कोरोन भाइरस सङ्क्रमणको सन्त्रासका कारण एसियाली आवरणको मानिसहरूलाई विभेद गरिएको भन्दै मेलबर्नको अस्पतालका कर्मचारी र उपचाररत बिरामीहरूले गुनासो गरेका हुन्।
रोयल चिल्ड्रेन अस्पतालमा एसियाली स्वरूप भएका चिकित्सक तथा नर्सहरूलाई अभिभावकहरूले आफ्ना बालबच्चाको उपचार गर्न नदिएको बताइएको छ।

अस्पतालका अनुसार केहीले कोरोना भाइरस सम्बन्धी गलत बुझाइका कारण बिरामीहरू भन्दा पर बस्ने गरेका छन्।
"कुनै एउटा समुदायका कारणले यो भाइरस फैलिन्छ भन्ने सोचाइ नै गलत हो र यसले हाम्रा परिश्रमी स्वास्थ्य सेवा कर्मचारीहरूको पनि अपमान गर्छ- जसले आफ्नो प्रत्येक दिन बिरामी बालबालिकाको स्याहार र उनीहरूको जीवन रक्षाका लागी समर्पित गर्दछन्।"
स्वास्थ्य मन्त्री जेनी मिकाकसले बिहीबार एक वक्तव्य जारी गर्दै बताएकी छन्।
सरकारका अनुसार कोरोनाभाइरस सङ्क्रमण मूल भूमि चीनमा निकै ठुलो चिन्ताको विषय भए पनि भिक्टोरियामा अहिले यो सङ्क्रमणको जोखिम अत्यन्त न्यून रहेको छ र नर्स, चिकित्सक वा बिरामीको जातीय पृष्ठभूमि र यसको बिचमा कुनै सम्बन्ध छैन।
भिक्टोरियामा अहिले सम्म ७ जनालाई कोरोना भाइरस भएको निश्चित भएको छ, जसमध्ये ३ जना डाइमण्ड प्रिन्सेस क्रुजबाट फर्किए पछि आइसोलेसनमा रहेका छन् त्यस्तै अन्य चार जनाले स्वास्थ्य लाभ गरिसकेका छन्।
