भिक्टोरियाली सरकारले अर्को हप्ताको अन्त्यसम्ममा करिब १००,००० मानिसहरूको कोभिड-१९ परीक्षण गर्ने घोषणालाई मूर्त रूप बनिङ्ग्सदेखि शपिंग सेन्टरहरूसम्म यस्ता मोबाइल टेस्टिङ्ग साइटहरू स्थापना गरिएका हुन्।
आजदेखि कोभिड-१९ परीक्षण सुरु भएका ठाउँहरू यस प्रकार छन्:
- बनिङ्ग्स, वेस्ट फुट्सक्रे
- प्यासिफिक वेरीबी
- प्यासिफिक एप्पिङ्ग
- वाटरगार्डेन्स टाउन सेन्टर
- वेस्टफिल्ड फाउनटेनगेट र
- बेसाइड शपिङ्ग सेन्टर

हिजोदेखि सुरु भएको यस्ता मोबाइल क्लिनिकहरू यसै गरी थप चार शपिङ्ग सेन्टरहरूमा सञ्चालित छन्:
- च्याडस्टोन
- डनकास्टर
- हाइपोइन्ट र
- नर्थल्याण्ड
यसै अवसरमा, भिक्टोरियाली स्वास्थ्य मन्त्री जेन्नी मिकाकोसले जस्तो सुकै सानो लक्षण देखा परे पनि मानिसहरूलाई तत्काल परीक्षण गराउन प्रोत्साहन गरेकी छिन्।
“बृहत् रूपमा गरिन लागेको यी टेस्टिङ्गहरूले समुदायमा कसरी भाइरस फैलिरहेको छ भनेर बुझ्न हामीलाई सर्वोत्तम जानकारी दिनेछ - र म सानो तिनो लक्षण भएका जो कोहीलाई पनि गएर आफूलाई परीक्षण गराउन र हामीलाई मद्दत गर्न प्रोत्साहन गर्छु,” मिकाकोसले भनिन्।

माथि उल्लेखित परीक्षण केन्द्रहरूमा डाक्टर, नर्स र प्याथोलोजी सम्बन्धी कर्मचारीहरू उपलब्ध रहेको बताएको भिक्टोरिया सरकारका अनुसार आगामी दिनहरूमा मोबाइल परीक्षण क्लिनिकहरूको थप बिस्तार हुँदै अन्य सबर्ब तथा रिजनल सहरहरूमा पनि स्थापना गरिने छ।
उता, राज्यका चिफ मेडिकल अफिसर ब्रेट सटनले थप मानिसहरू ती टेस्ट सेन्टरहरूमा गएर आफूलाई जचाए भाइरसको फैलावटबारे थप जानकारी आफूहरूसँग हुने र त्यसबाट हासिल गरिने ज्ञानले सम्भावित रूपमा प्रतिबन्धहरू खुकुलो पार्न सकिने बताएका छन्।
परीक्षण गर्न आउँदा मानिसहरूलाई भए मेडीकेयर कार्ड, नभए आफ्नो परिचय खुल्ने अन्य कुनै कार्ड लिएर आउन भनिएको छ भने अन्तर्राष्ट्रिय विद्यार्थी र पर्यटक भिसामा रहेकाहरूलाई पनि टेस्टिङ्गमा आउन सरकारले प्रोत्साहन गरेको छ।

भिक्टोरियामा नयाँ क्लस्टरहरू फेला पर्न थाले
यही बिच, मेलबर्नका तीन विभिन्न ठाउँहरूमा कोरोना सङ्क्रमणका नयाँ क्लस्टरहरू फेला परेका छन्।
सटनले बिहीबार बिहान लोकल रेडियो स्टेसन थ्रीएडब्लूसँग कुरा गर्दै आफूहरूले पूर्वी मेलबर्न स्थित एक वृद्ध स्याहार केन्द्रमा देखिएको सङ्क्रमणका मामिलाहरू बारे छानबिन गरिरहेको बताएका छन्।
हथर्न ग्रेंज रेसिडेण्टिएल एज्ड केयरमा देखा परेको कोभिड-१९ सङ्क्रमण बारे पुष्टि गर्दै त्यहाँ थप नयाँ मामिलाहरू आउन सक्ने उनले बताए।
“त्यहाँ थप घटनाहरू देखा पर्न सक्छन्,” डा ब्रेट सटनले उक्त रेडियोलाई भने।

यस अघि बुधवार पश्चिमी मेलबर्न स्थित सनशाईन अस्पतालमा बिना लक्षण भर्ना भएका एक बिरामीले खोक्न थालेपछि परीक्षण गर्दा शल्यक्रियाका लागि भर्ती गरिएका ती व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएको थियो।
लगत्तै, उनीसँग सम्पर्कमा आएका २४ कर्मचारीहरूलाई सेल्फ क्वारेन्टिनमा पठाइएको छ।
उता, याराभिल स्थित एक बाल स्याहार केन्द्रमा पनि सम्भावित सङ्क्रमण बारे थप जाँच भइरहेको पनि सटनले पुष्टि गरेका छन्।
उनका अनुसार उक्त चाइल्डकेयर सेन्टरमा गरिएको पहिलो टेस्टिङ्गले सङ्क्रमण बारे गरिएको परीक्षणको नतिजामा केही देखिएको थिएन।
हालसम्म भिक्टोरियामा १,३६१ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भैसकेको छ भने १८ जनाले आफ्नो ज्यान कोरोनाभाइरस सङ्क्रमणका कारण गुमाइसकेका छन्।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

