भिक्टोरियाका थप २० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुँदै गर्दा गए राति एक ८० वर्षीय वृद्धले कोभिड-१९ सङ्क्रमणका कारण ज्यान गुमाएको पुष्टि भएको छ।
भिक्टोरियाका ती वृद्धका साथ अस्ट्रेलियाभर कोरोनाभाइरसका कारण मृत्यु हुनेको कुल सङ्ख्या १०३ पुगेको छ जुन पछिल्लो एक महिना यता कै कोभिड-१९ सङ्क्रमणबाट ज्यान गएको पहिलो घटना हो।
राज्यका प्रमुख स्वास्थ्य अधिकारी ब्रेट सटनले चेतावनी दिएका छन् कि सङ्क्रमणका घटना बढ्दै जाँदा मानिसहरू अस्पताल भर्ना हुने सङ्ख्यामा वृद्धि हुनुका साथै सघन उपचार आवश्यक हुने बिरामी पनि बढ्न सक्छ।
“थप सङ्क्रमण पुष्टि हुँदै जाँदा मानिसहरूको मृत्यु हुने खतरा पनि छ,” उनले भने।

“त्यस कारण पनि हामीले यो बढिरहेको सङ्क्रमणलाई नियन्त्रण गर्नै पर्छ।”
बुधवार दिउँसो १ बजेदेखि मेलबर्न शोग्राउण्ड्समा स्थापित नयाँ परीक्षण केन्द्र कीलर डाउन्स सेकेण्डरी कलेजका विद्यार्थी, तिनका अभिभावक र शिक्षक-शिक्षिकाका लागि खुला गरिने बताइएको छ र भोलि बिहानदेखि पश्चिमी मेलबर्नका बासिन्दाहरूले पनि सो स्थानमा गएर कोरोनाभाइरस परीक्षण गर्न सक्ने बताइएको छ।
किलर पार्क बस्ने एक परिवार कोरोनाभाइरस सङ्क्रमित भएपछि उनीहरूको सम्पर्कमा आएका दुई जना विद्यार्थीहरू अरूलाई रोग सार्ने अवस्थामा नै दुई दिन कीलर डाउन्स सेकेण्डरी कलेज गएको पत्ता लागेपछि उक्त विद्यालयलाई गहिराइसँग सफा गर्न सोमबार बन्द गरिएको थियो।
राज्यमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बिस्तारै बढ्दै जाँदा भिक्टोरियालीहरूको परीक्षण केन्द्रमा ताँती नै लाग्न थालेको छ।

यसै बिच भिक्टोरियाका प्रिमियर ड्यानियल एण्ड्रुजले आफ्नो राज्यका बासिन्दाहरूसँग कोरोना परीक्षणका लागि लामो समय कुर्नु परेको भन्दै माफी मागेका छन्।
उता, मेलबर्नभरका शपिङ्ग सेन्टरहरू जहाँ कोरोना परीक्षण केन्द्रहरू स्थापना गरिएको छ, ती सबैले मागलाई सम्बोधन गर्ने हेतुका साथ आफ्नो सेवा अवधिलाई बढाएका छन्।
सटनले भने मानिसहरूलाई अलिक कम व्यस्त परीक्षण केन्द्र तर्फ लाग्न अनुरोध गरेका छन्।
“मानिसहरूको बानी ब्यहोरा पनि अचम्मकै हुन्छ,” उनले एक्कासि परीक्षण गराउन आउनेको ताँती बढेको तर्फ इङ्गित गर्दै भने।
“पहिले आफ्नो जीपीलाई सम्पर्क गरेर हेर्नुहोस्, उनीहरू कहाँ पो परीक्षण गर्न मिल्छ कि?”

एण्ड्रुजका अनुसार पछिल्लो दिनहरूमा व्यापक रूपमा कोरोनाभाइरस फैलिएको क्षेत्रहरू - ब्रिमब्याङ्क, कार्डेनिया, केसी, डारेबिन, ह्युम र मोरल्याण्डका घरहरूमा ठुलो मात्रामा अधिकारीहरू पुगेर ती क्षेत्रका बासिन्दाहरूले सरकारी निर्णयको पालना गरे-नगरे निरीक्षण गर्नेछन्।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ। यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

