मङ्गलवारको घोषणासँगै, एक महिना भन्दा बढी समय सामाजिक दुरी सम्बन्धी कडा नियमहरू पालना गरेर बसेका न्यु साउथ वेल्सका बासिन्दाहरूलाई, अब आउँदो शुक्रवारदेखि दुई जना वयस्कहरूलाई अर्को घर जान अनुमति दिइनेछ।
"मे १ शुक्रवारदेखि, दुई वयस्कहरू सामाजिक एक्लोपन कम गर्न र सबैको मानसिक स्वास्थ्य (सुधार गर्ने) हेरचाहको आधारमा अरूहरूको घरमा गएर अन्य मानिसहरूलाई भेट्न सक्षम हुनेछन्," प्रिमियर बेरेजिक्लियनले भनिन्।
उनले यो पनि स्पष्ट पारिन् कि दुई वयस्कहरूले आफ्ना स-साना बच्चाहरूलाईसँगै लिएर अन्य परिवारजन वा मित्रहरूका जान सक्ने छुट हुनेछ।
तर ग्लाडीस बेरेजिक्लियनले ७० वर्षभन्दा माथि रहेका मानिसहरू भेट्न जाँदा भने सामाजिक दुरीलाई ध्यान दिनुपर्नेमा जोड दिएकी छिन्।
बेरेजिक्लियनका अनुसार ७० वर्ष र सो भन्दा बढी उमेर भएका मानिसहरूलाई अत्यावश्यक काममा बाहेक आफ्नो घर छाडेर बाहिर जान र अन्य मानिसहरू भेट्न सिफारिस गरिएको छैन।
उनले आफ्ना राज्यवासीहरूलाई सामाजिक दुरी प्रतिबन्धमा दिइने छुटलाई जिम्मेवारी पूर्ण निर्वाह गर्न पनि आग्रह गरिन्।
“जोखिम नलिनुहोस्। मानिसहरू जिम्मेवार नहुँदा फेरी सङ्क्रमण बढेको हेर्ने हामी चाहँदैनौँ,” न्यु साउथ वेल्स प्रिमियरले पत्रकारहरूसँग भनिन्।
“मेरो बिचारमा मे महिनामा हामीले सङ्क्रमणका मामिलाहरू बढेको देख्नेछौँ किनकि जब तपाईँ गतिविधिहरू बढाउनु हुन्छ तब तपाईँ धेरै मानिसहरू प्राय: चारैतिर हिँडडुल गर्छन्, एक अर्काको नजिक हुन्छन्।”
अप्रिल महिनाभर अतिरिक्त व्यक्तिगत सुरक्षा उपकरण भण्डार गरिएकाले आफूहरू कोरोनाभाइरस सङ्क्रमण दरमा हुने अभिवृद्धिलाई सम्बोधन गर्न सक्षम हुने बेरिजिक्लियनको आकलन रहेको छ।
यसका साथै खुद्रा व्यापारिक गतिविधि पनि बढ्ने आसा उनको छ।

“हिजो मैले खुद्रा गतिविधिहरू वृद्धि गर्ने सम्भावनाहरू बारे विषय उठान गरेकी थिएँ। कृपा गरेर मे महिनालाई हामीले राम्रो गरिरहेको सङ्केतको रूपमा लिइदिनुहोस्, न्यु साउथ वेल्सले प्रतिबन्धहरू खुकुलो पार्ने सङ्केतका रूपमा,” प्रिमियर ग्लाडीस बेरेजिक्लियनले भनिन्।
न्यु साउथ वेल्स प्रिमियर यो पनि भन्छिन् कि थप खुद्रा व्यापारहरू पुनः सुचारु हुँदैछन् र अब स्कूलहरू पनि क्रमिक रूपमा प्रत्यक्ष अध्ययन-अध्यापनका लागि खुल्ने तयारी गरिरहेका छन् र बिस्तारै खुद्रा पसलहरू खोल्ने कार्यलाई आफ्नो सरकारले प्रोत्साहन गर्ने पनि उनले बताइन।
“खुद्रा पसलहरू खुल्ला हुँदा त्यसले रोजगारी सृजना गर्न महत्त्वपूर्ण भूमिका खेल्छ,” बेरेजिक्लियनले भनिन्।

उता, राज्यकी प्रमुख चिकित्सकीय अधिकृत केरी च्यान्टले गए राती पश्चिमी सिड्नी स्थित न्युमार्च हाउस नाम गरेको एक वृद्ध स्याहार केन्द्रमा थप एक व्यक्तिको कोभिड-१९ सङ्क्रमणका कारण ज्यान गएको पुष्टि गरेकी छिन्।
ती ८९ वर्षिया महिलाको मृत्युसँगै हालसम्म उक्त वृद्ध स्याहार केन्द्रमा बस्ने सातजनाको ज्यान कोरोनाभाइरस सङ्क्रमणका कारण गइसकेको सकेको छ।
च्यान्टका अनुसार उक्त स्याहार केन्द्रमा काम गर्ने थप एक कर्मचारीलाई पनि कोभिड-१९ सङ्क्रमण भएको छ र योसँगै न्युमार्च हाउसका २० कर्मचारी र ३७ निवासीहरू कोरोनाभाइरस सङ्क्रमणबाट पीडित भइसकेका छन्।

हालसम्म न्यु साउथ वेल्समा ३७ जनाले कोभिड-१९ का कारण आफ्नो ज्यान गुमाइसकेको सरकारी भनाई छ।
यसैबिच, बोण्डाइ बिच पौडी तथा सर्फिंगका लागि पुनः खोलिएको छ।
तर उक्त क्षेत्र अस्ट्रेलियाकै सबैभन्दा बढी कोभिड-१९ सङ्क्रमित मानिस भएको जनाउँदै बालुवामा गएर बस्न भने हाललाई छुट नरहेको स्थानीय अधिकारीहरूले स्पष्ट पारेका छन्।
वेभर्ली काउन्सिलकी मेयर पौला मास्सेलोस् भन्छिन् कि बोण्डाइ, ब्रोण्टे र तामारामा सामुद्रिक तटहरू मङ्गलवारदेखि “व्यायामका लागि मात्र” खुलेका हुन्।
मानिसहरूले सोमबारदेखि शुक्रवारसम्म बिहान सात बजेदेखि बेलुकी पाँच बजेसम्म पानीमा जान सक्ने र त्यसका लागि तोकिएको प्रवेश र प्रस्थान बिन्दु प्रयोग गर्नुपर्ने बताइएको छ।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

