ग्रेटर सिड्नीमा वर्तमान समयमा रहेका प्रतिबन्धहरूलाई केही "साना परिवर्तन"का साथ क्रिसमसको अवधि भर निरन्तरता दिइने छ।
लकडाउनमा रहेको नर्दन सिड्नीलाई २४ डिसेम्बर देखि दुई क्षेत्रमा विभाजित गरिने भएको छ। नाराबीन पुलको उत्तरी भागमा र मोना भेल रोडमा रहेको बाहाइ मन्दिरको पूर्वी भागमा रहेका बासिन्दाहरूका लागि अझ कडा लकडाउन नियमहरू जारी गरिने छन्।
पछिल्लो २४ घण्टामा राज्यमा थप आठ जनामा कोभिड-१९ पुष्टि भएको छ - जस मध्य ७ नर्दन बीचेसको प्रकोपसँग सम्बन्धित छ।
नर्दन बीचेसको उत्तरी भागका बासिन्दाहरूले २४, २५ र २६ डिसेम्बरमा आफ्नो घरमा लकडाउनको क्षेत्रमा बस्ने ५ जना पाहुना भेला गर्न पाउने छन्।
र नाराबीन पुलको दक्षिण तिर बस्नेहरूले सिड्नी भरबाट १० जना सम्म भेला गर्न पाउने छन्।
दुवै क्षेत्रका बासिन्दाहरू नर्दन बीचेस भन्दा बाहिर यात्रा गर्न पाउने छैनन्।
ग्रेटर सिड्नीका बासिन्दाहरूले क्रिसमसका लागि आफ्नो घरमा १० जना व्यक्तिहरू र १२ वर्ष मुनिका बालबच्चाहरू भेला गर्न पाउने छन्।
अवस्था कुनै पनि बेला आकस्मिक रूपमा बदलिन सक्ने हुनाले नियमहरूमा पनि आवश्यकता अनुसार परिवर्तन आउन सक्ने प्रिमियर बेरेजिक्लियनले बताइन्। तर आउँदा तीन दिनका लागि भने सके सम्म यिनै नयाँ नियमहरूलाई कायम गर्ने प्रयास रहेको उनको भनाइ छ।

मङ्गलबार रातिको ८ बजे भन्दा अगाडीको २४ घण्टामा ४२,००० जनाले कोभिड-१९ परीक्षण गरेका थिए। नर्दन बीचेस सँग सम्बन्धित सङ्क्रमितहरूको सङ्ख्या ९७ पुगेको छ।
आठौँ सङ्क्रमित भने अन्तराष्ट्रिय यात्रुहरू रहेको गाडीमा कार्यरत एक वेस्टर्न सिड्नीका सङ्क्रमितको नजिकको व्यक्ति रहेको बताइएको छ।
त्यस्तै, केही दिन अघि अन्तराष्ट्रिय यात्रुहरूबाट सङ्क्रमित भएको भनी मानिएका एक स्वास्थ्य कर्मचारी वास्तवमा नर्दन बीचेसको प्रकोपसँग सम्बन्धित रहेको न्यु साउथ वेल्सकी प्रमुख स्वास्थ्य अधिकारी केरी चान्टले बताइन्।
पछिल्लो खबर अनुसार क्वानटासका (Qantas) एक कर्मचारीमा कोभिड-१९ पुष्टि भएको छ। उनी १८ डिसेम्बरमा सिड्नी देखि डार्विन उडान मार्फत गएका थिए, तर अहले भने त्यस उडानको विस्तृत जानकारी पत्ता लागि सकेको छैन।
ती व्यक्तिमा देखिएको भाइरस र नर्दन बीचेसको भाइरस एउटै प्रकारको रहेको जेनोमिक परीक्षण द्वारा पत्ता लागेको छ। तर, ती व्यक्ति कसरी सङ्क्रमित भए भन्ने चाहिँ अझ पत्ता लागेको छैन।
मन्त्री परिषद्को "आकस्मिक बैठक" पछि जारी गरिएका यी नयाँ प्रतिबन्धहरू क्रिसमस ईभ, क्रिसमस डे र बक्सिङ डे मा (२४, २५ र २६ डिसेम्बर) कायम रहने छन्, र २७ डिसेम्बरमा वर्तमान अवस्थामा फिर्ता आउने छ।
तर नर्दन बीचेसको दक्षिणी क्षेत्रमा लागु गरिएका नियममा २७ डिसेम्बर के परिवर्तन गर्ने भन्ने विषयमा घोषणा निर्णय लिन बाँकी रहेको प्रिमियर बेरेजिक्लियनले बताएको छिन्।
सिड्नीमा सङ्क्रमितको सङ्ख्या घट्दै गए तापनि जिम, रेस्टुरेन्ट, सुपर मार्केट र पबहरूमा सावधानी अपनाउन स्वास्थ्य अधिकारीहरूले आग्रह गर्दै आएका छन्।
न्यु साउथ वेल्सका जोखिमयुक्त स्थान र सुरक्षित सार्वजनिक यातायातका लागि न्यु साउथ वेल्स हेल्थको वेबसाइटमा जानुहोस्।
सेन्ट्रल कोस्टका बासिन्दाहरूलाई पनि उच्च सतर्कता अपनाउन बताइएको छ। गोस्फोर्डका ढलमा कोरोना भाइरसका तत्त्वहरू पाइएका छन्, दुई सङ्क्रमितहरू त्यस क्षेत्रसँग सम्बन्धित पनि छन्।
अन्तराष्ट्रिय यात्रुबाट भाइरस कसरी समुदायसम्म पुग्यो भन्ने अझै पत्ता नलागेकाले देशभर सीमा र यात्रा प्रतिबन्धहरू जारी गरिएका छन्, र थुप्रै अस्ट्रेलियालीहरूको क्रिसमस योजना पछि रद्द हुन बाध्य भएको छ।
"भाइरस एभेलनसम्म कसरी पुग्यो भन्ने हामीलाई अझ पनि थाहा छैन।", बुधवार पत्रकार सम्मेलनमा प्रिमियर बेरेजिक्लियनले भनिन्।
"समुदायमा सङ्क्रमण कसरी पुग्यो अझ अज्ञात नै छ, र हामीले पत्ता नलगाएको थप सामुदायिक सङ्क्रमण छैन भन्ने हामी सुनिश्चित गर्न चाहन्छौँ।"
आफ्नो भाषामा कोभिड-१९ बारे पछिल्ला समाचार र स्वास्थ्य आदेशका लागि sbs.com.au/coronavirus मा जानुहोस्।
