अस्ट्रेलियामा कोरोना भाइरस महामारीका कारण सङ्क्रमित हुनेहरूको सङ्ख्यामा कमी आइरहँदा राज्य तथा सङ्घीय सरकारले भने केही प्रतिबन्धहरूलाई कम गर्न सुरु गरिसकेका छन्।
तर विज्ञहरूले महामारीको खतरा टरी नसकेको भन्दै सङ्क्रमणको 'दोस्रो लहर' ले अस्ट्रेलियालाई आगामी महिनाहरूमा नराम्रो झट्का दिन सक्ने तर्फ सचेत गराएका छन्।
डा. क्याथरिन स्नो मेलबर्न विश्वविद्यालयको सरुवा रोग महामारी सम्बन्धी क्षेत्रमा कार्यरत रहेकी छन् र उनले अस्ट्रेलियाले अहिले नै ढुक्क हुने अवस्था नभएकोमा जोड दिएकी छन्।

डा. स्नोले अस्ट्रेलियामा सङ्क्रमितहरूको सङ्ख्यामा कमी आउनुको प्रमुख कारण भनेको सरकारले समयमा नै ल्याएको कडा प्रतिबन्ध भएको बताएकी छन्।
थोरै समयमा पनि अवस्था कति नाजुक हुन सक्छ भन्ने कुराको प्रशस्त उदाहरणहरू देखिएको भन्दै अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने र एक ठाउँमा भेला हुने मानिसहरू सङ्ख्या निर्धारण गरेर सङ्क्रमणको सङ्ख्या घटे पनि अझै पनि भाइरस पूर्णतया नसकिएकोले डा स्नोको भनाइ रहेको छ।
विशेष गरी जाडो मौसममा भाइरसको दोस्रो लहर आयो भने अस्पतालहरू फ्लुका बिरामीहरूको उपचारमा व्यस्त हुने हुँदा त्यो समय निकै जोखिमयुक्त हुने भन्दै उनी चिन्ता व्यक्त गर्छिन्।
दक्षिण अस्ट्रेलियाको अस्ट्रेलियाली मेडिकल सङ्गठनका अध्यक्ष डा. क्रिस मोयले पनि अस्ट्रेलियाले यदि हतारमा प्रतिबन्धहरू हटाउने हो भने त्यसको नतिजा विनाशकारी हुने बताएका छन्।
स्वास्थ्य विभागका प्रवक्ताले एसबीएस न्युज सँग कुरा गर्दै सरकारले अन्य राष्ट्रहरूको दोस्रो चरणको सङ्क्रमण अनुभवलाई नजिकबाट नियाली रहेको बताएका छन्।
सिंगापुर एक यस्तो देश हो जसले कोरोना भाइरसको सङ्क्रमणलाई नियन्त्रणमा लिएको विश्वास गरिएको थियो तर अहिले सो राष्ट्रले दोस्रो चरणको सङ्क्रमणको सामना गरिरहेको छ।
उक्त सहरी राज्यमा मङ्गलवार मात्र १ हजार १ सय नयाँ सङ्क्रमण भेटिएको थियो जसले सङ्क्रमितहरूको सङ्ख्या ९ हजार कटाएको छ र त्यसको अघिल्लो दिन नै अहिले सम्मकै सबैभन्दा बढी अर्थात् १ हजार ४ सय बढीमा सङ्क्रमण पाइएको थियो।

डा. मोयले सिंगापुर अलि बढी नै विश्वस्त भएको बिचार राखेका छन्।
यसले गर्दा प्रधानमन्त्री ली सिन लूंग ले व्यवसाय तथा विद्यालयहरूलाई आगामी महिना जुन १ सम्मका लागी बन्द गर्ने निर्णय लिएका छन्।
अन्य राष्ट्रहरूले पनि अहिले पुनः सङ्क्रमणको सङ्ख्या बढ्ने सक्ने सम्भावना बारे छलफल गर्न थालेका छन्।
अमेरिकाको रोग रोकथाम तथा नियन्त्रण केन्द्रले आगामी जाडो मौसममा फ्लु सिजनको सुरुवाती समयमा सङ्क्रमणले अहिले भन्दा पनि बढी प्रभाव पार्ने अनुमान गरेको छ।
यही चिन्तालाई बेलायतका अधिकारीहरूले पनि दोहोर्याएका छन्। बोरिस जोन्सनका प्रवक्ताले दोस्रो लहरले देशको अर्थतन्त्र र स्वास्थ्य क्षेत्रमा बढी असर पुर्याउने बताएका छन्।
अमेरिकाको कर्नेल विश्व विद्यालयले दोस्रो चरणको सङ्क्रमणबारे तयार परेको नमुना विवरण सार्वजनिक भए पछि यस्ता चिन्ताहरू व्यक्त भएका हुन्।
उक्त नमुना विवरणले सामाजिक दुरीको प्रावधानलाई हतार गरेर हटाइनाले सङ्क्रमणले फेरी उचाइ लिने गरेको देखाएको छ।
कर्टिन विश्व विद्यालयका सरुवा रोग महामारी विषयका प्रोफेसर आर्ची क्लेमेंट्सले दोस्रो चरणको सङ्क्रमण निकै गम्भीर किसिमको हुने भए पनि अस्ट्रेलियामा केही प्रतिबन्धहरूलाई भने खुल्ला गर्न सकिने सुझाव दिएका छन्।

उनका अनुसार सङ्घीय सरकारले सर्वप्रथम कम जोखिम युक्त निर्णय लिन सक्छ र त्यस पछि अवस्था विकास क्रमको मूल्याङ्कन गर्नु पर्छ।
तर यसो गर्दा मानिसहरूको स्वास्थ्य सुरक्षा र समाज र अर्थतन्त्र जोगाउने बिचमा सन्तुलन राख्न सक्नु पर्छ।
तर उनले यो महामारीबाट बाहिर निस्कने एक मात्र उपाय भनेको भाइरस विरुद्धको खोप भएकोमा जोड दिएका छन्।
