भिक्टोरियाका प्रिमियर ड्यानियल एन्ड्रुजले सामाजिक दुरी बारेका प्रतिबन्धहरू उचित समय भन्दा अगावै खुकुलो पारिए त्यसबाट सङ्क्रमणको दोस्रो लहर सुरु हुने बताउँदै आफ्नो राज्यले अस्ट्रेलियाका अन्य राज्यको सिको गर्दै सामाजिक गतिविधिमा लागू गरिएको प्रतिबन्धहरू तत्कालै नखोलिने स्पष्ट पारेका हुन्।
आइतबार वेस्टर्न अस्ट्रेलिया र क्विन्सल्याण्ड दुवै राज्यहरूले कोरोनाभाइरस सम्बन्धी मामिलाहरूमा उल्लेखनीय सुधार भएको भन्दै सामाजिक प्रतिबन्धहरू खुकुलो बनाउने घोषणा गरेका थिए।
“हामी त्यस्तो अवस्थामा पुग्न चाहँदैनौँ जहाँ स्थितिले हाम्रो निराशाहरूको फाइदा उठाउँदै, हामीले अहिलेसम्म गरेका उपलब्धिहरू सबै उल्टिउन्,” प्रिमियर एन्ड्रुजले भने।
“मानिसहरूले धेरै नै त्याग गरिसकेका छन्, निकै कडा परिश्रम गरिसकेका छन् - एकै झमटमा यी सबै उपलब्धिहरू अधीर र दिक्क भएर हामीले हातबाट उम्किन दिनु हुँदैन।”
बरु, प्रतिबन्ध फुकुवाको साटो उनले आगामी दुई हप्ता करिब एक लाख बासिन्दाहरूको परीक्षण गरिने योजना सार्वजनिक गरेका छन्।

ड्यानियल एन्ड्रुजका अनुसार यसरी ठुलो सङ्ख्यामा मानिसहरूको परीक्षण गरेर हेर्दा सङ्क्रमण दर कम पाइए पूर्वघोषित प्रतिबन्धहरू क्रमिक रूपमा हटाउन सकिने छ।
“हाम्रो राज्यको इतिहासमा नै सबैभन्दा बृहत् स्वास्थ्य परीक्षण प्रक्रिया वा कार्यक्रम गर्न गइराखेका छौँ,” एन्ड्रुजले भने।
“ती परीक्षणका नतिजाहरूले हामीलाई केही मात्रामा भए पनि प्रतिबन्धहरू हटाउन विकल्पहरू प्रदान गर्नेछन्।”
“परीक्षणका नतिजा जस्तो सुकै आओस्, म सबै प्रतिबन्धहरू फुकुवा हुनेछन् भनेर भन्दिन किनभने त्यो निकै जोखिमपूर्ण हुनसक्छ,” भिक्टोरियाली प्रिमियरले भने।
“तर, राम्रो डाटा, थप जानकारी र अझ धेरै मानिसहरूले नियमहरूको पालना गरे र परीक्षणमा सामेल भए हामीसँग थप विकल्पहरू हुनेछन्।”
हालसम्म करिब एक लाख भन्दा बढी भिक्टोरियालीहरूको कोभिड-१९ सम्बन्धी परीक्षण भइसकेको छ।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

