिय सिमाना स्पष्ट रूपमा उनको नियन्त्रणमा छ, क्वारेन्टिन मामिला पनि उनकै जिम्मामा छ र उनीसँग वायुसेनाका विशिष्ट विमानहरूको माध्यमबाट पूर्वाधारमा पहुँच छ जुन अहिले नै काममा लगाउन सकिन्छ" अल्बनिजेले सिड्नीमा पत्रकारहरूलाई भने।
"यो व्यावहारिक कदम हुनेछ जसले ठुलो फरक पार्नेछ।"

साथै, हाल खाली रहेका होटेलहरूमा ती मानिसहरूलाई राख्न सकिने अवस्थामा पनि त्यसो नहुनुले प्रधानमन्त्रीको कार्य क्षमता माथि प्रश्न उठेको आरोप उनले लगाएका छन्।
नर्दन टेरोटेरीले डार्विनको नजिक थप मानिसहरूलाई क्वारेन्टिनमा राख्ने बारे आफू इच्छुक भएको बताएपछि अस्ट्रेलिया फर्कनेहरूका लागि क्वारेन्टिन सम्बन्धी कार्य सङ्घीय सरकारले गर्नुपर्ने आह्वानमा वेस्टर्न अस्ट्रेलिया सामेल भएको छ।
तर अस्ट्रेलियन बोर्डर फोर्सका आयुक्त माइकल आउटरामले हावर्ड स्प्रिङ्ग्स स्थित सङ्घीय सरकाले स्थापना गरेको क्वारेन्टिन केन्द्र पुनः सञ्चालनमा ल्याउने नर्दन टेरोटेरीको इच्छा तत्काल पुरा गर्न नसकिने बताएका छन्।

आउटराम भन्छन् कि महामारी सुर हुँदा चीन तथा जापानबाट मानिसहरूलाई अस्ट्रेलिया फर्काउँदा परिचालित कर्मचारी हाल अन्यत्रै खटिएकाले नर्दन टेरोटेरीको प्रस्ताव स्वीकार गर्न सकिन्न।
उनका अनुसार त्यस अस्थायी क्वारेन्टिन केन्द्रमा कार्यरत डाक्टर, नर्स लगायत अन्य स्वास्थ्यकर्मीहरू देशभरबाट काजमा ल्याइएका थिए।
"क्वारेन्टिन केन्द्रहरू स्वास्थ्यकर्मीहरू बिना सञ्चालन गर्न सकिँदैन।"
"राज्य एवम् प्रदेशहरूले आफ्नै स्वास्थ्य सेवाहरू सञ्चालन गरिरहेको र महामारी सम्बन्धी अन्य कामका कारण मेरो बिचारमा अहिले अस्म्याटको कार्यक्षमता निकै दबाबमा छ," अस्ट्रेलियन मेडिकल असिस्टेन्स टिम्स (अस्म्याट) भनिने अस्ट्रेलियाली चिकित्सा चिकित्सा सहायता टोली बारे स्पष्ट पार्दै आउटरामले एबीसी रेडियोसँग भने।
उनका अनुसार हाल अस्ट्रेलियाली सीमा बलले राज्यहरूसँग होटेल क्वारेन्टिनको क्षमता अभिवृद्धि गर्न काम गरिरहेको छ र हाल कुनै एक बेला १२,००० स्थानहरू क्वारेन्टिनका लागि उपलब्ध छन्।
"तर, मैले इमानदार भएर भन्ने हो भने यो पर्याप्त छैन," आयुक्त आउटरामले भने।
"होटेल क्वारेन्टिनमा सीमित सङ्ख्यामा स्थानहरू उपलब्ध भइरहुन्जेल वायुसेवाहरूले थप मानिसहरू ल्याउने भन्ने कुरा सोच्न गाह्रै छ।"
आउटरामले होटेल क्वारेन्टिनको क्षमता अभिवृद्धि गर्न सके आफ्नो सङ्गठनलाई कुनै समस्या नहुने पनि बताएका छन्।
व्यावसायिक कामका लागि देश भित्रिने मानिसहरूलाई आफूहरूले मानवीय कारणका लागि यात्रा गर्ने व्यक्तिहरू भन्दा माथि राखेर नहेरेको भन्दै आयुक्त माइकल आउटरामले अस्ट्रेलियाली सीमा बलका काम कारबाहीको बचाउ गरेका छन्।
घर फर्किन आतुर अस्ट्रेलियालीहरू भन्दा अमेरिकी कलाकार टम ह्याङ्क्स तथा उनका टोलीलाई अस्ट्रेलिया प्रवेशमा ग्राह्यता प्रदान गरिएको भन्दै अस्ट्रेलियन बोर्डर फोर्सको आलोचना हुने क्रम जारी छ।
तर यसलाई आयुक्त आउटरामले आर्थिक गतिविधि पनि साथ-साथै अगाडि लग्नु पर्ने आवश्यकता रहेका कारण आफूले त्यस प्रकारका निर्णयहरू लिन बाध्य भएको बताएका छन्।
उता, प्रधानमन्त्री स्कट मोरिसनले चाहिँ सीमा बन्द रहिरहे, कोरोनाभाइरस महामारीद्वारा अस्ट्रेलियालीहरूलाई पराजित भएको पुष्टि हुने बताएका छन्।
तर उनले विदेशमा फसेकाहरूलाई फिर्ता ल्याइने बारे चाहिँ केही बोलेका छैनन्।
अस्ट्रेलियामा मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।
मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ९ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि यहाँ थिच्नुहोस्
