गएको २४ घण्टामा १६ नयाँ सङ्क्रमण पुष्टि भएको भिक्टोरियामा यसरी थप मानिसहरूमा कोरोनाभाइरस देखिन थाल्नुलाई देशवासीहरूले खतराको घण्टी लिनुपर्ने प्रधानमन्त्री स्कट मरिसनद्वारा बताइएको हो।
“विश्वका अन्य देशका तुलनामा हामीले राम्रै गरिरहेका छौँ। तर यसो भन्दैमा हामीले चैनसँग बस्न मिल्दैन,” उनले भने।
“कोभिड कतै गएको छैन - यो अझै हामी माझ उपस्थित छ र यसले अझै हामीलाई उसको सिकार बनाउन सक्छ।”

भिक्टोरियाली स्वास्थ्य प्रमुख ब्रेट सटनले भने जुन ६ मा आयोजित भएको “ब्ल्याक लाइभ्स म्याटर” प्रदर्शनीकै कारण यसरी सङ्क्रमण सङ्ख्या बढेको भन्ने आधार आफूहरूको अगाडी नरहेको स्पष्ट पारे।
“मानिसहरूले जति कडाइका साथ एक-दुई महिना अघि प्रतिबन्धका नियमहरूको पालना गरेका थिए, अहिले त्यसो गरिरहेका छैनन्,” सटनले मेलबर्नमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा भने।
उता, भिक्टोरियाको उत्तरी छिमेकी न्यु साउथ वेल्स राज्यकी प्रिमियर ग्लाडीस भेरिजिक्लियनले आफ्ना राज्यका बासिन्दाहरूलाई मेलबर्न नजान आग्रह गरेकी छिन्।
“जानै पर्ने अवस्थामा बाहेक मानिसहरूले यो बेला मेलबर्न नगएकै राम्रो,” बेरिजिक्लियनले भनिन्।

यसै गरी उत्तरी राज्य क्विन्सल्याण्डकी प्रिमियर ऐनासटासिआ पलाशेले आफू लगायत अन्य अधिकारीहरू भिक्टोरियामा बढ्दै गएको सङ्क्रमणका घटनाहरूलाई लिएर चिन्तित रहेको बताएकी छिन्।
“मलाई भिक्टोरियाको बारेमा चिन्ता छ। स्वास्थ्य मन्त्रीलाई भिक्टोरियाको बारेमा चिन्ता छ। भिक्टोरियामा असाध्यै धेरै सङ्ख्यामा कम्युनिटी ट्रान्समिसन भइरहेको छ र म आसा गर्छु कि यो छिट्टै नियन्त्रणमा आउने छ,” पलाशेले भनिन्।
वेस्टर्न अस्ट्रेलियाका सरकार प्रमुख मार्क मक्गावनले पनि भिक्टोरियाली समुदायमा यसरी रोग फैलँदै गएको अवस्थालाई आफूहरूले नजिकबाट नियाली रहेको बताए।उनी भन्छन् कि भिक्टोरियाली समुदायमा केही हप्तादेखि व्याप्त कोभिड-१९ को फैलावटको स्रोत फेला नपर्नु निश्चय पनि चिन्ताको विषय हो।
“उनीहरूले आफ्नो अर्थतन्त्रका केही हिस्सा पुनः सुचारु गरेर फेरी बन्द गर्न बाध्य भएका छन् र यो ठुलो जोखिम हो - भाइरस फेरी आयो भने तपाईंले व्यापार-व्यवसायहरू फेरी बन्द गर्नुपर्छ,” मक्गावनले भने।
भिक्टोरियाली स्वास्थ्य मन्त्री जेन्नी मिकाकोसले भने अब आफ्नो सरकारले कोरोना परीक्षणलाई थप व्यापक बनाउँदै लाने र त्यस सँगसँगै कोभिड-१९ ले डेरा जमाएका स्थानहरूमा सामुदायिक संलग्नतालाई पनि बढवा दिइने बताइन।“हामी सुनिश्चित गर्न चाहन्छौँ कि राज्यमा सबैले सार्वजनिक स्वास्थ्य सन्देश बुझुन्," उनले भनिन्।
“हामी केही समुदायहरूका चुनौतीहरूलाई स्वीकार गर्दछौँ जसको लागि सार्वजनिक स्वास्थ्य सन्देश बुझ्न अङ्ग्रेजी उनीहरूको पहिलो भाषा नहुन सक्छ र यही कारणले हामी ती समुदायहरूसँग काम गर्न दोब्बर प्रयास गरिरहेका छौँ।”

मिकाकोसका अनुसार रोग फैलिएको कतिपय स्थानहरूमा मानिसहरूको आर्थिक अवस्था पनि नाजुक रहेको छ।
“ती समुदायका सबै त होइनन् तर केही भने सामाजिक-आर्थिक रूपले पिछडिएका छन्।”
पछिल्लो सरकारी आँकडाका अनुसार भिक्टोरियामा हाल कोभिड-१९ का १२५ सक्रिय सङ्क्रमणहरू पुष्टि भएका छन् जसमध्ये नौ जना अस्पतालमा उपचारार्थ भर्ना छन्।
ती मध्येका दुई जनाको सघन उपचार जारी रहेको छ।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ। यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

