अमेरिका पछि विश्वमा मोर्डेनाको खोपको अनुमति दिने दोस्रो मुलुक क्यानडा बनेको छ ।
दोस्रो चरणको सङ्क्रमण लहर बढ्दै गएपछि स्वास्थ्य अधिकारीहरूले खोपको मार्ग प्रशस्त गरिदिएका हुन् ।
यस अघि महिनाको सुरुवातमा फाईजर–बायोनटेक खोप प्राथमिकतामा परेका समूहका लागि भन्दै नियमन संस्थाले प्रयोगको अनुमति दिएको थियो ।
हाल सम्म क्यानडाले आवश्यकता पर्ने सात करोड ६० लाख मध्यको केही खोप भने प्राप्त गरिसकेको छ ।
“स्वतन्त्र समीक्षा पछि सुरक्षा,प्रभावकारिता र गुणस्तरको आवश्यकतालाई मोर्डेनाको खोपले पुरा गरेको छ ।” सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।
संयुत राज्यले भने गत शुक्रवार मोर्डेनाको खोपको अनुमति दिइसकेको छ ।
यो खोपको ढुवानी एवम् भण्डारण चिसो र जमेको अवस्थामा गर्नु पर्ने भए पनि फाईजर–बायोनटेकको जस्तो अत्यन्त न्यून तापक्रमको भने आवश्यकता नपर्ने बताइएको छ ।
“यसको मतलब सहर भन्दा टाढा रहेका समुदायमा पनि यसको सहज पहुँच सम्भव छ ।” मन्त्रालयले भनेको छ ।
प्रधानमन्त्री जस्टिन ट्रेड्युले क्यानडाले यो महिनाको अन्त्य सम्म मोर्डेनाका १ लाख ६८ हजार खोपको आपूर्तिका लागि सम्झौता गरिसकेको बताए ।
चिकित्सकहरुले क्यानडामा कोभिड–१९ दोस्रो लहरको सुरुवात सँगै राष्ट्रको स्वास्थ्य सेवा तनावमा रहेको बताएका छन् ।
क्यानडामा हाल सम्म ५ लाख २१ हजार भन्दा बढीमा सङ्क्रमण देखिएको छ भने यो सँग सम्बन्धित १४ हजार ४ सय २५ जनाको ज्यान गइसकेको छ ।
हालै बेलायतमा पत्ता लागेको भाइरसको नयाँ डरलाग्दो प्रकारले क्यानडा पनि चिन्तित बनेको छ ।
क्यानडाले सोमबार देखि बेलायत सँग ७२ घण्टे उडान प्रतिबन्ध लगाएको छ ।
उडान प्रतिबन्ध लामो समय सम्म जारी राख्ने वा नराख्ने भन्ने बारेमा छिट्टै निर्णय हुने बताइएको छ ।
