भिक्टोरियामा एकै दिनमा १०८ नयाँ कोरोनाभाइरस सङ्क्रमण पुष्टि भए पछि शनिवार प्रिमियर डानियल एन्ड्रुजले मेलबर्नका नौं सार्वजनिक आवासमा रहेका मानिसहरुलाई आफ्नो अपार्टमेन्ट बाहिर जान नदिइने बताएका हुन्।
उनको उक्त घोषणाका साथ् बिभिन्न अपार्टमेन्ट ब्लकमा रहेका १,३४५ युनिटका ३ हजार बासिन्दाहरु आगामी पांच दिन सम्म आफ्नो भवनबाट बाहिर जान पाउनेछैनन्।
फ़्लेमिङ्गटन र नर्थ मेलबर्नमा रहेका ती अपार्टमेन्टमा फसेकाहरुका लागि खाद्य र अन्य अत्यावश्यक सामाग्रीहरु आपूर्ति गराइनुका साथै आफ्नो काममा जान नपाएकाहरुलाई आर्थिक सहयोग पनि प्रदान गरिने एन्ड्रुजले बताएका छन्।
"यो कदम हल्का रूपमा लिइएको हैन, यसका लागि हामीसंग उपयुक्त प्रमाण रहेका छन्," उनले भने।

भित्रि मेलबर्न सहरमा रहेका अपार्टमेन्टहरुमा कम्तिमा ३० वटा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको अधिकारीहरुको भनाइ छ। साथै साना स्थानमा रहेका मानिसहरु बीच सङ्क्रमण फैलिएको उनिहरु बताउछन्।
तर सरकारको उक्त कदमले वैदेशिक द्वन्द देखि पारिवारिक हिंसा र मानसिक स्वास्थ्य चुनौतीहरुको पनि सामना गरिरहेकाहरुका लागि चाहिं झनै नकारात्मक असर पार्नसक्ने चिन्ता पनि व्यक्त गरिएका छन्।
सामाजिक सेवा सम्बन्धि भिक्टोरियाली परिषदले सरकारको पछिल्लो कदम पछि एक विज्ञप्ति जारी गर्दै सार्वजनिक आवासिय भवनहरुमा लकडाउन नियम लागु गर्ने निर्णय अभूतपूर्व रहेता पनि यो कोरोनाभाइरस बाट मानिसहरुलाई जोगाउन चालिएको आफ्नो विश्वास रहेको बताएको छ।
परिषद कि कार्यकारी प्रमुख एम्मा किङ्ग भन्छिन कि जनस्वास्थ्य अन्तर्गत चालिएको कदमबारे बहस गर्ने आफ्नो योजना रहेको छैन। ती अपार्टमेन्टका मानिसहरु ठुलो सङ्ख्यामा कोभिड -१९ बाट सङ्क्रमित भएको आफुले हेर्न नचाहेको पनि उनले बताइन।
तर लकडाउनको नियम लागु गराउदा ती मानिसहरु मध्ये केहिको अवस्था नाजुक रहेको हुनसक्ने बारे अधिकारीहरु सचेत रहन पनि जरुरी रहेको किङ्गको भनाइ छ।

"सार्वजनिक आवासमा रहेका मानिसहरु मध्ये केहि (वैदेशिक) लडाईहरु वा पारिवारिक हिंसा बाट भागेका छन्। केहिले मानसिक स्वास्थ्य सम्बन्धि चुनौतीहरुको सामना गरिरहेका छन्। धेरैले अङ्ग्रेजीलाई आफ्नो पहिलो भाषाको रूपमा प्रयोग गर्दैनन्। साथै धेरै अस्थायी वा असुरक्षित रोजगारमा पनि रहेका छन्," सुश्री किङ्ग बताउछिन्।
"लकडाउनले धेरै मानिसहरुलाई तर्साउने छ र पुराना ट्रमाहरुलाई फेरी उकास्न सक्नेछ।"
त्यसैले प्रहरी द्वारा मानिसहरुलाई आफ्ना अपार्टमेन्ट बाट बाहिर जान नदिईएको उक्त अवस्थामा प्रभावित मानिसहरुलाई जतिसक्दो जानकारी प्रदान गर्न जरुरी रहेको पनि एम्मा किङ्गको भनाइ छ।
भवनहरुलाई लकडाउनमा राख्ने सरकारको उक्त निर्णयका साथ् अत्यावश्यक बाहेकका गतिविधिका लागि आफ्नो घर बाहिर जान नपाउने भनि मेलबर्नका झन्डै ४० सबर्बमा रहेका १० पोस्टकोडको सुचिमा ३०३१ र ३०५१ पनि थपिएका छन्। जसको मतलब अब नर्थ मेलबर्न र फ़्लेमिङ्गटनका साथै केन्सिङ्गटन पनि उक्त सुचिमा परेको छ।
सरकारको पछिल्लो नियम लागु गराउन भिक्टोरिया प्रहरीका ५०० सदस्य खटाइने छन्।
साथै स्वास्थ्यकर्मीहरुले सम्बन्धित अपार्टमेन्ट भवनका प्रत्येक वासिन्दाहरुलाई कोरोनाभाइरसका लागि परिक्षण गराउन आग्रह गर्ने छन्। तर मानिसहरुले उक्त आग्रहलाई अस्विकार गरे लकडाउनको म्याद थपिन सकिने पनि प्रिमियर डानियल एन्ड्रुजले चेतावनी दिएका छन्।
यसैक्रममा सार्वजनिक आवास सम्बन्धि भिक्टोरियाली मन्त्री रिचार्ड विनले चाहिं लकडाउनमा रहेका सबै मानिसहरुका लागि सक्दो सहायता प्रदान गर्न सरकार तत्पर रहेको बताएका छन्।

