SKIP TO MAIN CONTENT

दस लाख भन्दा बढी अस्ट्रेलियालीहरूले डाउनलोड गरे “कोभिडसेफ” एप

आफूले आशा गरे भन्दा धेरै मानिसहरूले आफ्नो कोभिड-१९ कन्ट्याक्ट ट्रेसिङ्ग एप १२ घण्टा पनि नबित्दै डाउनलोड भएकोमा सङ्घीय सरकारले सन्तोष व्यक्त गरेको छ।

The app was launched on Sunday.
The app was launched on Sunday. Source: AAP

3 min read

Published

Updated



Skip to article content

आइतबार साँझ ६ बजेदेखि उपलब्ध भएको स्वैच्छिक कोभिडसेफ एप सोमबार बिहान ६ बजेसम्म करिब ११ लाख ३० हजार पटक डाउनलोड भएको आँकडा सार्वजनिक गर्ने क्रममा सरकार दङ्ग परेको हो।

“शायद पाँच दिनमा १० लाख सङ्ख्या पुग्छ कि भनेर हामीले आशा गरेका थियौँ र पाँच घण्टा भित्रै त्यो लक्षमा पुग्न भाग्यशाली भएका छौँ,” स्वास्थ्य मन्त्री ग्रेग हन्टले भने।

“अस्ट्रेलियालीहरूले जसरी भाइरसको दौरानमा राम्रो काम गरिरहेका छन्, उनीहरूले यस पटक पनि भव्य प्रतिक्रिया जनाएका छन्।”

गोपनीयताको बारेमा चिन्तित भए मानिसहरूले फर्जी नाम राखेर पनि दर्ता गर्न सक्ने हन्टको भनाई छ।

सिङ्गापुरको ट्रेसटुगेदर सफ्टवेयरमा आधारित यो अस्ट्रेलियन एपले ब्लुटुथ प्रविधिको माध्यमबाट एक मोबाइल फोनलाई अर्को मोबाइल फोनसँग जोड्दिन्छ।

यदि ती मध्ये कुनै पनि मोबाइल धनीहरूलाई कोरोनाभाइरस सङ्क्रमण भएको खण्डमा उक्त व्यक्तिले राज्यका स्वास्थ्य अधिकारीहरूलाई त्यस एपको डाटा उपलब्ध गराएपछि उनीहरूले सङ्क्रमित व्यक्तिको नजिक आएका अन्य मानिसहरूलाई (जसले कोभिडसेफ एप आफ्नो फोनमा हालेका छन्) सम्भावित सङ्क्रमण बारे सचेत गराउन सक्ने बताइएको छ।

आइतबार एप सार्वजनिक गर्ने क्रममा सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले उक्त एपले “जीवन रक्षा गर्नुका साथै जीवन जोगाउने” बताए।

Minister for Health Greg Hunt
Minister for Health Greg Hunt Source: AAP

“यो समुदायमा रहेका र थाहा नपाइएका सङ्क्रमणका मामिलाहरूलाई पहिचान गर्ने र द्रुत रूपमा उपचारसम्म पहुँच पुर्‍याउने बारेमा हो र हाम्रा डाक्टर एवम् नर्स, हाम्रा स्वास्थ्यकर्मीहरू, हाम्रा परिवारजन तथा साथीभाइहरू सुरक्षित हुन् भनेर सुनिश्चित गर्ने बारेमा पनि हो,” उनले भने।

कोभिड-१९ परीक्षणको दायरा फराकिलो बनाइएको र सम्पर्क स्थापित भएको पत्ता लगाउने नयाँ एपका धेरै अस्ट्रेलियालीहरूले प्रयोग गर्दा आर्थिक गतिविधिमा गरिएको रोक्का सोचे भन्दा शीघ्र खुकुलो बनाइन सकिने पनि सरकारको सोच छ।

प्रधानमन्त्री स्कट मरिसनका अनुसार सामान्य जनजीवनमा फर्किने अनेक उपायहरू मध्ये यो एप पनि एक हो र यसको प्रयोग गर्न डराउनु पर्दैन।

“कुनै पनि अन्य सरकारी एजेन्सीले यो जानकारी प्रयोग गर्न सक्दैन, केन्द्रीय सरकार अन्तर्गतका कसैले कुनै पनि हालतमा यो जानकारी पाउँदैनन् र राज्यका अधिकारीहरूमा पनि स्वास्थ्य अधिकारीहरूले मात्र यसलाई प्रयोग गर्न सक्दछन्,” उनले भने।

“न त प्रहरी, न त सामाजिक कल्याणकारीका अधिकारी, कोही पनिले। केवल स्वास्थ्य अधिकारी।”

प्रतिपक्षी लेबरका स्वास्थ्य प्रवक्ता क्रिस बावनले हाललाई उक्त एप अस्ट्रेलियाको जैविक सुरक्षा ऐन अन्तर्गत अन्तरिम व्यवस्थाद्वारा सक्रिय गराइएको र आगामी मे महिनामा बस्ने संसद्को बैठकद्वारा आवश्यक कानुन निर्माण गरी जारी गरिने आशा व्यक्त गरे।

“म खुसीसाथ यो एप डाउनलोड गर्नेछु,” बावनले सिड्नीमा पत्रकार पत्रकारहरूसँग भने।

अघिल्लो हप्ता एसबीएस नेपालीले आफ्ना पाठकहरू समक्ष, तपाईँ उक्त सरकारी एप डाउनलोड गर्नुहुन्छ कि हुँदैन भनेर गरेको एक सर्वेक्षणमा ६१ प्रतिशतको जवाफ “म डाउनलोड गर्छु” भन्ने थियो।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

covid-19.png

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now