न्यु साउथ वेल्स भरका विद्यार्थीहरू आगामी मे महिनाको ११ तारिखदेखि लागू हुने गरी, सुरुमा हप्ताको एक दिन स्कुल फर्किने प्रिमियर ग्लाडिस बेरिजिक्लियनले मङ्गलवार बताएकी हुन्।
न्यु साउथ वेल्स राज्य सरकार प्रमुख बेरिजिक्लियनका अनुसार, विद्यालयहरू क्रमिक रूपमा क्रियाशील पार्दै आगामी जुलाई महिनाको २१ तारिखसम्ममा पूर्ण रूपमा सञ्चालन हुने व्यवस्था गरिनेछ।
“के यो बच्चाहरू सामान्य परिस्थितिमा स्कुल जाने जस्तै हो? होइन, त्यसो हुँदैन,” बेरेजिक्लियनले मङ्गलवार पत्रकारहरूसँगको साक्षात्कारमा भनिन्।

“यो अवधिमा हामीले केवल हाम्रो अनलाइन क्षमता अभिवृद्धि गर्न मात्र नभई हामीले यो पनि सुनिश्चित गरेका छौँ कि हामीसँग पर्याप्त सङ्ख्यामा स्यानटाइजहरू, साबुन र ती सबै चीजहरू छन् जसले स्कुल समुदायलाई सुरक्षित महसुस गर्न सहयोग पुर्याउने छन्।”
“सुरुमा यो, हप्ताको एक दिन मात्र हुनेछ, र त्यसपछि प्रगतिशील रूपमा दुई दिन, र त्यसपछि हामी आशा गर्छौँ कि दोस्रो सत्रको अन्त्यसम्म विद्यार्थीहरूलाई पूर्णकालीन क्षमतामा स्कूलमै पठनपाठन गराइने छ,” उनले भनिन्।
बेरेजिक्लियनका अनुसार राज्यभरका सार्वजनिक लगायत क्याथोलिक र अन्य गैर सरकारी विद्यालयहरू सबैले आफ्नो योजनामा सहमति जनाइसकेका छन्।
कोरोनाभाइरस महामारीका बिच हाल केही स्कूलहरू अझै सञ्चालनमा रहेता पनि, राज्यका विद्यार्थीहरूलाई घरमै रहेर दूर शिक्षा प्रविधि मार्फत अध्ययन गर्न सुझाइएको छ।

ग्लाडिस बेरिजिक्लियन भन्छिन् कि नयाँ व्यवस्था लागू भए पछि स्कुल हाता भित्र कुनै एक समयमा कुल विद्यार्थी सङ्ख्याको एक चौथाइ भन्दा धेरै छात्रछात्रा उपस्थित गराइने छैन।
तर यो राज्यभरका अलग अलग विद्यालयहरूमा नितान्त फरक ढङ्गले लागू गरिनेछ।
कुनै विद्यालयमा खेलकुद समूहका आधारमा विद्यार्थीहरूलाई विभाजन गरिने बताइएको छ भने अन्यमा नामको पहिलो अक्षरका आधारमा वर्गीकृत गरिनेछ।
कुन विद्यार्थीलाई विद्यालयमा कहिले हाजिर हुने भन्ने निर्देशनको विकल्प ती विद्यालयका प्रिन्सिपल माथि छाडिएको न्यु साउथ वेल्स शिक्षा सचिव मार्क स्कटले बताए।
“हामी उनीहरूलाई पारिवारिक समूहमा ध्यान दिन निश्चित रूपमा आग्रह गरिरहेछौँ, दिदी भाइ दाजुबहिनीहरूलाईसँगै विद्यालय आउन मिल्ने व्यवस्था गरे त्यसले आमाबुबालाई हामी सामान्य अवस्थामा फर्किउन्जेल सहज वातावरण निर्माण गर्न सहयोग पुर्याउने छ,” राज्यकी शिक्षा मन्त्री सेरा मिचेलले भनिन्।

बेरिजिक्लियनका अनुसार विद्यालय आउने विद्यार्थीहरूको तापक्रम मापन गर्न जरुरी देखिए सो बारेमा पनि व्यवस्था हुनेछ र सरसफाइलाई पनि उच्च प्राथमिकतामा राख्दै विशेष ध्यान दिइने छ।
यसका अतिरिक्त शिक्षक-शिक्षिका एवम् अन्य सहयोगी कर्मचारीहरूलाई कोभिड-१९ परीक्षणका लागि प्राथमिकतामा राखिने छ।
राज्यकी प्रमुख चिकित्सा अधिकारी केरी च्याण्ट भन्छिन् कि बच्चाहरू र राज्यभरका शिक्षकहरूले कोरोनाभाइरसको लक्षण देखाएमा उनीहरूलाई परीक्षण गर्न प्रस्ताव राखिनेछ।
“हामीलाई थाहा छ कि बच्चाहरूले फ्लु फैलाउँदछन्। हामी यो पनि जान्दछौँ कि बच्चाहरूले अन्य श्वासप्रश्वास सम्बन्धी भाइरसहरू फैलाउँछन्। तर, कोभिड-१९ को हकमा हामीले बालबालिकाहरूद्वारा त्यसै अनुरूपले रोग फैलाएको भेटेका छैनौँ,” उनले भनिन्।
“यद्यपि, हामी सचेत छौँ कि वयस्कहरू र समुदायमा हुने अन्तर्क्रियाले भाइरसको फैलावटलाई बढवा दिन्छ, त्यसैले हामी सबै चाहन्छौँ कि अभिभावकहरू एक अर्कासँग कम भन्दा कम भौतिक सम्पर्कमा आउन्।”
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।

