सङ्क्रमण रोकथाम हुने आशाका साथ भिक्टोरियाली सरकारले फैलावटको केन्द्रबिन्दु मानिएका १० स्थानहरूमा व्यापक मात्रामा कोरोना परीक्षण सुरु भएपछि ती थप सङ्क्रमित बिरामी भेटिएका हुन्।
भिक्टोरियाकी उप स्वास्थ्य प्रमुख एनालिस भ्यान डीमनका अनुसार ओरिजेन युथ हेल्थलाई हाल लकडाउन गरिएको र त्यहाँ कार्यरत कर्मचारी तथा तिनका नजिकका मानिसहरूलाई क्वारेन्टिनमा बस्न आदेश जारी गरिएको छ।
“ती कर्मचारीहरूको सम्पर्कमा आएका बिरामीहरूलाई उनीहरूकै कोठामा क्वारेन्टिनमा राखिएको छ,” भ्यान डीमनले बताइन।
यसै बिच, मेलबर्नको प्रमुख रेल स्टेसन - फ्लिनडर्स स्ट्रिट स्टेसनमा पछिल्लो दुई हप्ताको अवधिमा जम्मा ३० मिनेट मात्र काम गरेका भनिएका एक सर-सफाइ गर्ने कामदारलाई पनि कथित रूपमा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ।
मेलबर्नबाट प्रकाशित हुने दैनिक अखबार हेरल्ड सन्ले ती कामदारको रोजगारदातालाई उधृत गर्दै उक्त समाचार प्रकाशित गरेको हो।

यसै गरी उत्तरी मेलबर्न स्थित वलर्टमा भएको एक सामाजिक भेलाबाट मिल पार्क स्थित म्याकडोनल्ड्स रेस्टुरेन्टका कामदार कोभिड-१९ सङ्क्रमित भएको बताइएको छ।
हाल ती कामदार कार्यरत उक्त फास्ट फुड रेस्टुरेन्टलाई सरसफाइ हेतु बन्द गरिएको र अन्य कामदारहरूलाई क्वारेन्टिनमा बस्न भनिएको पनि एनालिस भ्यान डीमन जानकारी दिइन्।
यो हप्ता घोषणा गरिएको नयाँ व्यवस्था अन्तर्गत एल्बनभेल, ब्रन्सविक् वेस्ट, ब्रोडमीडोज, फक्नर, ह्यालम, कीलर डाउन्स, मेडस्टोन, पाकेनह्याम र रिजरभ्वाएरका ५० प्रतिशत बासिन्दाको परीक्षण गर्ने लक्ष सरकारले लिएको छ।
“तर हामी बाँकी ती अन्य सबर्बहरूलाई पनि १० दिनको अवधि भित्र समेट्ने छौँ,” उनले भने।
सामुदायिक रूपमा रोग धेरै सरेको आधारमा ती सबर्बहरूको चयन गरिएको बताउँदै ती स्थानहरूमा सङ्क्रमित मानिसहरू थाहै नपाइकन यता उति लागिरहेको आशङ्का समेत उनले उक्त अवसरमा व्यक्त गरेका थिए।
प्रतिदिन करिब १०,००० बासिन्दाको परीक्षण गर्ने लक्षका लागि सरकारले ८०० कर्मचारी र घुम्ती शिविरको व्यवस्था गरेको छ।

यो सँगै, मेलबर्नका कोरोना हट स्पट सबर्बहरुमा बसोबास गर्ने सेन्टरलिङ्कमा कार्यरत कर्मचारीहरूलाई घरैबाट काम गर्न प्रोत्साहन गरिएको सर्भिसेस अस्ट्रेलियाले बताएको छ।
सेन्टरलिङ्कलाई कामदार उपलब्ध गराउने च्याण्डलर म्क्लियोड नामक मानव संसाधन प्रबन्धन कम्पनीसँग आफूहरूले यस बारे सहकार्य गरिरहेको उसको भनाइ छ।
भिक्टोरियाली स्वास्थ्य तथा मानव सेवा विभागले जारी गरेको पछिल्लो परीक्षण स्थानहरूको सूची यस प्रकार छ: ब्रोडमिडोज सेन्ट्रल केसी फिल्ड्स च्याडस्टोन शपिङ्ग सेन्टर ड्यानडेनङ ड्राइभ थ्रु सेन्टर हाइपोइन्ट शपिङ्ग सेन्टर नक्स शपिङ्ग सेन्टर कीलर कम्युनिटी हब क्रेगिबर्न मेलबर्न शोग्राउण्ड्स प्यासिफिक वेरीबी शपिङ्ग सेन्टर प्यासिफिक एपिङ्ग शपिङ्ग सेन्टर नर्थल्याण्ड शपिङ्ग सेन्टर वेस्ट फुट्सक्रे बन्निङ्ग्सअद्यावधिक तथा अधिक जानकारीका लागी यहाँ जानुहोस्
गत एक साता यता क्रमिक रूपमा सङ्क्रमण सङ्ख्या बढ्दै गएको तर्फ इङ्गित गर्दै एण्ड्रुजले यसलाई “राज्य अहिले चक्कुको धार”मा रहेको बताए।
“मलाई थाहा छ कि अधिकतर भिक्टोरियालीहरू चिन्तित र असुरक्षित महसुस गरिरहेका छन्,” उनले भने।
“अब हामीले के गर्ने भन्ने कुराको निधो आगामी समयमा के हुन्छ, त्यसमा निर्भर रहन्छ। स्थानीय रूपमा हुने लकडाउन तिर जान हामीलाई मन छैन। त्यसले व्यापार र परिवारहरू माथि पुर्याउने असर हामीलाई थाह छ।”
“हामी घरै पिच्छे गएर ढोका ढकढकाउने छौँ। यदि तपाईँ अति कोरोनाभाइरस प्रभावित सबर्बमा बस्नुहुन्छ भने हामी कोरोनाभाइरस विरुद्धको प्रतिक्रिया तपाईँको दैलोमा नै ल्याई पुर्याउँछौँ।”
न्यु साउथ वेल्स नआऊ
भिक्टोरियालीहरू कोरोनाभाइरससँग जुधिरहेको बेला उता छिमेकी राज्य न्यु साउथ वेल्सले भने त्यहाँ आयोजित हुने कुनै पनि एनआरएल खेलहरूमा भिक्टोरियाली दर्शकहरूलाई प्रवेश नदिने बताएको छ।
न्यु साउथ वेल्सका स्वास्थ्य मन्त्री ब्राड हाजार्डले हाल दक्षिणी राज्यमा जारी सङ्कट नहटेसम्मका लागि भिक्टोरियाली दर्शकहरूलाई आफ्नो राज्यमा हुने खेल हेर्न रङ्गशालामा प्रवेश निषेध हुने बताएका हुन्।
“म एनआरएल तथा एआरएललाई धन्यवाद दिन चाहन्छु किनकि उहाँहरूले मानवीय तरिकाले सम्भव भएसम्म कुनै पनि भिक्टोरियालीहरूलाई टिकट नबेच्न तत्काल आवश्यक कदम चाल्नु भएको छ,” हाजार्डले भने।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ। यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

